News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीका नाममा ठगिएका छोरा सुरज झाको न्याय र रकम फिर्ताका लागि सप्तरीका अशोककुमार झा वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।
- एजेन्ट बलराम लामा र सिर्जना थिङले रोमानिया पठाइदिने बहानामा सुरजबाट लाखौँ रुपैयाँ ठगी गरेर हाल सम्पर्कविहीन भएका छन् ।
- ठगीका कारण आर्थिक रूपमा टाट पल्टिएपछि सुरज झा विगत १ वर्षदेखि कतारमा श्रम गर्न विवश भएका छन् ।
२६ जेठ, काठमाडौं । सप्तरी बरमझियाका अशोककुमार झाको अनुहारमा गहिरो शून्यता र आक्रोशमात्र बाँकी छ ।
वैदेशिक रोजगारीका नाममा दलालले दिएको हन्डर र नियतिले थपेको पीडाले उनको परिवारलाई नराम्ररी थला पारेको छ ।
रोमानियामा ‘डेलिभरी ब्वाई’ को काम गरेर महिनाको सवा लाख रुपैयाँ कमाउने र परिवारको गरिबी सुधार्ने सपना बोकेका उनका छोरा सुरज झा आज रोमानिया होइन, हारेर कतारको मरुभूमिमा पसिना बगाउन विवश छन् ।
यता घरमा न छोराले सोचेको जस्तो कमाइ भयो, न बैँस छँदा कमाएको पैसा नै जोगियो । उल्टै, दलालको क्रुरताका कारण सुरजले जीवनको सबैभन्दा ठूलो क्षति बेहोर्नुपर्यो । वैदेशिक रोजगारीको विवशतामा उनले आफ्नो आमाको मुख अन्तिम पटक देख्न समेत पाएनन् ।
झा परिवारको पीडाको कथा तीन वर्षअघि सुरु हुन्छ, जब सुरजको भेट बलराम लामा नामका एउटा एजेन्टसँग भयो । लामाले सुरजलाई रोमानिया पठाइदिने र त्यहाँ ओभरटाइम गर्दा राम्रो आम्दानी हुने सपना देखाए ।
तीन वर्षअघि वैदेशिक रोजगारीमा ठगिएका छोराको न्यायका लागि अशोककुमार यतिबेला काठमाडौं धाइरहेका छन् । वर्तमान सरकार आएपछि न्याय पाइन्छ कि भन्ने ठूलो आशा बोकेर उनी झोलाभरि कागजात वैदेशिक रोजगार विभाग पुगेका हुन् ।
मलिन अनुहार लिएर विभाग परिसरमा देखिएका उनी मनमनै आफ्नो नियति र विवशता व्यक्त गरिरहेका थिए । अनलाइनखबर टिम रिर्पोटिङका लागि विभाग परिसर पुगेको थियो । त्यही बेला उनी मुद्दा शाखाका झ्यालमा थिए । र, भन्दै थिए– ‘छोरो ठगियो, छोरो ठगिएपछि परिवारको बेहाल भयो, अहिले मुद्दा मामिला गर्न आउँदा हाम्रो पीडा सुन्दैनन्, मेरो दु:ख कसलाई सुनाउँ ।’
त्यसपछि उनले खुलेर अनलाइनखबरसँग आफ्नो पीडा पोखे ।
तीन वर्षअघि २०८१ असोज । कुनै आफन्त मार्फत बलराम लामासँग भेट भयो । रोमानियामा राम्रो कमाइ हुने र सेवा सुविधा समेत राम्रो पाइने भन्दै सुरज र उनको परिवारलाई जालझेलमा पारियो ।
‘काम हुँदै जान्छ, तिमीले पैसा दिँदै जानुपर्छ,’ बलरामले सुरुमै अशोककुमार झासँग सर्त राखेका थिए ।
सुरुमा मेडिकल गर्न भन्दै काठमाडौं बोलाएर ५० हजार रुपैयाँ लिइयो । त्यसपछि कहिले कुन कागज त कहिले कुन पेपर भन्दै साढे २ लाख मागियो । दलालको माग रोकिने छाँट थिएन । फेरि २ लाख २० हजार ५ सय रुपैयाँ बुझाइयो । पटक–पटक वर्क पर्मिट र विभिन्न कागजात देखाउँदै सुरजलाई अलमल्याउने काम भइरह्यो ।
ठगीको यो शृङ्खला २०८१ असोजमा झन् निकृष्ट बन्यो । असोज ६–७ तिर दलाल बलरामले सुरजलाई ‘भिसा लाग्यो, अब दिल्ली जानुपर्छ’ भन्दै ताकेता गर्यो । तर, त्यतिबेला सुरजकी आमा सिकिस्त बिरामी भएर धरानमा हस्पिटलको आईसीयूमा जीवनमरणको दोसाँधमा थिइन् ।
आमाको यो अवस्था देखेर सुरजले दलालसँग अनुनय–विनय गरे, ‘मेरो आमा बिरामी छ, म धरान हस्पिटलमा छु, दुई–चार दिनपछि जान्छौं ।’ तर, दलालले मानेनन् ।
दलालले ‘तिम्रो भिसा क्यान्सिल हुन्छ’ भन्दै डर देखाए । ‘हैन, तिम्रो क्यान्सिल हुन्छ, यो हुन्छ, त्यो हुन्छ, पैसा जान्छ, फेरि पछाडि नभन्नू’ भनेर विभिन्न बहाना देखाइयो ।
भिसा नै क्यान्सिल हुने डर देखाएपछि उनी दिल्ली जान तयार भए । आमाको उपचार बुबा अशोकको काँधमा सुम्पिदिए ।
बुबाले पनि ऋण गरेर जम्मा गरेको लाखौं रुपैयाँ डुब्ने डरले भारी मन गर्दै छोरालाई भने, ‘ल ठिक छ, हस्पिटलमा उपचार हुँदैछ, तिमी जाऊ ।’
दिल्ली जानुअघि दलालले फेरि ३ लाख रुपैयाँ नगद लियो र काठमाडौं पुगेपछि फेरि कहिले ८० हजार त कहिले १ लाख गर्दै थप ४ लाख रुपैयाँ नगद कुम्ल्यायो ।
सुरजलाई दिल्ली पुर्याइयो । दलालले भन्यो, ‘तिमीहरू लुगासुगा तयार पारेर रेडी होऊ, तीन–चार दिनमा उडान हुन्छ ।’
तर, त्यो उडान कहिल्यै भएन । नियतिको क्रुर खेल, जुन दिन सुरजलाई दिल्लीको एउटा कोठामा थुनियो, ठ्याक्कै त्यही दिन धरानको हस्पिटलमा उनकी आमाले अन्तिम सास फेरिन् ।
छोरा आएपछि त्यही दिन उनको आमाको मृत्यु पनि भयो । अब रुवाबासी भयो, सबै भयो । छोराले ‘अब म क्रियाकर्म गर्नु कि तीन–चार दिनपछि जाने’ भन्दा दलालले मानेनन् ।
चार–पाँच दिनपछि फोन गर्दा दलालले ‘तिम्रो भिसा क्यान्सिल भयो, अब तिम्रो पैसा एक महिनाभित्र बुझाउँछु’ भने ।
त्यो दिनदेखि दलाल बलराम लामा सम्पर्कविहीन भए । ३ वर्षसम्म झुक्याएर लाखौं ठगेपछि असोजको त्यो घटनापछि लामाको अत्तोपत्तो छैन ।
झाका अनुसार दलालले चलाखीपूर्वक धेरैजसो रकम नगदै लिएको थियो । तर, बैंकिङ माध्यमबाट सिर्जना थिङ नामकी महिलाको खातामा ३ लाख २० हजार रुपैयाँ गएको स्पष्ट प्रमाण झा परिवारसँग सुरक्षित छ । अहिले सिर्जना थिङको मोबाइल नम्बर त छ, तर उनी पनि सम्पर्कविहीन छिन् ।
‘तीन वर्षसम्म हामीलाई खेलौना बनाइयो, अब हार खाएर म न्यायका लागि मुद्दा हाल्न यहाँ (विभाग/प्रहरी) आएको हुँ,’ बुबा अशोकले भने ।
यो ठगीले झा परिवारलाई आर्थिक रूपमा मात्र टाट पल्टाएन, मानसिक रूपमा समेत सिध्यायो । ऋणको पहाड र दलालको धोकाबाट विक्षिप्त छोरा सुरजले अन्तत: रोमानिया जाने आशा मारे । घरको आर्थिक अवस्था सुधार्न र लागेको ऋण तिर्न उनी ‘हारेर’ कतार पलायन भए । उनी एक वर्षदेखि कतारमा काम गर्दै आएका छन् ।
रोमानियामा डेलिभरी ब्वाई बनेर ओभरटाइम सहित सम्मानजनक कमाइ गर्ने उनको चाहना थियो, आज उनी खाडीको कडा गर्मीमा श्रम बेचिरहेका छन् ।
बर्मझियाका अशोक अहिले न्यायका लागि विभाग धाइरहेका छन् । उनी भन्छन्, ‘मेरो छोरा त बर्बाद भयो नै, तर त्यो ठग बलराम लामा र सिर्जना थिङलाई कारबाही हुनैपर्छ, हाम्रो पैसा फिर्ता पाउनुपर्छ ।’
प्रतिक्रिया 4