२८ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा आउने भएपछि चीनमा रहेको नेपाली दूतावासले तयारी सुरू गरेको छ ।
मन्त्री खनाल जेठ ३१ गते बिहान चीन आइपुग्ने कार्यतालिका छ । यद्यपि परराष्ट्रमन्त्रालयले उनको चीन भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा भने गरिसकेको छैन ।
चीनस्थित नेपाली दूतावासले जेठ ३१ गते साँझ ५ गते बेइजिङमा रहेका नेपालीहरूसँग परराष्ट्रमन्त्री खनालको अन्तर्क्रिया कार्यक्रम राखेको छ । यसका लागि दूतावासले चीनमा रहेका नेपालीहरूलाई निम्तो पठाइसकेको छ ।
यस्तै असार १ गते बिहान चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम छ । उक्त छलफलमा नेपाल चीनबीच शिक्षा, विज्ञान र प्रबिधिमा चीन र नेपालबीच हुन सक्ने सहकार्यका बारेमा छलफल हुँदैछ । असार १ गते दिउँसो र २ गते भने परराष्ट्रमन्त्री खनालले राजनीतिक भेटघाट गर्नेछन् ।
त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ । अरू भेटघाटहरूको पनि तयारी भए पनि टुंगो भने लागिसकेको छैन ।
यस्तै असार २ गते साँझ हुने लगानी सम्मेलनमा पनि परराष्ट्रमन्त्री खनाल हुनेछन् । उक्त कार्यक्रममा नेपालमा चीनले गर्न सक्ने लगानी र लगानीका क्षेत्रबारे छलफल हुनेछ ।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको समस्याका बारेमा समकक्षी वाङ यीसँग कुरा उठाउने तयारी गरेका छन् । यसबारेमा नेपालले यसअघी नै भारत र चीनलाई कुटनीतिक नोट पठाइसकेको छ । भारतबाट त्यसको जवाफ पनि प्राप्त भएको छ ।
भेटका क्रममा चिनियाँ पक्षले बिआरआई अन्तर्गतका परियोजनामा नेपाल सरकारको धारणा बुझ्ने तयारी गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०८१ मंसिरमा चीन आएका बेला बिआरआई परियोजनाको फ्रेमवर्कमा सम्झौता भएको थियो । त्यसक्रममा टोखा-छहरे सुरूङमार्ग, हिल्सा-सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरूङ-काठमाडौं ट्रान्सबोर्डर रेल्वे, जिलोङ-केरूङ-चिलिमे २२० केभी ट्रान्सबोर्डर ट्रान्समिसन लाइन,मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम, झापाको दमकमा रहेको चीन-नेपाल औद्योगिक मित्रपार्क, दमकमै बन्ने झापा स्पोर्ट्स एकेडेमी र डडेल्धुराको अमरगढी सिटीहलको काम अघि बढाउने सहमति भएको थियो ।
फ्रेमवर्कमा सहमति भए पनि काम भने अघि नबढिसकेको सन्दर्भमा त्यसबारेमा पनि छलफल हुनेछ । नेपाल सरकारले सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्छ कि बाहिर हल्ला गरिएजस्तो पश्चिमा पक्षधरता देखाउँछ भन्नेमा चिनियाँ पक्षको विशेष चासो छ ।
भेटघाटमा क्रममा नेपाल प्रति चीनले देखाइरहेको शंसयको बारेमा पनि छलफल हुने तयारी छ । सरकारले नीति तथा कार्यक्रममा नेपाललाई बफर जोन भन्दा पनि भाइब्रेन्ट पुलका रूपमा विकास गर्ने घोषणा गरेको थियो । परराष्ट्रमन्त्री खनालले पनि बारम्बार सन्तुलित परराष्ट्र नीतिका बारेमा अभिव्यक्ति दिँदै आएका छन् ।
परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए । बेइजिङ भ्रमण सकेर उनी असार ३ गते साँझ नेपाल फर्किनेछन् ।
प्रतिक्रिया 4