२१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिको अधिवेशन विवादमा परेको छ । पार्टीको अनुशासन समितिले अधिवेशन रोक्न निर्देशन दिँदादिँदै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ ।
अधिवेशन प्रक्रियासँगत नभएको भन्दै सभापतिका आकांक्षीले विरोध गरेका छन् । जेठ १९ गते अनुशासन आयोगले विवादित स्थानका अधिवेशन रोक्न निर्देशन दिएको थियो । अधिवेशन हुने क्रममा रहेका विवादित स्थानमा जनकपुर उपमहानगरलाई पनि राखेर अनुशासन समितिले स्थगित गर्न निर्देशन दिएको थियो ।
अनुशासन समितिले निर्देशन दिएकै दिन जनकपुर उपमहानगर समितिका लागि अधिवेशन गरिएको थियो । जम्मा २१ मत मत खसेको जानकारी गराइएको थियो ।
वडा सभापतिलाई प्रतिनिधि बनाएर मतदानमार्फत नेतृत्व चयन गरिएको थियो ।
रास्वपा विधान अनुसार वडा सभापतिलाई मात्रै प्रतिनिधि बनाएर पालिका अधिवेशन गर्न मिल्दैन । पालिका अधिवेशनका प्रतिनिधिहरू सम्बन्धित पालिका समिति, सल्ल्लाहकार परिषद्, विभाग, वडा समितिका सबै सदस्य हुनुपर्दछ । साथै, समावेशिता र सदस्य संख्याको आधारमा प्रतिनिधि थप गर्नुपर्ने हुन्छ ।
जिल्ला, प्रदेश, केन्द्रीय समितिमा रहेका सम्बन्धित पालिकाको व्यक्ति पनि पालिकाको अधिवेशनका प्रतिनिधि हुने व्यवस्था छ । जिल्ला, प्रदेश, केन्द्रीय विभागमा जिल्ला प्रतिनिधित्व गर्नेहरू पनि पालिकाको प्रतिनिधि रहने व्यवस्था छ ।
वडा सभापतिहरूको मतदानबाट १६ मत प्राप्त गरी ललन नायक सभापति भएको घोषणा गरिएको थियो । सभापतिका अर्का प्रतिस्पर्धी जितेन्द्र महासेठको पक्षमा ५ मत आएको भनिएको छ ।
पार्टीको विधान अनुसार अधिवेशन नभएको भन्दै स्थानीय नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । ‘अधिवेशनका लागि उम्मदेवारहरुको सहमति थिएन । वडा सभापतिहरुसँग छलफल गर्नुछ भनेर बोलाएर अधिवेशन गरेको भनियो,’ सभापतिका आकांक्षी महासेठले भने,‘विधिभन्दा बाहिर रहेर अधिवेशन गरेर सभापति भएको स्वघोषणा गरिएको छ ।’
जनकपुर उपमहानगरका २५ वडा मध्ये २१ वटाको अधिवेशन सकिएको छ । पालिका अधिवेशनको नाममा वडाका सभापतिलाई मात्रै मतदाता बनाइएपछि प्रश्न उठेको छ ।
जनकपुर उपमहानगरपालिकाको अधिवेशन विधिसंगत भए/नभएको निर्वाचन आयोगले अध्ययन गरिरहेको आयोगका प्रमुख भुवन केसीले जानकारी गराए ।
प्रतिक्रिया 4