+
+
Shares

पंखु खोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते ८:३१
पंखु खोलामा आएको बाढीले बिगारेको सडक । तस्वीर :  जिल्ला प्रहरी कार्यालय खोटाङ

२३ जेठ, खोटाङ । पंखु खोलामा आएको बाढीको क्षतिका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोलामा आएको बाढीले दिक्तेल–चखेवा सडक अवरुद्ध बनाएको हो ।

जेठ २३ गते बिहान साँढे ५ बजेतिर झरेको बाढीले सडक बगाएपछि सवारी साधन आवत–जावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।

बाढीले मध्यपहाडी लोकमार्गको करिब २० मिटर खण्ड बगाएको छ । पंखु खोलामा सवारी साधन वारपार गर्ने अवस्था नभएको सोही ठाउँमा रोकिएका ईन्द्र लिमेल मगरले जानकारी दिए ।

पंखु खोलामा २०७३ सालमै पक्की पुल बनिसक्नु पर्ने थियो तर ठेकेदारको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेपछि हालसम्म खोलाबाटै सवारी साधन तार्ने गरिएको छ ।

वर्षाको समयमा यात्रु तथा मालवाहक सवारी साधन, एम्बुलेन्स, बाईक र पैदल यात्री घण्टौं रोकिने गरेका छन् ।

पंखु खोलामा पक्की पुल निर्माणको काम अलपत्र परिरहेको अवस्थामा श्रम संस्कृति पार्टीले गत जेठ १५ गतेदेखि जेठ १७ गतेसम्म श्रमदान गरेर काठको पुल बनाएका थिए । बाढीले सो पुल पनि बगाएको छ ।

पंखुखोलामा २०७३ सालमा सक्नेगरि १५ मिटर लम्बाई भएको पक्की पुल निर्माण सुरु गरिएको थियो तर ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण २०७९ सालमा ठेक्का तोडिएको थियो ।

ठेक्का खुलाएको ७ वर्ष बित्दा समेत पुल बन्ने छाँटकाँट नदेखिएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय सित्खा, रामेछापले ठेक्का तोड्न सिफारिस गरेको थियो । ठेक्का तोडिएको तीन वर्ष बिते पनि सरकारले नयाँ ठेक्का खुलाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?