News Summary
Generated by OK AI. Editorially reviewed.- प्रसिद्ध हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंको नागार्जुनमा स्थापना भएको नयाँ बौद्ध गुम्बाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
- बौद्ध धर्ममा आस्था राख्ने अभिनेता लीकी छोरी विगत केही वर्षदेखि नेपालकै एक गुम्बामा कार्यरत छिन् ।
- नेपाल बसाइका क्रममा उनले बौद्ध भिक्षुहरू तथा नेपाली मूलकी चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालासँग भेटघाट गरेका छन् ।
काठमाडौं । प्रसिद्ध हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल आउनुजानु नौलो कुरा रहेन । बौद्ध धर्मसँग आस्था राख्ने उनी धार्मिक तीर्थाटनका लागि नेपाल आइरहन्छन् ।
उनी अहिले पनि काठमाडौंमा छन् । केही दिनअघि नागार्जुनमा स्थापना भएको नयाँ बौद्ध गुम्बा तर्गार ओसेल लिङ मोनास्ट्रीको भब्य उद्घाटन समारोहमा उनलाई देखियो ।
प्राप्त फोटो र भिडियोमा उनी अन्य बौद्ध भिक्षु र चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालासँग देखिएका छन् । उनकी छोरीलाई पनि फोटोमा देख्न सकिन्छ ।
स्रोतका अनुसार, अभिनेता लीकी छोरी केही वर्षदेखि नेपालका गुम्बामा कार्यरत छिन् । छोरीकै कारण उनी बेला-बेलामा आउने गरेको बताइन्छ । यसअघि उनी बौद्धको एक गुम्बामा देखिएका थिए भने लुम्बिनी दर्शनका लागि पनि पुगेका थिए ।
काठमाडौंमा आएको बेला उनले अभिनेत्री कोइरालासँग प्रायः भेट्ने गरेका छन् । मनीषा पनि आध्यात्मिक क्षेत्रमा रुचि राख्छिन् ।
ली चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आट्र्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।
सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।
प्रतिक्रिया 4