News Summary
Generated by OK AI. Editorially reviewed.- कानूनमन्त्री सोबिता गौतमले कर्मचारीहरूलाई भनसुन र सोर्सफोर्सको प्रभावबाट टाढा रहेर लगनशील भई काम गर्न आग्रह गरिन् ।
- दोस्रो कानून अधिकृत सम्मेलनको समापनमा उनले राज्यसत्ता सञ्चालन गर्ने क्रममा कानून मन्त्रालय मस्तिष्क भएको बताइन् ।
- मन्त्री गौतमले अबको दिनमा कानून अधिकृतहरूले दिएको फ्रेमवर्कलाई आधार बनाएर मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाइन् ।
२३ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लगनशील भएर काम गर्नका लागि कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा भएको दोस्रो कानून अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले काम गर्ने कुरामा हिचकिचाहट नगर्न कानूनका कर्मचारीहरूलाई आग्रह गरिन् ।
भनसुन गर्ने प्रचलनकै कारण काम नहुने प्रचलन यसअघि बढ्दै गएको भन्दै वर्तमान सरकार त्यसको विरुद्धमा भएको स्मरण गराइन् ।
कानुनका विद्यार्थीले कानुन मन्त्रालयमा काम गर्न पाइयोस् भनेर राखेको चाहनालाई सम्मान गर्दै उनले त्यसप्रति आफ्नो ध्यान हुने बताइन् ।
यद्यपि भनसुनको प्रचलन भने अघि नबढाउन उनले प्रष्ट आग्रह गरिन् ।
‘सोर्सफोर्स गर्ने प्रचलन जुन छ त्यसबाट चाहिँ सबै जना टाढा रहनुहोला । त्यो अन्याय गर्ने अरु कोही होइन, तपाईंहरूकै साथी हो । साथीले साथीलाई धोका दिने काम नगर्नुहोला,’ मन्त्री गौतमले भनिन्, ‘प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय सक्रिय रुपमा भनसुन कसले गर्छ त्यो भनसुन गर्नेलाई त्यो भन्दा पर पुर्याउनेगरी काम भइरहेको छ ।’
उनले कतिपय मान्छे भनसुन गर्न आउँदा उसैलाई घाटा हुने बताइन् ।
‘कहिलेकाहीँ हुन्छ भनेर कतिपय मान्छे आउनुहुन्छ त्यसको घाटा तपाईंहरूलाई नै हुन्छ । देश त हाम्रै हो नि, मार्तडीमा, मधेशमा, पहाडमा वा काठमाडौंमा गएर काम गर्न पर्यो भने पनि देश त हाम्रै हो नि,’ उनले भनिन्, ‘काम गर्न हिच्किचायो भने देश त हाम्रै हो नि । मिलेर काम गर्यो भने देश त बनिहाल्छ नि ।’
न्यायका संस्थामा काम गर्ने कानुनका अधिकृतहरू अरू निकायभन्दा जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘यो क्रम दिनहुँजस्तो चलिरहेको हुन्छ । कहिले कहिले यसरी नियमति रुपमा सेड्युलमा काम गर्दा हाम्रो जिम्मेवारी, हाम्रो देशप्रतिको कर्तव्य कहिले कहिले नियमित सेड्युलमा हराउन पनि सक्छ,’ मन्त्री गौतमले भनिन् ।
राज्यसत्ता सञ्चालन गर्ने क्रममा कानुन मन्त्रालय मस्तिष्क भएको उनको भनाइ थियो । ‘हामी जिम्मेवारी संस्थामा काम गरिरहेका छौं । यहाँहरूले दिनुभएको राय, टिप्पणी र मस्यौदाले आज यो देशको नागरिकको जीवनमा फरक पारिरहेको हुन्छ,’ उनले भनिन् ।
एउटा विद्यार्थी, व्यवसायी र कर्मचारीको भविष्यमा कानुनका क्षेत्रमा काम गर्ने मान्छेले गर्ने कामले फरक पार्ने गरेको उनको भनाइ छ । ‘हामीले गरिरहेको कामलाई नियमित ठानेर यो दैनिक गर्ने त हो नि भने गम्भीर बनेनौं भने हाम्रो कामले जसको जीवनमा असर पारेको हुन्छ, त्यसको मूल्य ठूलो हुन्छ,’ उनले भनिन् ।
लोकतन्त्र बलियो बनाउने र देश निर्माणको पाटोलाई विधिको शासनतर्फ ढाल्ने संस्थामा काम गरिरहेको भन्दै त्यसमा सजक हुन उनको आग्रह थियो ।
‘इतिहास हेर्ने हो भने इतिहासले नेताहरू सम्झन्छ । तर, इतिहासलाई इतिहास बनाउने र वर्तमानलाई जीवन्त बनाउने र भविष्यको यात्रा सुनिश्चित गर्ने काम कसैले गर्छ भने कर्मचारीले हो । त्यसकारण नेताको नाम सम्झन्छ, कर्मचारीको नाम सम्झँदैन भनेर दुख मनाउ नगर्नुहोला,’ मन्त्री गौतमको आग्रह छ ।
कानुनका अधिकृतहरूले दिएको फ्रेमवर्कलाई आधार बनाएर अबको दिनमा मन्त्रालयले काम गर्ने उनको भनाइ थियो ।
‘अबको हाम्रो बाटो के हो भन्ने कुरा तपाईंहरूले दिनुभएको फ्रेमवर्क मेरो मन्त्रालयका लागि अबको बाटो खोज्न सकियोस् । हाम्रो मन्त्रालयका लागि सम्पत्ति बनेको छ । यसैलाई आधार मानेर अबका दिनमा कानुन मन्त्रालयले काम गर्छ,’ उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया 4