२८ जेठ, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । पार्टीको साङ्गठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशाका लागि भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए ।
वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जगैदेखि बलियो बनाउन आवश्यक रहेको औँल्याउँदै उनले उत्पीडित वर्ग र पिछडिएको क्षेत्रको अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँ गाउँ पुगेर सङ्गठन निर्माणमा लाग्न निर्देशन दिए ।
कर्णाली प्रदेश इन्चार्ज बलवीर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाका हिसाबले अग्रणी रहेको चर्चा गर्दै पार्टीका नीति र एजेन्डाहरूलाई जनताको माझमा लैजान ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता बढाएर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने विचार व्यक्त गरिन् ।
त्यस्तै, केन्द्रीय सदस्य लिला सिजापतीले सङ्गठनलाई जीवन्त राख्न तल्लो तहका कार्यकर्ता र जनतासँगको संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।
जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रदेशका विभिन्न जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूले स्थानीय स्तरको साङ्गठनिक अवस्था, चुनौती र आगामी रणनीतिबारे सुझाव दिएका थिए ।
प्रतिक्रिया 4