News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मिरुना मगरले वरिष्ठ अभिनेत्री निरुता सिंहसँगको बाल्यकाल र हालैको भेटको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
- मिरुनाले आफू निरुताका चलचित्र हेर्दै र गीतमा नाच्दै हुर्किएको उल्लेख गर्दै यो भेटलाई आफ्नो जीवनको अविस्मरणीय क्षण भनेकी छन् ।
- उनले निरुता सिंहलाई सौम्यता, विनम्रता र प्रेरणाको प्रतिमूर्तिका रूपमा चित्रण गर्दै सम्मान प्रकट गरेकी छन् ।
काठमाडौं । अभिनेत्री मिरुना मगरले वरिष्ठ अभिनेत्री निरुता सिंहसँगको आफ्नो विशेष भेटको अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् । उनले बाल्यकालमा निरुतासँग खिचिएको तस्बिर र हालै पुनः भेट हुँदा खिचिएको अर्को फोटो सार्वजनिक गर्दै उक्त क्षणलाई आफ्नो जीवनको अविस्मरणीय अनुभव भएको बताएकी छन् ।
व्यस्त र रुचाइएकी अभिनेत्रीमध्ये एक मानिएकी मिरुनाले आफू सानैदेखि निरुताका फिल्म हेर्दै र उनका गीतमा नाच्दै हुर्किएको उल्लेख गरेकी छन् । अभिनेत्री बन्ने कल्पना समेत नगरेको समयमा निरुतासँग भेट भएको स्मरण गर्दै उनले वर्षौंपछि पुनः भेट्दा झन् बढी सम्मान र प्रेरणा प्राप्त गरेको बताएकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘यो साँच्चिकै जीवनको एउटा विशेष र पूर्ण चक्र पूरा भएको क्षण हो । म सानी हुँदा निरुता सिंह म्यामसँग भेट भएको थियो, त्यो समय मैले अभिनेत्री बन्ने कल्पना समेत गरेकी थिइनँ । उहाँका फिल्म हेर्दै र गीतमा नाच्दै हुर्किएकी थिएँ । उहाँ त्यतिबेला पनि मेरो प्रेरणा हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ ।’
मिरुनाले निरुतालाई केवल सफल कलाकार मात्र नभई सौम्यता, विनम्रता र प्रेरणाको प्रतिमूर्तिका रूपमा वर्णन गरेकी छन् । ‘उहाँ प्रतिभा, सौन्दर्य, दयालुपन र गरिमाको अनुपम संगम हुनुहुन्छ । मैले सम्झिएजस्तै आज पनि उहाँ उत्तिकै आत्मीय र सुन्दर हुनुहुन्छ, अझ प्रेरणादायी,’ उनले लेखेकी छन् ।
पोस्टको अन्त्यमा निरुता अभिनित चर्चित फिल्म ‘जिन्दगानी दर्पणछायाँ’लाई सम्झिँदै मिरुनाले ‘जन्दगानी दर्पणछायाँ’ लेखेकी छन् ।
प्रतिक्रिया 4