+
+
Shares

कमला पुल निरीक्षण गरी फर्किए मन्त्री, स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले गरे नाराबाजी

मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना मन्त्री कमला पुल निरीक्षणका लागि आएको तर निर्माणको काम वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन् । 

सुरेश राय सुरेश राय
२०८३ जेठ २४ गते ७:४६
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निरीक्षण गरी फर्किँदै मन्त्री सुनिल लम्साल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षण गरेका छन् ।
  • तर पुल निर्माणको स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै आक्रोशित स्थानीय युवाहरूले नाराबाजी गरेका छन् ।
  • अलपत्र कमला पुल निरीक्षणका लागि अहिलेसम्म १८ जना मन्त्री पुगे पनि निर्माण कार्य भने वर्षौंदेखि अधुरो छ ।

२४ जेठ, सिरहा । करिब १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ‘काम गरेर देखाउने’ प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले नाराबाजी गरेका छन् ।

सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला पुलको स्थलगत निरीक्षण गर्न मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए । स्थानीय केही युवाहरु पनि त्यहाँ पुगेका थिए । उनीहरुले पुल कहिले बन्छ भनेर मन्त्री लम्साललाई प्रश्न गरेका थिए । तर जवाफ नदिई हिँडेको भन्त्री केही युवाहरुले नाराबाजी गरेका थिए ।

हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं,’ भनेका थिए । संघर्ष समितिका संयोजक यादवका अनुसार मन्त्रीबाट पुल निर्माणको भविष्यबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए ।

तर स्थानीय नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले पुल निर्माणमा संलग्न ठेकेदार तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका थिए ।

मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा आशा जगाए पनि उनले कुनै सार्वजनिक धारणा वा प्रतिबद्धता व्यक्त नगरेको भन्दै केही स्थानीय आक्रोशमा आएका थिए ।

अनलाइनखबरलाई प्राप्त एक भिडियोमा केही युवाहरुले मन्त्रीतर्फ मोबाइल तेर्स्याउँदै पुल कहिले बन्छ भनेर प्रश्न गरेको सुनिन्छ । तर मन्त्री बालेको आवाज सुनिँदैन । त्यसपछि पछाडिबाट केही युवाले हात माथि उठाँदै नाराबाजी गरेको आवाज सुनिन्छ ।

संघर्ष समितिका संयोजक यादवले भने, ‘कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन । त्यही भएर स्थानीय आक्रोशमा आए ।’

मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले नाराबाजी गर्दै ‘फोटो खिचाउन मात्र होइन, जवाफ दिन पनि आउनुपर्छ,’ ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

लम्सालबाट सार्वजनिक रुपमा स्पष्ट प्रतिबद्धता नआउँदा पुलबारे जनतामा झन् अन्योल र निराशा बढाएको भन्दै आक्रोशमा आएका केहीले मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयास समेत गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले भने मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे तर गाडी नै अवरोध भने नभएको जानकारी दिए । मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको उनले बताए ।

मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना मन्त्री कमला पुल निरीक्षणका लागि आएको तर निर्माणको काम वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?