१९ जेठ, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई इन्जिनियरदेखि एमबीबीएस अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । शिक्षामा पालिकावासीको पहुँच बढाउने उद्देश्यले गत आर्थिक वर्षबाट छात्रवृत्ति उपलब्ध गराउन थालिएको पालिकाले जनाएको छ ।
विपन्न एवं अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । ‘विपन्न परिवारका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि नेपाल सरकारले तोकेको कलेज शुल्कको ५० प्रतिशत पालिकाले व्यहोर्छ’, उनले भने, ‘चार वर्षको कोर्ष पूरा गर्न ४० लाख लाग्ने रहेछ, २० लाख पालिकाले दिन्छ ।’ प्रत्येक वर्ष पाँच लाखका दरले कलेजलाई शुल्क बुझाइने उनले जानकारी दिए । उनका अनुसार हाल एक जना पालिकाको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् ।
नर्सिङ र एचए कोर्षमा पनि पालिकाले छात्रवृत्ति लागू गरेको छ । पालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा हाल दुई जना अध्ययनरत छन् । इन्जिनियरिङ र प्राविधिक शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्दै आएको पालिकाले जनाएको छ ।
बराम समुदायको बाहुल्यता रहेको पालिकाले बराम र दलित समुदायका विद्यार्थीलाई स्नातक र स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । ‘नेपाल अधिराज्यभर जहाँ पढेपनि कलेज शुल्क सबै पालिकाले तिर्छ । शिक्षामा पछाडी परेका वर्गलाई अग्रसर बनाउँदै पहुँच वृद्धि गर्ने उदेश्यले म पालिका आएपछि गत आर्थिक बर्षबाट यो निर्णय गरेका हौ’, प्रमुख प्रशासकीय अधिकृत आलेले भने । गत वर्ष स्नातक तह अध्ययनका लागि पाँच जनालाई छात्रवृत्ति उपलब्ध गराइएको उनले बताए ।
अभिभावकविहीन बिद्यार्थीका लागि पालिकाले निशुल्क छात्रावास समेत संचालन गरेको छ । वडानम्बर ६ वहाकोटमा रहेको मनास्लु छात्रावासमा हाल २३ जना विद्यार्थी आवासिय सुविधासहित बस्छन् ।
सुर्यज्योती माविमा उनीहरु निशुल्क अध्ययन गर्ने व्यवस्था पालिकाले मिलाएको छ । ‘शैक्षिक सत्र २०८१ सालबाट छात्रावास संचालन गरेका हौ’, उनले भने, ‘कक्षा १ देखि १२ सम्म पढ्ने अभिभावकविहीन विद्यार्थीहरुलाई त्यहाँ राखेर पालनपोषण देखि अध्यापन गराउने जिम्मा पालिकाले लिएको छ ।’
छात्रावासमा एक जना होस्टल वार्डेनसहित अन्य कर्मचारी खटाइएको छ । एसईई पश्चात बारपाक बहुप्राविधिक शिक्षालयमा पशु तथा वाली विज्ञान पढ्न चाहनेलाई निशुल्क अध्ययनको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।
एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई दश हजारदेखि एक लाखसम्म
त्यस्तै पालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गर्ने गरेको छ । ४ जीपीए ल्याउनेलाई एक लाख नगद सहित सम्मान गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । ‘गत वर्षबाट यो निर्णय गरेका हौ, गत वर्ष पनि र यो बर्ष पनि एक/एक जनाले ४ जीपीए ल्याउनुभयो, उहाँहरुलाई नगद एक लाखसहित कदर पत्रले सम्मान गर्यौ’, उनले भने ।
त्यस्तै पालिकाले ३.९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८ जिपिए ल्याउनेलाई २५ हजार र ३.७ जीपीए ल्याउनेलाई २० हजार नगद उपलब्ध गराउने घोषणा गरेको छ । ३.६ जीपीए ल्याउनेलाई १५ हजार, ३.४ देखि ३.५९ जीपीए ल्यानेलाई १० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने पालिकाले जनाएको छ ।
प्रतिक्रिया 4