News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकप फुटबल नि:शुल्क हेर्ने बहानामा जथाभावी लिंक क्लिक गर्दा १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ ठगी भएको उजुरी परेको छ ।
- नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ठगीबाट बच्नका लागि विश्वकप हेर्ने भन्दै प्राप्त हुने अनधिकृत लिंकहरू क्लिक नगर्न अनुरोध गरेको छ ।
- नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप २०२६ को खेल अनधिकृत रूपमा लाइभ गर्ने तीन दर्जनभन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गराउने प्रक्रिया शुरू गरेको छ ।
२८ जेठ, काठमाडौं । विहीबार मध्यरातबाट सुरु हुन लागेको विश्वकप फुटबल नि:शुल्क हेर्ने उपाय खोज्दा उपभोक्ताहरु ठगीमा परेका छन् । यही बेला सरकारले विश्वकप फुटबल देखाउने भनिएका अनधिकृत वेबसाइट र एपहरु बन्द गर्ने तयारी गरेको छ ।
विश्वकप निशुल्क हेर्न भन्दै विभिन्न लिंकहरु पठाउने र त्यहाँबाट ठगी गर्ने धन्दा सुरु भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बताएको छ । साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दिलिप गिरीका अनुसार विश्वकप नि:शुल्क हेर्न मिल्ने भन्दै देखिएका लिंकमा क्लिक गर्दा ठगिएको भन्दै ७७ वटा उजुरी ब्यूरोमा आएको छ । उनका अनुसार उजुरीमा १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको ठगी भएको उल्लेख छ ।
यसरी नि:शुल्क विश्वकप हेर्न भन्दै लिंक पठाएर ठगी गर्ने क्रम सुरु भएपछि जथाभावी लिंक क्लिक नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ । ‘विश्वकप नि:शुल्क हेर्ने नाममा मान्छेहरु लाखौं पाइएको छ । जथाभावी लिंक क्लीक नगर्न हामीले अनुरोध गरेका छौं,’ एसपी गिरीले अनलाइनखबरसँग भने ।
अनधिकृत एप र वेबसाइट बन्द गराउने तयारी
यसैबीच फिफा विश्वकप २०२६ को खेल अनधिकृत रूपमा लाइभ प्रसारण गर्न सक्ने सम्भावित वेबसाइट र मोबाइल एपमा सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको विशेष अधिकार पाएको ‘एस प्रो मिडिया प्रालि’को अनुरोधको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत वेबसाइट र एप बन्द गराउन लागेको हो ।
प्रालिका अध्यक्ष सोम धितालले सञ्चार मन्त्रालयलाई पत्र लेखेर त्यस्ता एप र वेबसाइट बन्द गराउन भनेका थिए । त्यसमा आवश्यक कारबाहीका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको थियो ।
प्राधिकरणका एक अधिकारीले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने अनधिकृत तीन दर्जन बढी प्लेटफर्मलाई बन्द गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया 4