+
+
Shares

टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन, संघ र प्रदेश संसद्का पदाधिकारी सहभागी हुने

अन्तर व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेशसभाको व्यवस्थापनमा शनिबार र आइतबार टीकापुरमा सम्मेलन हुने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १५:५०

२१ जेठ, धनगढी । कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेशसभाको व्यवस्थापनमा २३ र २४ जेठ(शनिबार र आइतबार)मा टीकापुरमा सम्मेलन हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले सम्मेलनमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र अन्य छ प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहने जानकारी दिए ।

उनकाअनुसार संघीय संसद् र प्रदेशसभा सचिवालयका सचिवलगायतका कर्मचारीको समेत सहभागिता हुनेछ । यो सम्मेलन सुदूरपश्चिममा पहिलोपटक भइरहेको हो ।

सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालनलगायतका विषयकेन्द्रित छलफल हुने बताउँदै सभामुख भण्डारीले संघ र प्रदेशका अनुभवहरू आदानप्रदान समेत गरिने जानकारी दिए ।

‘सम्मेलन मुख्यगरी कानुन निर्माण तथा संसदीय काम कारबाही कसरी व्यवस्थित, प्रभावकारी र मर्यादित  बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछ,’ सभामुख भण्डारीले भने, ‘सम्मेलनमा सभामुख, उपसभामुख तथा संसद्का सचिवका छुट्टाछुट्टै समुह बनाएर यी विषयहरूमा छलफल गरिनेछ ।’

उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशसभाकै सभामुख भण्डारीले गर्नेछन् भने विशेष अथिति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहनेछन् ।

उद्घाटन समारोहमा अध्यक्ष दाहालसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य राख्ने कार्यसूची छ ।

आइतबार (२४ जेठ) घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?