News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन २६ जेठ मंगलबार हेटौंडामा सरु हुने भएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हेटौंडास्थित हिमालयन दरबारमा आयोजना हुने सो अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।
- हालका प्रदेश सभापति डा. अच्युत्तम लामिछानेले ‘यही जिम्मेवारीमा रहन चाहेको छु’ भन्दै पुनः सोही पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशको अधिवेशन बागमतीबाट सुरु हुने भएको छ । प्रदेशतर्फ बागमतीबाट अधिवेशन सुरु गर्न लागिएको हो ।
बागमती अधिवेशन मंगलबार बिहान (२६ जेठ ) हेटौंडामा गर्न लागिएको छ । हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घान पार्टी सभापति रवि लामिछानेले गर्नेछन् ।
सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन् । हालका बागमती सभापति डा. अच्युत्तम लामिछाने अधिवेशन मार्फत सोही पदमा दोहोरिन चाहेका छन् ।
लामिछानेले अनलाइनखबरसँग भने, ‘यही जिम्मेवारीमा रहन चाहेको छु । केन्द्रीय समितिमा जाने चाहना अहिलेको लागि छैन ।’
अधिवेशनबाट नयाँ नेतृत्व चुनाव मार्फत आउने उनले जानकारी गराए । लामिछानेले भने, ‘साथीहरूले पनि इच्छा देखाउनु भएको सुनेको छु । चुनाव होला ।’ लामिछाने रास्वापको बागमती प्रदेश सभापति स्थापनाकालदेखि छन् ।
सभापति पदका लागि अर्को आकांक्षी उत्सव अर्याल देखिएका छन् । अर्याल वागमती समितिमा हाल प्रवक्ता छन् । रास्वपाका केन्द्रीय विभागका एक सदस्यका अनुसार दुवैतर्फबाट प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ ।
उपसभापतिमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । प्रदेशको स्वास्थ्य विभागमा रहेका ढकाल शंखरापुर अस्पताल सञ्चालक पनि हुन् ।
उपसभापति पदमा अर्को आकांक्षी मेनुका ठकुरी देखिएको रास्वपाका प्रदेश नेताहरुले जानकारी गराएका छन् । महामन्त्रीमा सुरेन्द्र भट्ट सोही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री भट्टले हालकै पदको आकांक्षी रहेको अनलाइनखबरलाई जानकारी गराए ।
रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक-फरक हुने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १/१ जना हुने व्यवस्था छ ।
सहमहामन्त्री दुई जना हुने र फरक-फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।
निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ ।
पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4