२७ जेठ, काठमाडौं । दक्षिण कोरियाबाट फर्किएका नेपाली श्रमिकको रोजगारी तथा उद्यमशीलता क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोटरसाइकल मर्मत सम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ ।
कोइकाले ‘के-हामी परियोजना’ मार्फत काठमाडौंमा २५ जेठदेखि १ असारसम्म मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिरहेको जनाएको छ । तालिम कार्यान्वयन एचआरडी कोरियाले गरिरहेको छ ।
तालिममा कोरियाबाट फर्किएका १२ नेपाली सहभागी छन् । ५१ घण्टाको तालिममा सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण समावेश गरिएको छ ।
तालिमको मुख्य उद्देश्य फर्किएका श्रमिकको रोजगारी र उद्यमशीलता क्षमता विकास गर्दै उनीहरूको समाजमा सफल पुन: एकीकरणमा सहयोग पुर्याउनु रहेको जनाइएको छ ।
कार्यक्रमको विशेषता भनेको कोरियाली मोटरसाइकल मर्मत विज्ञ र नेपाली अनुभवी प्राविधिकहरूको संयुक्त प्रशिक्षण पद्धति हो । यसबाट सहभागीले कोरियाली प्रविधिसँगै नेपालको स्थानीय बजारको व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् ।
तालिममा मोटरसाइकलको संरचना र विभिन्न पार्टपुर्जा, इन्जिन मर्मत तथा विद्युतीय र चार्जिङ प्रणाली सम्बन्धी विषय समेटिएका छन् । उत्कृष्ट प्रशिक्षार्थीलाई स्थानीय मोटरसाइकल सेवा केन्द्रहरूमा इन्टर्नसिपको अवसर समेत प्रदान गरिने जनाइएको छ ।
नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङले कोरियामा काम गर्दा हासिल गरेको सिप र अनुभव उपयोग गर्दै फर्किएका श्रमिकलाई नयाँ आर्थिक गतिविधि सुरु गर्न सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
उनले पुन: एकीकरण र आर्थिक आत्मनिर्भरताका लागि कोइकाले आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।
के–हामी परियोजना नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय, कोइका र एचआरडीकेको साझेदारीमा सञ्चालन भइरहेको छ ।
परियोजनाले कोरिया जान तयारी गरिरहेका, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा कार्यरत तथा कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि चरणगत सहयोग प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।
परियोजना अन्तर्गत सञ्चालन गरिएका यस्ता प्राविधिक तालिमले फर्किएका श्रमिकको सिप अभिवृद्धि, रोजगारीका अवसर विस्तार तथा दिगो जीविकोपार्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4