+
+
Shares

टेलर स्विफ्ट बनिन् इतिहासकै धनी महिला संगीतकार, सम्पत्ति २ अर्ब डलर पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोर्ब्स म्यागजिनले गायिका टेलर स्विफ्टलाई इतिहासकै सबैभन्दा धनी महिला संगीतकार घोषणा गरेको छ, जसको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ ।
  • स्विफ्टको ‘द एराज टुर’ को ऐतिहासिक सफलता र पुराना गीतको पुनःरेकर्डिङका कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो ।
  • गायिका स्विफ्टले ‘टोय स्टोरी ५’ फिल्मका लागि नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेकी छन् भने उनलाई सङराइटर्स हल अफ फेममा समावेश गरिने भएको छ ।

‘द एराज’ टूर सकिएको हुन सक्छ, तर कीर्तिमानको सिलसिला भने रोकिएको छैन । आफ्ना गीतलाई विश्वव्यापी सांगीतिक परिघटनामा रूपान्तरण गरेको वर्षौंपछि यी पप स्टारले अर्को यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन अहिलेसम्म कुनै पनि महिला संगीतकारले प्राप्त गर्न सकेकी थिइनन् र यसपटक यो सफलता संगीत चार्टमा होइन, सम्पत्तिको सूचीमा दर्ज भएको छ ।

ती सुपरस्टार हुन्, टेलर स्विफ्ट । फोर्ब्स म्यागजिनले उनलाई इतिहासकै सबैभन्दा धनी महिला संगीतकार घोषणा गरेको छ । उनको अनुमानित कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ, जसले ब्लकबस्टर एल्बम, हाउसफुल कन्सर्ट टुर र अत्यन्तै समर्पित प्रशंसक समुदायको बलमा बनेको उनको विरासतलाई अझ बलियो तुल्याएको छ ।

बुधबार फोब्र्सले आफ्नो पछिल्लो आइकोनोक्लास्ट ५० सूची सार्वजनिक गर्दै वित्त, व्यवसाय, प्रविधि, सञ्चारमाध्यम, मनोरञ्जन र परोपकारका क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई समेटेको थियो । यो वार्षिक सूचीले स्थापित मान्यतालाई चुनौती दिँदै परिवर्तनको नेतृत्व गरिरहेका व्यक्तिलाई सम्मान गर्ने गर्छ ।

यो सूची आइकोनोक्लास्ट सम्मेलनसँग सम्बन्धित छ, जसको सुरुआत चार वर्षअघि भएको थियो । फोब्र्सका अनुसार, सन् २०२३-२४ मा सम्पन्न भएको स्विफ्टको द एराज टुरको अभूतपूर्व सफलताले उनको सम्पत्ति बढाउन मुख्य भूमिका खेलेको छ ।

साथै ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’, लाइफ अफ अ शोगर्ल लगायतका चर्चित सांगीतिक प्रोजेक्ट र आफ्ना पुराना गीतको पुनःरेकर्डिङले पनि उनको सम्पत्ति उल्लेखनीय रूपमा वृद्धि गरेको छ ।

प्रतिवेदनमा स्विफ्टबारे लेखिएको छ, ‘स्विफ्टले सन् २०२० मा आफ्नो सांगीतिक सूची (डिस्कोग्राफी) को अधिकांश भाग पुनःरेकर्ड गरेर संगीत उद्योगमा ठूलो परिवर्तन ल्याइन् । यस कदमले उनका रोयल्टी आम्दानी सिधै उनी आफैंकहाँ पुग्न थाले र अन्य कलाकारलाई पनि आफ्ना सिर्जनामाथि स्वामित्व कायम गर्न प्रेरित गर्‍यो ।’

प्रतिवेदनमा थप भनिएको छ, ‘सन् २०२४ मा द एराज टुर को सफलताका कारण स्विफ्ट अर्बपति बनेकी थिइन् । इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने कन्सर्ट टुर बनेको यस यात्राले २.२ अर्ब डलर आम्दानी गरेको थियो । त्यही आम्दानी प्रयोग गरेर उनले करिब ३६ करोड डलर खर्च गरी आफ्ना मौलिक मास्टर रेकर्डको स्वामित्व पुनः खरिद गरिन् । मार्च २०२६ सम्म आइपुग्दा उनको कुल सम्पत्ति दोब्बर भएर २ अर्ब डलर पुगेको छ, जसले उनलाई इतिहासकै सबैभन्दा धनी महिला संगीतकार बनाएको छ ।’

यद्यपि स्विफ्ट अहिले इतिहासकै सबैभन्दा धनी महिला संगीतकार बनेकी छन्, उनी विश्वकै सबैभन्दा धनी जीवित संगीतकर्मी भने होइनन् । फोब्र्सका अनुसार यो उपाधि अझै पनि र्‍यापर तथा व्यवसायी जे–जेडसँग छ, जसको अनुमानित सम्पत्ति २.८ अर्ब डलर छ । रिहाना र बियोन्सेको सम्पत्ति करिब १ अर्ब डलर रहेको बताइएको छ ।

टेलर स्विफ्टको व्यक्तिगत र व्यावसायिक जीवनमा पनि पछिल्लो समय धेरै घटनाक्रम भइरहेका छन् । विश्व चर्चित गायिका दुवै क्षेत्रमा निरन्तर समाचारको केन्द्रमा रहँदै आएकी छन् ।

उनी चाँडै नै आई न्यु इट, आई न्यु यू शीर्षकको नयाँ मौलिक गीत सार्वजनिक गर्ने तयारीमा छिन् । यो गीत आगामी पिक्सार- डिज्नी फिल्म ‘टोय स्टोरी ५’ सँग सम्बन्धित हुनेछ । गीतलाई ज्याक एन्टोनोफसँग मिलेर लेखिएको हो । डिज्नीले यसलाई स्विफ्टको ‘कन्ट्री संगीतमा पुनरागमन’ का रूपमा प्रस्तुत गरेको छ । गीत फिल्मको लोकप्रिय पात्र ‘जेसी’सँग जोडिएको बताइएको छ ।

यसैबीच, स्विफ्टलाई चाँडै नै सङराइटर्स हल अफ फेममा समावेश गरिनेछ । साथै, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुलाई ३ मा आफ्ना मंगेतर ट्राभिस केल्सीसँग विवाह गर्न सक्ने सम्भावना छ । यद्यपि विवाह स्थल, समारोहको मिति वा सुरक्षा व्यवस्थासम्बन्धी कुनै आधिकारिक जानकारी हालसम्म सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?