0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

मेटाले घोषणा गर्‍यो ११५ मिलियन डलरको ‘अमेरिकाज् वर्कफोर्स एकेडेमी’

मेटाले रिजनल डेटा सेन्टरहरूको विकासमा गरिरहेको ठुलो लगानीलाई जनसम्पर्क (पब्लिक रिलेशंस) को अवसरका रूपमा उपयोग गर्दै ‘अमेरिकाज् वर्कफोर्स एकेडेमी’ नामक नयाँ आयोजना सुरु गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:५३

२७ जेठ, काठमाडौं । हजारौँ कर्मचारी कटौती गर्दै आर्टिफिसियल इन्टेलिजेन्सका टूलहरू प्रयोग गरिरहेको मेटाले बाह्य क्षेत्रमा भने रोजगारी सिर्जना गर्ने उद्देश्यले एक नयाँ परियोजना घोषणा गरेको छ। मेटाले रिजनल डेटा सेन्टरहरूको विकासमा गरिरहेको ठुलो लगानीलाई जनसम्पर्क (पब्लिक रिलेशंस) को अवसरका रूपमा उपयोग गर्दै ‘अमेरिकाज् वर्कफोर्स एकेडेमी’ नामक नयाँ आयोजना सुरु गरेको हो।

रोयटर्सका अनुसार, मेटाले यस परियोजनामा ११ करोड ५० लाख अमेरिकी डलर लगानी गर्दैछ। यस अन्तर्गत कम्पनीले विभिन्न निर्माण सम्बद्ध सङ्गठनहरूसँग साझेदारी गरी आफ्नो एआई पूर्वाधार निर्माण भइरहेका क्षेत्रका मानिसहरूलाई तालिम र रोजगारीको ग्यारेन्टीसहितको अवसर प्रदान गर्नेछ।

अमेरिकामा हाल लाखौँ फाइबर टेक्निसियन, वेल्डर, प्लम्बर र इलेक्ट्रिसियन जस्ता दक्ष श्रमिकहरूको अभाव रहेको अवस्थामा यस कार्यक्रमले ग्रामीण अमेरिकामा ऐतिहासिक अवसरहरू ल्याउने मेटाकी अध्यक्ष डिना पावेल म्याककोर्मिकले दाबी गरेकी छन्। उनले यस एआई परिवर्तनलाई औद्योगिक क्रान्ति र दोस्रो विश्वयुद्धको समयको औद्योगिक विकाससँग समेत तुलना गरेकी छन्।

तर, मेटाले यसलाई क्षेत्रीय विकासको ठुलो अवसरका रूपमा प्रस्तुत गरे पनि विभिन्न अमेरिकी क्षेत्रहरूमा यी एआई डेटा सेन्टर परियोजनाहरूका कारण जनजीवन र प्राकृतिक स्रोतमा गम्भीर संकट देखिन थालेको छ। एआई पूर्वाधारहरूले अत्यधिक मात्रामा स्थानीय स्रोत र साधनहरू खपत गरिरहेका छन्।

जर्जियाको मोर्गन काउन्टीमा मेटाको डेटा सेन्टर निर्माणका कारण खानेपानी प्रदूषण हुनुका साथै सार्वजनिक उपयोगितामा गम्भीर असर परेको छ । जसलाई लिएर अमेरिकी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले यस्ता प्रभावहरूलाई सीमित गर्न कानुनी कदम चाल्न माग गरेकी छन्।

त्यस्तै, फेयटभिलमा एउटा एआई पूर्वाधार आयोजनाले स्थानीय बासिन्दालाई मर्कामा पार्दै ३ करोड ग्यालन विनामिटरको पानी रित्याएको पोलिटिकोले रिपोर्ट गरेको छ।

‘द बुलेटिन अफ एटोमिक साइन्टिस्ट्स’ का अनुसार, नर्दन भर्जिनियाको लाउडन र फेयरफ्याक्स काउन्टीहरूमा सञ्चालित डेटा सेन्टरहरूले सन् २०२३ मा मात्रै झण्डै २ अर्ब ग्यालन पानी प्रयोग गरेका थिए। जसका कारण स्थानीय जल अधिकारीहरू कुलिङ प्रक्रियाका लागि प्रशोधित पानीको सट्टा पिउने पानीमा निर्भर हुन बाध्य भएका छन्।

पानीका साथै डेटा सेन्टरहरू निर्माण भइरहेका क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध आउनु सामान्य जस्तै बनेको छ। मेटाले स्थानीय समुदायमा पर्ने प्रभाव कम गर्न पूरक ऊर्जा परियोजनाहरू बनाउने वाचा गरे पनि अहिलेसम्म त्यसो हुन सकेको छैन।

एआई विकासमा अमेरिकालाई विश्वमै अगाडि बढाउने होडमा अमेरिकी सरकारको एआई कार्ययोजनाले पनि दिगो पूर्वाधार निर्माणलाई भन्दा ‘नियमन र प्रशासनिक झन्झटहरू हटाउने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?