0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

जीपीएको दौडमा विद्यार्थीले जीवन नहारून्

हरेक वर्ष परीक्षाको नतिजा आउँदा कसले कति जीपीए ल्यायो भनेर उत्सव मनाउने हाम्रो समाजले शिक्षाको मूल उद्देश्य नै बिर्सिंदै गएको छ। आज विद्यालयहरू ज्ञान र चेतनाको मन्दिरभन्दा पनि बजारका लागि ‘दक्ष श्रमिक’ र ‘कोरा प्रमाणपत्र’ उत्पादन गर्ने कारखाना बन्दै छन्। 

श्री प्रसाद देवकोटा श्री प्रसाद देवकोटा
२०८३ जेठ २६ गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा १३ देखि १९ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरमा मानसिक स्वास्थ्य समस्या देखिएको विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको तथ्याङ्क छ ।
  • नेपालमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर करिब ९.५ प्रतिशत रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको तथ्याङ्क छ ।
  • नेपालको परीक्षाकेन्द्रित शिक्षा प्रणालीले व्यावहारिक सीप र मानसिक स्वास्थ्य विकासमा ध्यान नदिँदा बेरोजगारी एवं मानसिक समस्या बढेको विश्लेषण गरिएको छ ।

हरेक वर्ष एसईई वा अन्य परीक्षाको नतिजा सार्वजनिक भएपछि देशैभर बहस दोहोरिन्छ- कसले कति जीपीए ल्यायो, कुन विद्यालय उत्कृष्ट बन्यो, कुन विद्यालय असफल भयो ? अभिभावक, शिक्षक, विद्यालय र परिवार सबै अङ्कको उत्सव वा निराशामा केन्द्रित हुन्छन्। विद्यालयको गुणस्तर कक्षाकोठाको वातावरण, शिक्षक–विद्यार्थी सम्बन्ध, अनुसन्धान, सिर्जनशीलता वा जीवनोपयोगी सीपबाट होइन, जीपीए र उत्तीर्ण प्रतिशतबाट मापन गरिन्छ।

विद्यालयहरू ज्ञानका बगैंचा भन्दा पनि नतिजा उत्पादन गर्ने कारखाना बनेका छन्, जहाँ विद्यार्थीलाई सोच्नभन्दा सम्झिन, प्रश्न गर्नभन्दा उत्तर दोहोर्‍याउन र जीवन बुझ्नभन्दा परीक्षा उत्तीर्ण गर्न बढी सिकाइन्छ। यसैकारण शिक्षा सिकाइको प्रक्रियाभन्दा पनि परिणामको प्रतिस्पर्धा बनेको छ। विद्यालय र विश्वविद्यालयहरू ज्ञानको मन्दिर होइन, प्रमाणपत्र छाप्ने र बजारका लागि (अ)दक्ष श्रमिक उत्पादन गर्ने कारखाना बनेका छन्। हाम्रो शिक्षाले विद्यार्थीको मूल्याङ्कन उसको मार्कशीटको आधारमा मात्र गरिरहन्छ। जबसम्म यस्तो भइरहन्छ, देशले प्रमाणपत्र बोकेका परिचालित श्रमिक त पाउँछ, तर समाज बदल्ने चिन्तक र नवप्रवर्तक कहिल्यै पाउँदैन।

मार्कशीटको नम्बरले मान्छेको योग्यता मापन गर्न छाडेर जबसम्म शिक्षाले प्रश्न गर्ने साहस, सिर्जना गर्ने क्षमता र अन्याय विरुद्ध उभिने नैतिकता दिंदैन, तबसम्म देश जतिसुकै साक्षर भए पनि मुलुक सधैं विचार र चेतनाको खडेरीमा फसिराख्नेछ। शिक्षालाई कारखानाबाट मुक्त गरेर पुनः ज्ञान र चेतनाको मन्दिर बनाउन ढिलो भइसकेको छ।

अर्कोतर्फ, शिक्षा प्रणालीको मूल्याङ्कन जीपीए, उत्तीर्ण प्रतिशत र टपर उत्पादनमा सीमित हुँदा सिकाइको गुणस्तर ओझेलमा परेको छ। बालबालिकाले कसरी सिकिरहेका छन्, विद्यालयको भौतिक–शैक्षिक वातावरण कस्तो छ, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण विधि कत्तिको व्यावहारिक छ, विद्यार्थीको मानसिक अवस्था कस्तो छ जस्ता विषयहरूमा खासै बहस सुनिंदैन।

विश्व बैंकको अनुसन्धान प्रतिवेदनले नेपाल सहित दक्षिणएशियामा ‘सिकाइ सङ्कट दर’ उच्च देखाएको छ। अर्थात्, १० वर्ष उमेरसम्मका धेरै बालबालिकाले सामान्य पाठ बुझेर पढ्न सक्ने आधारभूत क्षमता समेत हासिल गर्न सकिरहेका छैनन्। विद्यालय भर्ना दर बढे पनि धेरै विद्यार्थी आधारभूत भाषा र गणितीय दक्षतामै कमजोर छन्। यसले हाम्रो शिक्षा प्रणालीमा एउटा गम्भीर प्रश्न खडा गरेको छ- यदि विद्यालयले बालबालिकालाई जीवनका आधारभूत क्षमता नै दिन सकिरहेको छैन भने शिक्षा प्रणालीको सफलता कसरी मापन गर्ने ?

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विभिन्न राष्ट्रिय मूल्याङ्कन प्रतिवेदनहरूले पनि आधारभूत तहका धेरै विद्यार्थी गणित, विज्ञान र भाषाका आधारभूत सीपमा कमजोर रहेको देखाएका छन्, जबकि परीक्षा प्रणालीमा तुलनात्मक रूपमा उच्च नतिजा देखाउने प्रवृत्ति कायम छ।

शिक्षाले बालबालिकालाई सूचना मात्र होइन, विवेक पनि दिनुपर्छ। प्रतिस्पर्धा मात्र होइन, सहकार्य सिकाउनुपर्छ। जागिरका लागि होइन, जीवनका लागि तयार गर्नुपर्छ। व्यक्तिलाई दक्ष मात्र होइन, विवेकी बनाओस्। प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार बनाओस्। व्यक्तिगत सफलतामा मात्र केन्द्रित होइन, समाजप्रति उत्तरदायी बनाओस्

सँगसँगै बढ्दो बेरोजगारी, मानसिक तनाव, सामाजिक असहिष्णुता, डिजिटल लत र सम्बन्धहरूको विघटन जस्ता गहिरा सामाजिक, मानसिक र आर्थिक सङ्कटहरूले आज एउटा गम्भीर प्रश्न उठाइरहेका छन्- शिक्षा केवल परीक्षा पास गर्ने माध्यम हो कि जीवन बुझ्ने क्षमता विकास गर्ने प्रक्रिया पनि हो ? शिक्षाले नैतिक र जिम्मेवार नागरिक निर्माण गर्न सकेन भने कोरा प्रमाणपत्रको सङ्ख्याले समाजमा झनै सङ्कट थप्छ।

सत्य हो, हाम्रो शिक्षा क्रमशः अङ्क, प्रतिस्पर्धा र प्रमाणपत्रको सीमित परिभाषाभित्र बन्द हुँदै गएको छ। विद्यालयहरू सिकाइका केन्द्रभन्दा बढी नतिजा उत्पादन गर्ने संस्था जस्ता बन्न थालेका छन्। विद्यार्थीको क्षमता उसको जिज्ञासा, सिर्जनशीलता वा व्यवहारले होइन, एउटा ग्रेडले मापन गरिन्छ। शिक्षा प्रणालीलाई मानवीय विकासभन्दा परीक्षाकेन्द्रित संरचनातर्फ धकेलिएको छ। यही बीच एउटा गम्भीर प्रश्न लगातार उठिरहेको छ- के शिक्षा भनेको केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया हो, कि जीवन बुझ्ने र सामाजीकरण सिकाइको यात्रा पनि ?

लोकसेवा, विदेश वा निजी जागिरको लाइनमा उभिएको ठूलो पुस्ताले कठोर सत्य प्रकट गरेको छ- प्रमाणपत्र बढेको छ, तर क्षमता र अवसर बीचको दूरी पनि बढेको छ। उच्च जीपीए ल्याएका हजारौं विद्यार्थी पनि व्यावहारिक सीप, अनुसन्धान क्षमता वा रोजगारका लागि आवश्यक दक्षतामा कमजोर देखिन्छन्।

विश्वविद्यालयको प्रमाणपत्र बोकेका युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन् भने धेरै रोजगारदाता स्वयंले ‘डिग्रीभन्दा सीप आवश्यक रहेको’ बताइरहेका छन्। यसले शिक्षा र जीवन बीचको दूरी बढ्दै गएको सङ्केत गर्छ। विद्यालय र कलेजहरूले प्रमाणपत्र उत्पादन गरिरहेका छन्, तर समाजमा दिशाहीनता र बेरोजगारी बढिरहेको छ।

यूएनडीपीको तथ्याङ्क अनुसार नेपालमा १५ देखि २९ वर्ष उमेर समूहको युवा बेरोजगारी दर करिब ९.५ प्रतिशत छ। तर औपचारिक बेरोजगारीभन्दा ठूलो सङ्कट अन्डर–इम्प्लोयमेन्ट र विदेश पलायन हो।

यस बीच अर्को सङ्कट झन् गहिरो बन्दै गएको छ- बालबालिका र किशोरहरूको मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य सङ्गठन र युनिसेफका अनुसार नेपालमा १३ देखि १९ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरमा पहिचानयोग्य मानसिक स्वास्थ्य समस्या देखिएको छ भने ६ देखि १८ वर्ष उमेरका १८.३ प्रतिशत बालबालिकामा भावनात्मक वा व्यावहारिक कठिनाइ रहेको उल्लेख गरिएको छ। आत्महत्या १५–२९ वर्ष उमेर समूहमा मृत्युका प्रमुख कारणमध्ये एक बनेको छ। यसले शिक्षा प्रणालीको अर्को गम्भीर कमजोरी उजागर गर्छ।

विद्यालयहरूमा अङ्क, परीक्षा र प्रतिस्पर्धामाथि अत्यधिक जोड छ, तर भावनात्मक विकास, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारमाथि पर्याप्त ध्यान छैन। धेरै बालबालिकाका लागि विद्यालय सिक्ने भन्दा दबाबको ठाउँ बन्दै गएको छ।

आधुनिक समाजशास्त्रका अनुसार, शिक्षाको उद्देश्य व्यक्तिलाई अरूभन्दा उत्कृष्ट बनाउनु मात्र होइन, बरु उसलाई समाजका लागि उपयोगी र उत्तरदायी बनाउनु हो। हामीलाई अब दक्ष श्रमिक मात्र होइन; प्रश्न गर्ने नागरिक, सिर्जना गर्ने वैज्ञानिक र न्यायको पक्षमा उभिने चिन्तक चाहिएको छ

युनिसेफका अध्ययन प्रतिवेदनले पनि परीक्षाकेन्द्रित दबाब, अभिभावकीय अपेक्षा र अत्यधिक प्रतिस्पर्धाले किशोरकिशोरीमा तनाव, चिन्ता र आत्मविश्वासको समस्या बढाइरहेको निष्कर्ष निकालेका छन्।

भाषा र संस्कृतिको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। विभिन्न अध्ययनले प्रारम्भिक शिक्षा मातृभाषामा हुँदा सिकाइ प्रभावकारी हुने देखाएका छन्। मातृभाषामा सिक्ने बालबालिकाले विषय बुझाइ, आत्मविश्वास र सहभागितामा राम्रो प्रदर्शन गर्ने तथ्य अनुसन्धानले देखाएका छन्। तर नेपालमा अङ्ग्रेजी माध्यम शिक्षाप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। अभिभावकहरू अङ्ग्रेजीलाई अवसरसँग जोडेर हेर्छन्।

युवाका लागि शिक्षा अब ज्ञान वा सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम बनेको छ। जब शिक्षा स्थानीय समाज, उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोडिन सक्दैन, तब शिक्षित पुस्ताले आफ्नै समाजमा भविष्य देख्न छाड्छ। यसले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउँछ, पुस्तागत सीप हराउँछ, सामुदायिक सम्बन्ध कमजोर हुन्छ र राष्ट्रिय आत्मनिर्भरता घट्दै जान्छ।

यसैगरी शिक्षाले स्थानीय समाज, उत्पादन र जीवनसँगको सम्बन्ध क्रमशः गुमाउँदै छ। गाउँका विद्यालयमा पढ्ने बालबालिकालाई आफ्नै गाउँको कृषि, वातावरण, स्थानीय अर्थतन्त्र वा समुदायबारे भन्दा बाह्य जीवनशैली र सम्भावनाका बारेमा बढी पढाइन्छ। फलस्वरूप शिक्षा स्थानीय जीवन बुझ्ने प्रक्रियाभन्दा गाउँबाट बाहिर निस्कने माध्यम जस्तो बन्न पुगेको छ।

कृषि पेशाप्रति वितृष्णा बढेको छ। श्रमलाई सिर्जना वा आत्मनिर्भरताको आधारभन्दा बाध्यताको प्रतीकका रूपमा बुझ्ने प्रवृत्ति फैलिएको छ। जब शिक्षा आफ्नो समाज र जीवनसँग जोडिन छोड्छ, तब त्यसले ज्ञानभन्दा बढी विच्छेदन उत्पादन गर्छ।

कस्तो शिक्षा प्रणाली आवश्यक ?

फिनल्यान्डले शिक्षा प्रणालीलाई परीक्षाकेन्द्रित मात्र बनाएको छैन; त्यहाँ सहकार्य, खेल, प्रकृतिसँगको सम्बन्ध, सामूहिक जिम्मेवारी, मानसिक स्वास्थ्य र जीवनोपयोगी सीपलाई शिक्षाको अभिन्न हिस्सा बनाइएको छ। शिक्षकलाई उच्च सम्मान र स्वतन्त्रता दिइएको छ। विद्यार्थीलाई निरन्तर तुलना गरेर होइन, उनीहरूको व्यक्तिगत क्षमता विकास गरेर अघि बढाउने प्रयास गरिन्छ।

त्यस्तै जापानमा विद्यालय शिक्षा केवल शैक्षिक उपलब्धिसम्म सीमित छैन। त्यहाँ विद्यार्थीले विद्यालयको सफाइ आफैं गर्छन्, सामूहिक रूपमा भोजन व्यवस्थापनमा सहभागी हुन्छन् र दैनिक व्यवहार मार्फत जिम्मेवारी, सहकार्य तथा अनुशासन सिक्छन्। शिक्षालाई मात्र परीक्षा र करिअरको तयारी होइन, ‘सामाजिक प्राणी बनाउने प्रक्रिया’ का रूपमा लिएको छ। समयपालन, सार्वजनिक सम्पत्तिप्रतिको सम्मान, समूहमा काम गर्ने संस्कार र श्रमप्रतिको सम्मान विद्यालय जीवनमै सिकाइन्छ। यही कारण जापानमा सामाजिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र सामूहिक चेतना बलियो मानिन्छ।

अमेरिकी शिक्षाशास्त्री जोन डिबेले शिक्षालाई जीवनसँग जोड्दै भनेका छन्- ‘शिक्षा जीवनको तयारी होइन, स्वयम् जीवन हो।’ अर्थात्, शिक्षा कक्षाकोठाभित्र सीमित होइन, व्यवहार, समाज र अनुभवसँग गहिरो रूपमा जोडिएको हुनुपर्छ। अतः शिक्षा भनेको केवल सफल व्यक्ति उत्पादन गर्ने प्रक्रिया होइन; त्यो समाजको भविष्य निर्माण गर्ने प्रक्रिया हो।

जबसम्म शिक्षालाई परीक्षा र जागिरको साँघुरो घेराबाट मुक्त गरेर जीवन, समाज र मानवीय मूल्यहरूसँग जोडिंदैन, तबसम्म प्रमाणपत्रको सङ्ख्या बढे पनि समाजभित्रको नैतिक र सामाजिक सङ्कट गहिरिंदै जानेछ। प्रमाणपत्रको सङ्ख्या बढे पनि समाजमा विश्वास, सहकार्य र मानवीयता घट्दै जानेछ।

अतः शिक्षाले बालबालिकालाई सूचना मात्र होइन, विवेक पनि दिनुपर्छ। प्रतिस्पर्धा मात्र होइन, सहकार्य सिकाउनुपर्छ। जागिरका लागि होइन, जीवनका लागि तयार गर्नुपर्छ। व्यक्तिलाई दक्ष मात्र होइन, विवेकी बनाओस्। प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार बनाओस्। व्यक्तिगत सफलतामा मात्र केन्द्रित होइन, समाजप्रति उत्तरदायी बनाओस्।

आधुनिक समाजशास्त्रका अनुसार, शिक्षाको उद्देश्य व्यक्तिलाई अरूभन्दा उत्कृष्ट बनाउनु मात्र होइन, बरु उसलाई समाजका लागि उपयोगी र उत्तरदायी बनाउनु हो। हामीलाई अब दक्ष श्रमिक मात्र होइन; प्रश्न गर्ने नागरिक, सिर्जना गर्ने वैज्ञानिक र न्यायको पक्षमा उभिने चिन्तक चाहिएको छ ।

लेखक
श्री प्रसाद देवकोटा

देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?