News Summary
Generated by OK AI. Editorially reviewed.- घाममा लामो समय बसेर अचानक उठ्दा रक्तचाप घटेर चक्कर लाग्ने अवस्थालाई ‘अर्थोस्टाटिक हाइपोटेन्सन’ भनिन्छ ।
- गर्मीमा शरीरबाट पसिना बग्दा र निर्जलीकरण हुँदा मस्तिष्कमा रगतको आपूर्ति कम भई मानिसको शारीरिक सन्तुलन गुम्न सक्छ ।
- यस्तो समस्याबाट बच्न पर्याप्त पानी पिउन, धेरै गर्मीमा नबस्न र बसेको अवस्थाबाट बिस्तारै उठ्न आवश्यक हुन्छ ।
घाममा लामो समय बसेपछि अचानक उठ्दा चक्कर लाग्ने, आँखा अध्याँरो हुने, शरीर डग्मगाउने वा केही क्षणका लागि सन्तुलन गुमेजस्तो अनुभव धेरैले गरेका हुन्छन् ।
कतिपयले यसलाई सामान्य कमजोरी वा घामको असर ठान्छन् । तर वास्तवमा यो शरीरभित्र हुने रक्तसञ्चार र रक्तचापको अस्थायी परिवर्तनसँग सम्बन्धित अवस्था हो । घाम चर्को हुनु, पसिना आउनु र पानीको कमीले यो समस्या अझ बढाउन सक्छ ।
यस्तो किन हुन्छ ?
हामी लामो समयसम्म बसेको वा सुतेको अवस्थामा हुँदा शरीरको रक्तसञ्चार त्यही अवस्थाअनुसार सन्तुलित भएको हुन्छ । तर अचानक उठ्नेबित्तिकै गुरुत्वाकर्षणका कारण रगतको केही भाग खुट्टा र शरीरको तल्लो भागतिर जम्मा हुन थाल्छ ।
यसले केही क्षणका लागि मस्तिष्कमा पुग्ने रगतको मात्रा घटाउन सक्छ । मस्तिष्कलाई निरन्तर अक्सिजनयुक्त रगत आवश्यक पर्ने भएकाले रगतको आपूर्ति घट्दा चक्कर लाग्ने, आँखा धमिलो हुने वा टाउको हलुका भएजस्तो महसुस हुन सक्छ ।
अधिकांश अवस्थामा यो समस्या अस्थायी हुन्छ, तर बारम्बार दोहोरिएमा यसलाई ‘अर्थोस्टाटिक हाइपोटेन्सन’ सँग पनि जोडेर हेरिन्छ ।
‘अर्थोस्टाटिक हाइपोटेन्सन’ के हो ?.
अर्थोस्टाटिक हाइपोटेन्सन भनेको अचानक बसेको वा सुतेको अवस्थाबाट उठ्दा रक्तचाप अस्थायी रूपमा घट्ने अवस्था हो । सामान्य अवस्थामा शरीरले रक्तचापलाई तुरुन्तै सन्तुलित बनाउँछ । रक्तनलीहरू खुम्चिन्छन्, मुटुको धड्कन अलि बढ्छ र मस्तिष्कमा पर्याप्त रगत पठाइन्छ । तर कहिलेकाहीँ यो प्रक्रिया पर्याप्त छिटो हुन सक्दैन ।
त्यसबेला मस्तिष्कमा पुग्ने रगत केही समयका लागि कम हुन्छ र चक्कर लाग्ने, आँखा अध्याँरो हुने वा असन्तुलित हुने हुन्छ । त्यसैले, घाममा बस्दा पनि यो समस्या बढ्न सक्छ ।
घाममा बस्दा समस्या किन बढ्छ ?
घाम र गर्मीका कारण शरीरको तापक्रम बढ्न थाल्छ । तापक्रम नियन्त्रण गर्न शरीरले छालाका रक्तनलीहरू फराकिला बनाउँछ र पसिना निकाल्छ। रक्तनली फराकिला हुँदा रक्तचाप केही घट्न सक्छ । त्यसैगरी, धेरै पसिना आएपछि शरीरबाट पानी र नुन बाहिरिन्छ । यदि पर्याप्त पानी पिइएको छैन भने शरीरमा पानीको कमी अर्थात् निर्जलीकरण हुन सक्छ, जसले चक्कर लाग्ने सम्भावना अझ बढाउँछ ।
निर्जलीकरणले कसरी असर गर्छ ?
शरीरमा पानीको कमी हुँदा रगतको मात्रा पनि घट्न थाल्छ । रगतको मात्रा कम भएपछि मुटुले मस्तिष्कसम्म पर्याप्त रगत पुर्याउन बढी मेहनत गर्नुपर्छ ।
यस्तो अवस्थामा अचानक उठ्दा शरीरले रक्तचापलाई छिट्टै सन्तुलित गर्न नसक्दा मस्तिष्कमा केही क्षणका लागि कम रगत पुग्छ र चक्कर लाग्छ ।
गर्मीमा देखिने अन्य लक्षणहरू
घाममा धेरै समय बसेपछि चक्कर मात्र होइन, अन्य लक्षणहरू पनि देखिन सक्छन्, जस्तै, अत्यधिक कमजोरी, टाउको दुख्नु, वाकवाकी लाग्नु, आँखा धमिलो हुनु, अत्यधिक थकान, शरीर सुस्त हुनु ।
यी सबै लक्षण शरीरमा ताप र पानीको असन्तुलनसँग सम्बन्धित हुन सक्छन् ।
कसलाई बढी जोखिम ?
वृद्ध व्यक्तिहरूमा रक्तचाप नियन्त्रण गर्ने स्नायु प्रणाली कम प्रभावकारी हुन सक्छ । त्यसैले उनीहरूलाई अचानक उठ्दा चक्कर लाग्ने समस्या बढी देखिन्छ ।
तर यो समस्या वृद्धहरूमा मात्र सीमित छैन । युवा तथा स्वस्थ व्यक्तिहरूमा पनि अत्यधिक गर्मी, पानीको कमी, लामो समय भोकै बस्नु, पर्याप्त निद्रा नहुनु, अत्यधिक शारीरिक थकानले हुनसक्छ ।
भोक र कम ग्लुकोजको असर पनि एक कारक
लामो समयसम्म खाना नखाँदा रगतमा ग्लुकोजको मात्रा घट्न सक्छ । मस्तिष्कले मुख्य ऊर्जा ग्लुकोजबाट प्राप्त गर्ने भएकाले यसको कमी हुँदा कमजोरी, थकान र चक्कर लाग्न सक्छ । यदि व्यक्ति घाममा पनि बसेको छ भने यस्तो समस्या झन् बढी महसुस हुन सक्छ ।
औषधिको असर पनि हुन सक्छ
केही औषधिहरूले रक्तचाप घटाउन सक्छन् । विशेष गरी उच्च रक्तचाप, मुटु रोग वा केही मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि प्रयोग गरिने औषधिले अचानक उठ्दा चक्कर लाग्ने सम्भावना बढाउन सक्छन् ।
कहिले चिकित्सकलाई देखाउनुपर्छ ?
सामान्य चक्कर केही सेकेन्डमै हट्छ र व्यक्ति फेरि सामान्य अवस्थामा फर्कन्छ । तर बारम्बार चक्कर लाग्नु, बेहोस हुनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, शरीरको कुनै भाग कमजोर हुनु, बोल्न कठिन हुनु र यस्ता लक्षणले अन्य गम्भीर स्वास्थ्य समस्याको संकेत गर्न सक्छन् ।
चक्करबाट कसरी बच्ने ?
– दिनभर पर्याप्त पानी पिउने
– अत्यधिक गर्मीमा लामो समय नबस्ने
– नियमित रूपमा खाना खाने
– लामो समय बसेपछि बिस्तारै उठ्ने
– उठ्नुअघि केही सेकेन्ड खुट्टा चलाउने
बाहिरी काम वा खेलकुद गर्दा इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ सेवन गर्ने र पर्याप्त आराम र निद्रा लिने गर्दा यो समस्याबाट बच्न सकिन्छ ।
प्रतिक्रिया 4