+
+
Shares

‘सेप अफ मो मो’ : स्त्री-अस्तित्व, श्रम र प्रतिरोधको बहुस्तरीय विमर्श

चलचित्रले स्त्री-जीवनलाई एकरेखीय रूपमा होइन, बहुपरत र अन्तरविरोधी रूपमा प्रस्तुत गर्छ । एउटी महिला एकैसाथ उत्पीडित पनि हुन सक्छे र शोषक पनि, विद्रोही पनि हुन सक्छे र कमजोर पनि ।

रोशन जागरी रोशन जागरी
२०८३ जेठ २१ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवेणी राईद्वारा निर्देशित चलचित्र सेप अफ मोमो मा सिक्किमको हिमाली परिवेशमा तीन पुस्ताका महिलाको कथा प्रस्तुत गरिएको छ।

त्रिवेणी राईद्वारा निर्देशित ‘सेप अफ मो मो’ चलचित्र सिक्किमको हिमाली परिवेशमा बुनिएको कथा हो । यो भरिवेश भौगोलिक पृष्ठभूमिका रूपमा मात्र प्रयोग गरेको छैन, बरू त्यस परिवेशभित्र जरा गाडेका सामाजिक संरचना, महिला श्रम र पुस्तान्तरीय द्वन्द्वलाई एउटा सघन कथात्मक बुनोटमा प्रस्तुत गरिएको छ ।

एउटै परिवारका तीन पुस्ताका महिलाहरूको दैनिक जीवन यस चलचित्रको केन्द्रीय विषयवस्तु भए पनि, यसको गहिराइमा लैंगिक पहिचान, पितृसत्तात्मक मूल्य-मान्यता र महिलाको प्रतिरोधशील चेतनाका जटिल प्रश्नहरू निहित छन् । चलचित्रको शीर्षकमा रहेको ‘मोमोको आकार’ (सेप अफ मम’) यस विश्लेषणको दृष्टिले एउटा बहुआयामिक रूपक हो ।

मोमोको आकार जसरी कुशल हातले बनाउँदा एउटा सुनिश्चित रूप लिन्छ, त्यसरी नै समाजले महिलाका लागि पनि एउटा ‘आदर्श’ साँचो तयार पारेको हुन्छ । यस रूपकमार्फत चलचित्रले पितृसत्ताद्वारा निर्मित साँचोमा महिला अटाउन बाध्य हुने वास्तविकतालाई उठाएका छन् । फिल्मले त्यस साँचोलाई प्रश्न गर्ने वा तोड्ने विद्रोहको सम्भावनालाई एकसाथ उठाउँछ ।

चलचित्रको मूल द्वन्द्व छोरा जन्माउनुपर्ने पितृसत्तात्मक अपेक्षा र एउटी स्वायत्त छोरीको आत्मपरिचय बीचको टकरावमा निर्मित छ । फ्रान्सेली अस्तित्ववादी दार्शनिक सिमोन द बोभुआरले आफ्नो प्रमुख कृति ‘द सेकेन्ड सेक्स’ (१९४९) मा प्रतिपादन गरेझैँ, पितृसत्तात्मक समाजले महिलालाई एक स्वतन्त्र कर्ता-पात्रका रूपमा मान्यता नदिई, उसलाई पुरुषको तुलनात्मक सन्दर्भमा मात्र परिभाषित गर्छ । अर्थात् महिला सधैँ ‘अर्को’ हुन्छे । यस चलचित्रमा पनि विष्णु (गौमाया गुरुङ) को प्रतिभा र दक्षतालाई ‘छोरा जस्तै छे’ भनेर बखान गर्नु यही मानसिकताको प्रतिफलन हो: पुरुषत्वलाई श्रेष्ठतको आधार मान्ने दृष्टिकोण ।

अन्तिम दृश्यमा विष्णुले आमालाई लेखेको चिठीका शब्दहरू धेरै मार्मिक लाग्छ । जहाँ उनले भनेकी छिन् – ‘मलाई थाहा थियो; तपाईंले छोरो जन्माउनुपर्ने थियो, तर जन्मिएँ म ।’

यहाँ एउटी छोरीले आफ्नो जन्मकै वैधताप्रति प्रश्न गर्न विवश हुनु बोभुआरले विश्लेषण गरेको उत्पीडनको गहिरो रूप हो । यो संकट केवल वैयक्तिक पीडा नभई पितृसत्ताले निरन्तर पुनःउत्पादन गरिरहने सामाजिक सोचको परिणाम हो । लैंगिक पहिचानलाई कुनै जैविक वा स्थायी तथ्य नभई सामाजिक रूपमा दोहोरिने कार्यसम्पादनको परिणाम हो । अर्थात् ‘स्त्री’ वा ‘पुरुष’ हुनु कुनै पूर्वनिर्धारित अवस्था नभई, व्यवहार, भाषा र अभ्यासको पुनरावृत्तिले निर्मित एउटा सामाजिक भूमिका हो ।

एउटा साधारण घरको भान्सा, एउटा चिठी र मोमोको अनियमित आकारले जे कुरा भन्न सक्छन्, त्यो कुरा शायद लामा-लामा व्याख्यानले पनि भन्न सक्दैनन् ।

चलचित्रमा गर्भवती बहिनी जुनुले बनाएको एकनासे, ‘आदर्श’ मोमो र विष्णुले बनाएको असमान, अनियमित मोमोको तुलना एउटा गहन लैंगिक कथनको रूपमा कार्य गर्छ । समाजले महिलाबाट जुनुको मोमोजस्तै आज्ञाकारी, सुव्यवस्थित व्यवहार अपेक्षा गर्छ ।

विष्णुको मोमो चाहिँ त्यस ‘स्वीकृत आकार’ मा अटाउन अस्वीकार गर्छ । यो ‘अनफिट’ हुनु नै उत्तर-संरचनावादी नारीवादी चिन्तक जुडिथ बट्लरको अर्थमा लैंगिक साँचोलाई चुनौती दिने एउटा सूक्ष्म तर शक्तिशाली विद्रोह बन्न पुग्छ ।

घरभित्र महिलाले सम्पन्न गर्ने हेरचाह, पालनपोषण र घरेलु श्रम ‘सामाजिक पुनःउत्पादनका केन्द्रीय तत्त्वहरू हुन् । यो श्रम बजारले मूल्यांकन नगर्ने, तर समाजलाई सञ्चालित राख्नका लागि अपरिहार्य हुने ‘अदृश्य श्रम’ हुन्।

‘सेप अफ मम’ मा पुरुषविहीन घरमा हजुरआमा, आमा (पशुपति राई) र दुई छोरीहरूले आपसी सहयोग र अन्तरनिर्भरताका साथ गर्ने काम गर्छन् । आमाले वर्षौंदेखि सामुदायिक सम्बन्ध जोगाउन गरेको प्रयास र गरेको सम्झौता अदृश्य श्रमको एउटा उदाहरण हो ।

जब दिल्लीबाट फर्किएकी विष्णुले छिमेकीलाई प्रहरीमा उजुरी गर्छिन्, तब आमाले सहनशीलताको पक्ष लिनु र विष्णुले प्रतिरोधको बाटो रोज्नु– यो दुई दृष्टिकोणबीचको द्वन्द्व वास्तवमा ‘व्यवस्थाभित्र बाँच्ने’ र ‘व्यवस्थालाई नै बदल्ने’ दुई नारीवादी रणनीतिबीचको बहस हो ।

उत्पीडन कुनै एकल आयाम – जस्तै लिंग वा जाति – मा मात्र सीमित हुँदैन, बरु यो वर्ग, भूगोल र सांस्कृतिक पहिचानको जटिल अन्तरसम्बन्धमा निर्मित हुन्छ । चलचित्रमा विष्णुको चरित्र यही जटिलतालाई प्रतिबिम्बित गर्छ ।

एकातिर उनी पितृसत्ताकी शिकार हुन्, अर्कोतिर जब उनी आफ्नो सुन्तला बगानमा काम गर्ने निम्नवर्गीय परिवारका किशोरलाई आर्थिक दबाबमा राख्छिन् वा छिमेकीहरूसँग ठाडो व्यवहार गर्छिन्, तब उनको प्रगतिशील सोचभित्र लुकेको वर्गीय श्रेष्ठताभाव स्पष्ट हुन्छ । यो आन्तरिक विरोधाभासले चलचित्रलाई एकआयामी आख्यानबाट माथि उठाएर एउटा बहुस्तरीय सामाजिक विमर्शमा रूपान्तरित गर्छ ।

अश्वेत नारीवादी चिन्तक बेल हुक्सले ‘होमप्लेस: ए साइट अफ रेजिस्टेन्स’ (१९९०) मा ‘घर’ लाई केवल भौतिक आश्रयको रूपमा नभई, पितृसत्ता र बाह्य उत्पीडनका विरुद्ध महिलाहरूले एकअर्कालाई शक्ति दिन सक्ने एउटा राजनीतिक प्रतिरोधको थलोका रूपमा व्याख्या गरेकी छिन् ।

‘सेप अफ मम’ को घरले एउटा जीवन्त पात्रको भूमिका निर्वाह गर्छ । बाहिरी समाज र पञ्चायतले विष्णुका कदमप्रति असन्तुष्टि जनाए पनि, र आमा-छोरीबीच वैचारिक मतभेद भए पनि, यही घरको छानाभित्र उनीहरू खुलेर बोल्छन्, एकअर्कालाई बुझ्ने प्रयास गर्छन् र परिवारको न्यानो महसुस गर्छन् ।

दिल्लीको बजारवादी जीवनशैलीबाट थाकेर फर्किएकी विष्णुका लागि यो घर अन्ततः आत्मपरिचयको एउटा सुरक्षित थलो बन्न पुग्छ– बेल हुक्सले भनेझैँ, उत्पीडनको बीचमा पनि आफूलाई सम्पूर्ण रूपमा अनुभव गर्न सकिने ठाउँ ।

‘सेप अफ मम’ को सबभन्दा ठूलो उपलब्धि यो हो कि यसले ठूला-ठूला वैचारिक दाबीहरू नगरीकन पनि गहिरा सामाजिक प्रश्नहरूलाई कलात्मक रूपमा उठाउन सक्छ । एउटा साधारण घरको भान्सा, एउटा चिठी र मोमोको अनियमित आकारले जे कुरा भन्न सक्छन्, त्यो कुरा शायद लामा-लामा व्याख्यानले पनि भन्न सक्दैनन् ।

चलचित्रले स्त्री-जीवनलाई एकरेखीय रूपमा होइन, बहुपरत र अन्तरविरोधी रूपमा प्रस्तुत गर्छ । एउटी महिला एकैसाथ उत्पीडित पनि हुन सक्छे र शोषक पनि, विद्रोही पनि हुन सक्छे र कमजोर पनि । विष्णुको चरित्र यही जटिल वास्तविकताको प्रतिनिधित्व गर्छ । उनी न त पूर्ण ‘नायिका’ हुन्, न त पूर्ण ‘शिकार’। यो धमिलोपन नै जीवनको सत्यता हो ।

( रोशन जागरी समाजशास्त्रका अध्यापक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?