News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेताहरूलाई कार्यकर्ता र नेतृत्वसँग दोहोरो कुरा नगरी तथ्यमा आधारित भएर प्रस्तुत हुन निर्देशन दिनुभएको छ।
- महासचिव पोखरेलले पार्टी र जनताबीचको सम्बन्ध टुटेकाले यथास्थितिमा नबसी कार्यदिशा र मनस्थिति बदल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
- एमालेको संगठन विभागले आयोजना गरेको कार्यशालाबाट समूहगत छलफलपछि १० बुँदे संकल्प समेत जारी गरिएको छ।
२१ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् ।
संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ‘नेतृत्वलाई जे कुरा भन्नुहुन्छ, त्यो कुरा कार्यकर्ताले पनि विश्वास गर्ने हुनुपर्छ, यथार्थ हुनुपर्छ ।’
तर नेतृत्व र कार्यकर्ताबीच पुलको काम गर्नुपर्ने नेताहरुले दुईथरी कुरा गर्दा जनताबाट एमाले टाढा हुँदै जाने परिस्थिति बनिरहेको महासचिव पोखरेलको विश्लेषण थियो ।
उक्त कार्यशालामा सहभागी एक नेताका अनुसार, प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गर्ने क्रममा पार्टीभित्र समस्या नरहेको भनेपछि महासचिव पोखरेलले यस्तो जवाफ दिएका थिए ।
‘पार्टीको लाइन ठीक छ, नेतृत्वको रक्षा गर्नुपर्छ भन्ने जस्ता रिर्पोटिङ पनि आए,’ कार्याशालामा सहभागी ती नेता भन्छन्, ‘सबै ठिक छ भन्ने जस्ता कुरा आउन थालेपछि महासचिवले ठीक भए कसरी हारियो ? जनताले किन मत दिएनन् ? भन्ने क्रममा दुईथरी कुरा नगर्न नेताहरुलाई निर्देशन दिनुभयो ।’
उनका अनुसार महासचिव पोखरेलले कार्यकर्ताले भनेका साँचो कुरा नेतृत्वलाई सुनाउन सिनियर नेताहरुलाई निर्देशन दिएका छन् । ‘जे यथार्थ कुरा हो, त्यो नेतृत्वलाई भन्न सक्नुपर्दछ भन्ने महासचिवको निर्देशन छ,’ उनी भन्छन् ।
अर्का एक केन्द्रीय सदस्यका अनुसार कार्यशाला समापनका क्रममा महासचिव पोखरेल विगत भन्दा फरक तरिकाले प्रस्तुत भएका थिए । ‘यथास्थितिमा एमाले चल्न सक्दैन, बदलिएर जानुपर्छ भन्ने सन्देश उहाँले दिनुभएको छ,’ उनी भन्छन् ।
२१ फागुनको चुनावपछि प्रदेश, जिल्ला र जनसंगठनका अध्यक्ष र संगठन विभाग प्रमुख समेतलाई बोलाएर एमालेले पहिलोपटक कार्यशाला गरेको छ । यो कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने र पुनगर्ठनको वकालत गर्नेहरुमाथि कार्बाही हुने चेतावनी दिएका थिए ।
तर उनकै अगाडि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले पुनर्गठन नगरी नहुने निष्कर्ष सुनाएका थिए । यसपछि समूहगत छलफल गरी १० बुँदे संकल्प समेत जारी गरेको कार्यशाला समापन गर्दै महासचिव पोखरेलले उपाध्यक्ष पौडेलसँग मिल्दो सम्बोधन गरेका छन् ।
‘बदल्ने कुरा गर्दाखेरी कसैलाई चित्त बुझ्छ कि बुझ्दैन भन्ने हिसाबले होइन, समग्रतामा हामी बदलिनुपर्ने, हाम्रो मनस्थितिलाई, हाम्रो परिस्थितिलाई, हाम्रो कार्यदिशालाई बदल्नुपर्ने भएको छ’ महासचिव पोखरेलले भनेका छन्, ‘किनकि हाम्रो सम्बन्ध टुटेको छ, जनतासँग समुदायसँग भन्ने सत्यलाई बोध गरिनकन अगाडि बढ्नुपर्नेछ ।’
प्रतिक्रिया 4