२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सुनसरी जिल्ला अधिवेशनमा विवाद भएको छ । मोरङमा भने सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ ।
मोरङमा नयाँ नेतृत्वका लागि भएको मतदानपछि मतगणना जारी छ । यहाँ उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भइन् ।
सभापतिका लागि निवर्तमान सभापति भरत कँडेललाई कोषराज निरौला र सागर फुयालले चुनौती दिएका छन् ।
उता, सुनसरीको लौकही सिटी हलमा प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ। जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि विवाद सुरु भएको थियो ।
अधिवेशनमा प्रतिनिधिबाट हटाएको विरोधमा केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई पक्षबीच हात हालाहाल भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले समान्य विवाद भएको बताए । ‘सामान्य विवाद हो, ठूलो विषय होइन,’ उनले भने, ‘अहिले स्थिति सामान्य छ । मतदान जारी छ ।’
सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4