News Summary
Generated by OK AI. Editorially reviewed.- दैनिक जीवनका स–साना तनावहरू लगातार थपिँदा सिर्जना हुने अदृश्य मानसिक बोझलाई मनोविज्ञानमा माइक्रो स्ट्रेस भनिन्छ ।
- यसले अनिद्रा, चिडचिडापन र थकान निम्त्याउनुका साथै दीर्घकालीन रूपमा एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याको जोखिम बढाउँछ ।
बिहान उठ्नेबित्तिकै मोबाइलमा आएका दर्जनौं सन्देश, कार्यालय पुग्नुअघि ट्राफिकको झन्झट, सहकर्मीको एउटा अप्रिय टिप्पणी, घर फर्किंदा भेटिने जिम्मेवारीको चाङ र राति सुत्नुअघि सामाजिक सञ्जालमा देखिने अरूको ‘सफल’ जीवन ।
यीमध्ये कुनै पनि परिघटना आफैंमा ठूलो समस्या होइनन् । तर दिनहुँ यस्तै साना–साना तनावहरू एकपछि अर्को थपिँदै जाँदा मन थाक्न थाल्छ, चिडचिडापन बढ्छ र जीवनको सामान्य लयसमेत बिग्रन सक्छ ।
अचम्म के छ भने, धेरैजसो मानिसले ठूलो संकटलाई साहसका साथ सामना गर्न सक्छन्, तर कहिलेकाहीँ यिनै साना घटनाले उनीहरूलाई भावनात्मक रूपमा कमजोर बनाइरहेको हुन्छ ।
कुनै सामान्य टिप्पणीले मन दुख्नु, सानो गल्तीले लामो समयसम्म तनाव दिनु, वा सामान्य असहज परिस्थितिलाई लिएर अत्यधिक चिन्तित हुनु यसको संकेत हुन सक्छ ।
यस्ता साना तर बारम्बार लगाातार दोहोरिने मानसिक दबाबलाई मनोविज्ञानमा ‘माइक्रो स्ट्रेस’ भनिन्छ । यो अचानक आउने ठूलो तनाव होइन, बरू दैनिक जीवनका स–साना घटनाले बिस्तारै मनमा जम्मा गरिदिने अदृश्य बोझ हो ।
सुरुमा सामान्य जस्तो लाग्ने यो समस्या समयमै पहिचान गर्न नसकिए मानसिक स्वास्थ्य, सम्बन्ध, कार्यक्षमता र समग्र जीवनशैलीमै असर पार्न सक्छ।
किन खतरनाक हुन सक्छ ‘माइक्रो स्ट्रेस ?’
धेरै मानिसले तनाव भन्नासाथ ठूलो समस्या, दुर्घटना, आर्थिक संकट वा सम्बन्ध विच्छेदजस्ता घटनालाई मात्र सम्झन्छन् । तर माइक्रो स्ट्रेसको समस्यामा असर बिस्तारै देखिन्छ ।
स–साना तनावले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढाउन सक्छ । लामो समयसम्म यस्तो अवस्था रहँदा शरीर निरन्तर ‘सतर्क’ अवस्थामा रहन्छ । परिणामस्वरूप मानिसले थकान, कमजोरी, एकाग्रताको कमी र मानसिक असहजता अनुभव गर्न थाल्छ ।
समयमै ध्यान नदिँदा माइक्रो स्ट्रेसले चिन्ता, अनिद्रा, आत्मविश्वासमा कमी, सम्बन्धमा तनाव तथा कामप्रतिको रुचि घटाउने जस्ता समस्या निम्त्याउन सक्छ ।
कतिपय अवस्थामा यसले दीर्घकालीन मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढाउन सक्छ ।
शरीरमा कस्तो असर पर्छ ?
माइक्रो स्ट्रेस केवल मनमा सीमित रहने समस्या होइन । यसले शरीरका विभिन्न अंग र प्रणालीमा प्रभाव पार्न सक्छ ।
लगातार तनावमा रहने व्यक्तिमा टाउको दुख्ने, घाँटी तथा काँध दुख्ने, शरीर भारी हुने, छिट्टै थकान महसुस हुने तथा ऊर्जा कम भएको अनुभूति हुन सक्छ । कतिपयलाई पेटसम्बन्धी समस्या, अपच, भोक कम लाग्ने वा अत्यधिक खाने बानी पनि देखिन सक्छ ।
तनावका कारण निद्रामा पनि असर पर्छ । राति सुत्न गाह्रो हुने, बारम्बार ब्युँझिने वा पर्याप्त समय सुतेपछि पनि आराम महसुस नहुने समस्या देखिन सक्छ । लामो समयसम्म राम्रो निद्रा नपाउँदा स्मरणशक्ति, निर्णय क्षमता र कार्यक्षमतामा नकारात्मक प्रभाव पर्न सक्छ ।
मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
माइक्रो स्ट्रेसको सबैभन्दा ठूलो असर मानसिक स्वास्थ्यमा देखिन्छ । साना कुराले धेरै असर गर्न थालेपछि व्यक्तिले आफूलाई भावनात्मक रूपमा कमजोर महसुस गर्न सक्छ ।
यस्तो अवस्थामा मानिसलाई बिना कारण रिस उठ्ने, सामान्य कुरामा दुःखी हुने, अरूले आफूलाई नबुझेको महसुस हुने वा निराशा बढ्ने जस्ता अनुभव हुन सक्छन् ।
काममा ध्यान केन्द्रित गर्न कठिन हुने, निर्णय लिन समस्या हुने तथा आत्मविश्वास घट्ने लक्षण पनि देखिन सक्छ । यदि यस्तो अवस्था लामो समयसम्म रह्यो भने एन्जाइटी र डिप्रेसनजस्ता समस्या विकसित हुन सक्ने सम्भावना पनि बढ्छ ।
माइक्रो स्ट्रेसले असर गरिरहेको कसरी थाहापाउने ?
धेरैजसो व्यक्तिलाई आफू माइक्रो स्ट्रेसको प्रभावमा परेको कुरा थाहै हुँदैन । त्यसैले, यसका संकेतहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ ।
जस्तो कि,
१. साना–साना कुरामा चिडचिडापन बढ्नु
२. सामान्यभन्दा बढी थकान महसुस हुनु
३. काममा ध्यान केन्द्रित गर्न कठिन हुनु
४. बारम्बार चिन्ता लाग्नु
५. पर्याप्त निद्रा नहुनु
६. बिना कारण बेचैनी महसुस हुनु
७. सामान्य अवस्थाभन्दा बढी भावुक हुनु
८. निर्णय लिन कठिनाइ हुनु
९. उत्साह र प्रेरणा कम हुँदै जानु
१०. आफू सधैं व्यस्त वा दबाबमा रहेको महसुस हुनु
यी लक्षण बारम्बार देखिएमा त्यसलाई सामान्य रूपमा बेवास्ता गर्नु उचित हुँदैन ।
को–को बढी जोखिममा हुन्छन् ?
माइक्रो स्ट्रेस जोसुकैलाई हुन सक्छ, तर केही समूहका मानिसमा यसको जोखिम बढी देखिन्छ ।
एकभन्दा बढी जिम्मेवारी सम्हाल्ने व्यक्ति
एकै समयमा धेरै काम गर्नुपर्ने मानिसहरूमा माइक्रो स्ट्रेसको सम्भावना बढी हुन्छ । कार्यालय, परिवार, सामाजिक दायित्व र व्यक्तिगत लक्ष्यबीच सन्तुलन मिलाउन खोज्दा मानसिक दबाब बढ्न सक्छ ।
विद्यार्थी
परीक्षा, करियर, प्रतिस्पर्धा, अभिभावकको अपेक्षा तथा भविष्यको चिन्ताले विद्यार्थीहरूमा साना–साना तनावहरू निरन्तर सिर्जना गरिरहेको हुनसक्छ ।
गृहिणी
घरभित्रको कामलाई प्रायः कामको रूपमा मूल्यांकन गरिँदैन । तर खाना पकाउने, बालबच्चाको हेरचाह, परिवार व्यवस्थापन तथा अन्य घरेलु जिम्मेवारी एक्लै निर्वाह गर्ने गृहिणीहरूमा पनि माइक्रो स्ट्रेसको समस्या हुन सक्छ ।
पेशागत दबाबमा रहेका व्यक्ति
समयसीमा, लक्ष्य, कार्यसम्पादन मूल्यांकन र प्रतिस्पर्धात्मक वातावरणमा काम गर्ने कर्मचारी तथा व्यवसायीहरूमा पनि माइक्रो स्ट्रेस धेरै देखिन्छ ।
अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्ति
जो सामाजिक सञ्जालमा घन्टौं बिताउँछन्, उनीहरूमा पनि यो समस्या देखिन सक्छ । सामाजिक सञ्जालले अरूसँग तुलना गर्ने प्रवृत्ति बढाउन सक्छ । अरूको सफलताको निरन्तर प्रदर्शन देख्दा आफू पर्याप्त छैन भन्ने भावना उत्पन्न हुन सक्छ, जसले सानो तर लगातार तनाव सिर्जना गर्न सक्छ ।
किन बढिरहेको छ माइक्रो स्ट्रेस ?
आधुनिक जीवनशैलीले माइक्रो स्ट्रेसलाई झन् बढाएको छ । पहिलेभन्दा अहिले मानिसहरू सूचना, अपेक्षा र जिम्मेवारीको अत्यधिक दबाबमा छन् । मोबाइल फोन र इन्टरनेटले मानिसलाई २४ सै घण्टा उपलब्ध रहनुपर्ने अवस्था सिर्जना गरेको छ ।
कार्यालयको काम घरसम्म पुग्ने, सामाजिक सञ्जालको निरन्तर प्रयोग, सूचना र समाचारको अत्यधिक प्रवाह तथा व्यक्तिगत जीवनमा समयको अभावले मानसिक थकान बढाइरहेको छ । अर्कोतर्फ, धेरै मानिसले आराम, मनोरञ्जन र आत्महेरचाहका लागि पर्याप्त समय छुट्याउन सकिरहेका छैनन् । परिणामस्वरूप साना–साना तनावहरू क्रमशः जम्मा हुँदै जान्छन् ।
कसरी जोगिने ?
माइक्रो स्ट्रेसलाई पूर्णरूपमा हटाउन सम्भव नहुन सक्छ, किनभने दैनिक जीवनमा तनावपूर्ण परिस्थिति आउनु स्वाभाविक हो । तर त्यसलाई व्यवस्थापन गर्न सकिन्छ ।
-दैनिक पर्याप्त र गुणस्तरीय निद्रा लिनुपर्छ । राम्रो निद्राले मस्तिष्कलाई आराम दिन्छ र भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्छ ।
-अनियमित खानपानले शरीर र मस्तिष्क दुवैमा असर पार्छ । समयमै पौष्टिक खाना खाने र पर्याप्त पानी पिउने बानीले तनावसँग जुध्न शरीरलाई सहयोग गर्छ ।
-मोबाइल, सामाजिक सञ्जाल र स्क्रिनमा अत्यधिक समय बिताउँदा मानसिक थकान बढ्न सक्छ । दिनको केही समय डिजिटल उपकरणबाट टाढा रहनु उपयोगी हुन्छ ।
-हिँडडुल, योग, व्यायाम वा अन्य शारीरिक गतिविधिले तनाव कम गर्न मद्दत गर्छ । शारीरिक गतिविधिले शरीरमा सकारात्मक रसायनहरू उत्पादन गराउँछ, जसले मनलाई हल्का बनाउँछ ।
– हरियाली, खुला वातावरण र प्राकृतिक दृश्यले मानसिक शान्ति दिन्छ । छोटो समयका लागि भए पनि प्रकृतिको सान्निध्यमा बस्नु लाभदायक हुन सक्छ ।
कामको बीचमा विश्राम लिनुहोस्
निरन्तर काम गरिरहनुभन्दा बीच–बीचमा छोटो विश्राम लिनु राम्रो हुन्छ । यसले मानसिक थकान कम गर्न र कार्यक्षमता बढाउन मद्दत गर्छ ।
आफ्ना भावना व्यक्त गर्नुहोस
मनमा कुरा थुपारेर राख्नुको सट्टा विश्वासिलो साथी, परिवारका सदस्य वा विशेषज्ञसँग कुरा गर्नु उपयोगी हुन्छ । भावनाहरू साझा गर्दा मानसिक बोझ कम हुन सक्छ ।
प्रतिक्रिया 4