News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि बिहीबारदेखि ७ लाख ५ हजार ५ सय कित्ता प्राथमिक सेयर निष्कासन गरेको छ ।
- यस आईपीओमा आगामी असार २ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
- केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको सो कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ रहेको छ ।
२८ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि आम सर्वसाधारणका लागि खुलेको छ ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ५ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि आजदेखि खुलेको हो ।
यस आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ । न्युनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर तथा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिनेछ ।
कस्तो छ कम्पनी ?
कैलालीको अत्तरियामा कम्पनीको रजिस्टार कार्यालय रहेको छ । कम्पनीले सर्वोत्तम पेन्ट्स ब्रान्डमा विभिन्न रङ उत्पादन तथा बिक्री गर्दछ । संकलित पूँजीबाट क्षमता विस्तार गरिने कम्पनीले जनाएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ ।
साधारण लगानी फिर्ता हुने अवधि ६.६० वर्ष रहेको छ । त्यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ । कम्पनीले केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । जुन रेटिङले दायित्व वहनमा कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ ।
प्रतिक्रिया 4