News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन गरेपछि २४ जेठमा विशेष साधारणसभा र निर्वाचन हुँदैछ ।
- वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले कुन्छा दोर्जे डिम्दोङको नेतृत्वमा प्यानलसहित निर्वाचनमा भाग लिने तयारी गरेको छ ।
- विभिन्न राजनीतिक दल सम्बद्ध व्यवसायी सङ्गठनहरूले उम्मेदवार चयनलाई तीव्रता दिएपछि सर्वसम्मत नेतृत्व चयन नहुने देखिएको छ ।
२२ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले छुट्टै प्यानल बनाउने तयारी गरेको छ ।महासचिव कुन्छा दोर्जे डिम्दोङको अध्यक्षतामा प्यानलसहित निर्वाचनमा जाने तयारी गरेको हो ।
मञ्चले एकीकृत समाजवादी निकटका व्यवसायीहरू तथा अन्य जातीय संगठनका व्यवसायीहरूसँग मिलेर चुनाव लड्ने तयारी गरेको हो ।
संघका कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालयले विघटन गरेपछि जेठ २४ गते विशेष साधारणसभा तथा निर्वाचन हुँदैछ । त्यसका लागि नेकपा निकट मञ्चले महासचिव तथा संघको निर्वतमान सचिव डिम्दोङ अध्यक्षतामा प्यानलसहित उठाउने तयारी गरेको हो ।
मञ्चका अध्यक्ष धनलाल जैसीले अन्य विभागीय तथा तत्कालिन एकीकृत समाजवादी निकटका व्यवसायीहरूसँग छलफल अघि बढाएका छन् । विघटित कार्यसमितिमा मञ्चले नेपाल लोकतान्त्रिक एसोसिएसनसँग प्यानल बनाएर सचिव र तीन सदस्य जितेको थियोे ।
संघको नयाँ नेतृत्वका लागि सर्वसम्मत रूपमा अघि बढ्ने तयारी भइरहेको छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतले उम्मेद्वार छनोटलाई तीव्रता दिएका छन् । जसले गर्दा सर्वसम्मत रूपमा नेतृत्व चयन नहुने देखिएको छ ।
चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेस शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति लगायतले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका हुन् ।
विघटित संघका अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ बहुमत पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका थिए । सामूहिक राजीनामापछि संघको विधान अनुसार विशेष साधारणसभा आह्वान गरिएको छ ।
त्यसका लागि पूर्व अध्यक्षहरू तथा सल्लाहकारसहितको प्रबन्ध समिति गठन गरिएको छ। प्रबन्ध समितिले जेठ २४ गते विशेषसाधारणसभा गर्ने निर्णय गरेको छ । तर, उक्त प्रबन्ध समिति नमान्ने तथा आधिकारिक अध्यक्ष आफू नै भएको दाबी गर्दै गुरूङले जिल्ला प्रशासन कार्यालयमा दाबी पेश गरेका थिए । जिल्ला प्रशासनले हस्तक्षेप गर्दै कार्यसमिति विघटन गर्दै विशेष साधारणसभा गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4