+
+
Shares

अवार्ड विजेता वृत्तचित्र ‘सन्चलालः सिड्स अफ होप’को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपेन्द्र केसीद्वारा निर्देशित मकवानपुरका अपाङ्गता भएका चेपाङको सङ्घर्ष बोल्ने वृत्तचित्र ‘सन्चलालः सिड्स अफ होप’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।
  • यस वृत्तचित्रले अष्ट्रेलियामा आयोजित टाइटन इन्टरनेसनल फिल्म फेस्टिभल २०२५ मा दुईवटा विधामा उत्कृष्ट अवार्ड जित्न सफल भएको छ ।
  • यो वृत्तचित्र बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६ का लागि समेत आधिकारिक रूपमा छनोटमा परेको छ ।

काठमाडौं । दीपेन्द्र केसीद्वारा निर्देशित तथा निर्मित वृत्तचित्र ‘सन्चलालः सिड्स अफ होप’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यस वृत्तचित्रको पोस्टरले यसको संवेदनशील विषयवस्तु र अन्तर्राष्ट्रिय सफलता झल्काएको छ ।

श्याम–श्वेत शैलीमा डिजाइन गरिएको पोस्टरलाई रोयल भीमसनेले तयार गरेका हुन् । पोस्टरमा विकट ग्रामीण परिवेशमा सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ, जसले वृत्तचित्रको भावनात्मक पक्षलाई उजागर गर्छ ।

वृत्तचित्रले मकवानपुरको मनहरी क्षेत्रको जंगलबीच रहेको एक दुर्गम चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको जीवनकथालाई प्रस्तुत गरेको छ ।

गरिबी, एक्लोपन र अभावका बीच पनि आशा र संघर्षलाई निरन्तरता दिएका सन्चलालको जीवनयात्रा यस वृत्तचित्रको मुख्य विषय हो । निर्देशक केसीले सीमान्तकृत समुदायको यथार्थ र सन्चलालको संघर्षलाई संवेदनशील ढंगले पर्दामा उतार्ने प्रयास गरेका छन् ।

वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । अष्ट्रेलियामा आयोजित टाइटन इन्टरनेसनल फिल्म फेस्टिभल २०२५ को चौथो संस्करणमा यसले ‘बेस्ट डकुमेन्ट्री अफ द सिजन’ र ‘बेस्ट डकुमेन्ट्री अफ द इयर’ गरी दुई अवार्ड जितेको थियो । साथै, बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६ का लागि पनि आधिकारिक छनोटमा परेको छ ।

वृत्तचित्रको लेखन दीपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त गरेका हुन् । अर्जुन सापकोटा र हिमाल शर्माले छायांकन गरेको यस वृत्तचित्रको सम्पादन मदन घिमिरेले गरेका छन् । नेपाली समाजको एक ओझेलमा परेको यथार्थ कथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सफल भएको यस वृत्तचित्रले दर्शकमाझ पनि सकारात्मक चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?