News Summary
Generated by OK AI. Editorially reviewed.- गायक विपुल क्षेत्रीले मनको आन्तरिक संघर्ष, चिन्ता र एक्लोपन जस्ता भावना समेटिएको नयाँ गीत \'भावना\' सार्वजनिक गरेका छन् ।
- गायक प्रमोद खरेल र गायिका श्रृष्ठि बुढाको स्वरमा कर्णालीको मौलिकता र संस्कृति झल्काउने नयाँ गीत \'सलसल कर्णाली\' सार्वजनिक भएको छ ।
भावना : विपुल क्षेत्री
विपुल क्षेत्रीलाई उनका श्रोताहरूले शब्द, गायकी, व्यक्तिव, कला आदि फरक-फरक आधारमा आफूअनुकुल लिने गर्छन् । एउटा कुरा स्पष्ट छ– उनको सरलता उनका संगीतमा झल्किन्छ । यो भनिरहँदा सामान्य अर्थमा सामान्यीकरण गर्नु भने व्यर्थ हुन जान्छ । त्यसको पछिल्लो ज्लवन्त उदाहरण ‘भावना’ हो । मनको आन्तरिक संघर्ष, चिन्ता, एक्लोपन जस्ता भावनाहरूलाई टपक्कै टिपेर बनाइएको यो गीतमा आफूलाई निको हुन ठाउँ दिनुको महत्वलाई जोड दिएको छ ।
छरिएछ यो सोचहरू
सल्किएछ यो आत्मा
जलेछ यो छाती मेरो
फैलिएछ यो बेदना
रातभरि जागी बसेछु म
यहाँ आज….
मायाको आगो : रकहेड्स
पछिल्लो समयमा अत्यन्त राम्रो गर्दै गइरहेको ब्यान्ड हो, रकहेड्स । गीत/भिडियो/कन्सर्ट – सबैमा अबब्ल ठहरिँदै आइरहेको यो ब्यान्ड । रङ, हजार जन्म, भावना आदिबाट यो ब्यान्डले फ्यान बेस पनि राम्रै कमाएको छ । यस पटक ब्यान्ड उस्तै शक्तिशाली गीत लिएर आएको छ । रक विधाको यो गीतको कम्पोजिसन बहुत सुन्दर सुनिएको छ । गीतले एउटा कथा वाचन गर्छ । जुन कुरा अझ बढी म्युजिक भिडियोबाट बुझ्न सकिन्छ । गीतको मात्र कुरा गर्दा केही कारणवस सम्बन्ध छुटेपछिको आर्तनाद गीतमा गाइएको छ ।
थाम्नै नसक्ने हात बरू अरूले लैजाओस्
भुल्नै नसक्ने यादहरू कसरी मेटाउँ खै
मायाको आगोले पोल्छ रे है
आगोको पोलाइ के थाहा माया तिमीलाई
मनको बाघले खान्छ रे है
नलागेको घाउ नि दुख्छ रे है…
वियोग : अङ्किता पुन
मनको नजिक, भावना बढी भएको, मर्मस्पर्शी गीतहरू गाउँदै आइरहेकी अङ्किता पुनको चिनारी शब्द लेखन पनि हो । उनी उही प्रेमलाई कति फरक नजरले हेरेर गाउँछिन् । ठीक त्यस्तै भाव सहितको उनले नयाँ गीत – वियोग – लिएर आएकी छिन् ।
यो गीतमा उनको सुन्दर कम्पोजिनको मजा लिन सकिन्छ । गीत अलि बढी दु: खान्त सुनिन सक्छ । तर वियोग, सम्झना र निस्वार्थ मायाको भावले भरिपूर्ण यो गीतमा पुराना सम्झनाहरूको जीवन्तता सुन्न सकिन्छ । भाव धेरैको भएको, इन्डी शैलीको कम्पोजिसन मन गर्छ भने यो गीत तपाईंको नयाँ प्ले लिस्ट हुन सक्छ ।
वियोगमा छौ के तिमी अझै सम्झी मलाई ?
भुलेको छैनौ होला, नभुल्नु पनि कहिले, हो ! कहिले,
आएँ धेरै पर-पर तर सधैँ नजिक छु तिम्रै वर,
सुनेथें बैँसको नेटो काटी रमाउँदैछौ आफ्नै संसारमा…
फिल्म : रचना दाहाल
फरक शैलीको शब्दसंरचना, अनौठो शैलीको कम्पोजिन र हाई पिचका कारण रचना दाहाल चिनिएकी छिन् । भूमरी, दागबत्ति, सपनाको राजा आदि गीतमार्फत उनले यो कुरा प्रमाणित गरिसकेकी छिन् । यस पटक उनी उस्तै दमदार गीत सहित आएकी छिन् । यो गीतमा रचनाको सिङ्नेचर शैली सब छ । यद्यपि यो गीतका केही अंशहरू पहिल्यै पनि सामाजिक सञ्जालमा आइसेका थिए ।
यो कम्लिप्ट गीतमा साउन्ड इफेक्टर, सिन्थेजाइर आदि सुन्न सकिन्छ । गीत बढी कन्फेन्सल शैलीको छ । यदि यो प्रकारको विधा तपाईंलाई मन पर्छ भने यो तपाईंको प्लेलिस्टमा थपिन सक्ने गीत हो । गीतको म्युजिक भिडियोमा पनि खेल्न खोजिएको छ ।
आई मेरा हात समाई, सुरिला गीत गाई
तिमी नै मेरो फिल्मको मुख्य पात्र
खुसी सारा फैलाई, अनौठो हक जमाई
म नै तिम्रो फिल्मको मुख्य पात्र
एक, दस, सय, हजार चोटी हेर्यौ फिल्म दुवै आँखा छोपी
धनको सोखिन पाएँ आँसुका मोती
तिम्रो समय, मेरो जोवन खेर भो कि ?…
सलसल कर्णाली : प्रमोद खरेल
आधुनिक शैलीको गीतका कारण प्रमोद खरेल चर्चामा छन् । तर, उनको क्षेत्रगत र विषयवस्तुमा केन्द्रित गीत पनि छन् । यस पटक उनले कर्णालीलाई प्रतिनिधित्व गर्ने गरी ‘सलसल कर्णाली’ लिएर आएका छन् । रक र स्थानीय भाका ब्लेन्ड गरेर बनाइएको यो गीतमा कर्णालीलाई देखाउन गीतको शब्दमा काम गरिएको छ ।
प्रमोदले पनि स्थानीयकरण गरेर आफ्नो स्वर रेकर्ड गराएका छन् । सुरज थापाको शब्द र संगीत रहेको यो गीतमा प्रमोदसँगै श्रृष्ठि बुढाको पनि स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा अझ बढी कर्णालीलाई देखाइएको छ । गीतले नेप्थ्यको सा कर्णालीको पनि झिल्को दिन्छ ।
डाँफे चरी वनमा सुहा डाँफे चरी वनमा
के छ तम्रो मनमा सुहा के छ तम्रो मनमा
मुगु रारा तालमा सुहा मुगु रारा तालमा
पार्यौ माया जालमा सुहा पार्यौ माया जालमा…
पराजित : दी ड्रिमर्ज
रक विधामा आधारित रहेर संगीतमा लागिरहेको यो ब्यान्डले लामो समय आफ्नो ओरिजिनल गीत निकालेको थिएन । कभर तथा रेन्डिसनमा उत्कृष्ट गरिरहेको यो ब्यान्ड यस पटक नयाँ गीतसहित आएको छ । आफ्नो शक्तिशाली आवाजलाई ब्यान्डका भोकलिस्ट स्मृति राईले प्रमाणित गर्दै आइरहेकी हुन् । तर, यो गीतमा राई धेरै ठाउँ सफ्ट सुनिएकी छिन् । यद्यपि ब्यान्डको चिनारी गीतमा प्रष्ट सुन्न सकिन्छ । विशेष गरी अन्तिम भाग अनपेक्षित छ ।
भावको कुरा गर्दा यो एकतर्फी प्रेम र आत्मसमर्पणको भावनामा आधारित गीत हो । प्रेमीले आफूलाई पूर्ण रूपमा अर्कोलाई समर्पित गरेको छ । ऊ आफूलाई समुद्रको किनार जस्तो ठान्छ । जबकि प्रेयसी समुद्र हुन् । उसले भन्छ – तिमीले अरूका लागि कहानी लेख्यौ । सपना देख्यौ । तर म तिम्रो नाममा संसार नै ढाक्न तयार छु । तिमी फरक थियौ, तिम्रो मनको पुकार विचित्र छ। तर म यो भ्रम मा नै हराउन तयार छु ।
पराजितले मलाई अँगाली लानेछन्
नसके हातै समाई डोर्याई मलाई
विचित्र तिम्रो त्यो मनको अनौठो पुकार
देखेको मैले तिमीमा, तिमी नै फरक थियौ
समुन्द्र तिमी म, म तिम्रो किनार
बादललाई छेकेर म तिम्रो संसार…
कुनै दिन : निगम आचार्य
नेपाली संगीतका लागि नयाँ रहेका निगम आचार्यको कुनै दिन इन्डी शैली मन पराउनेका लागि प्ले लिस्ट हुन सक्छ । सरल शब्द र कम्पोजिनमा बनेको यो गीतले शान्तको भाव दिन्छ । तर गीतको गीतको शब्द भावुक, दुःखी छ । यद्यपि शीर्षकझैं आशावादी पनि छ । शब्दहरू काव्यात्मक छन् । विशेष गरी ‘पत्र पत्र भई अर्को चोला’ र ‘चन्द्रमा कुर्दाकुर्दै’ भाग निकै सुन्दर र मार्मिक सुनिन्छ । अर्कोअर्थमा यो यात्रामा निस्कँदा सुन्ने प्ले लिस्टमा पनि थपिन सक्छ।
कुनै दिन चिसो बतास तिमी र म भेटियौं भने
कहीं कतै रिस र राग हाम्रा बीचै मेटिए भने
मेरो हृदयले तिम्रो नाउ पुकारे भने
गार्है पर्ला कि तिम्लाई आफ्नो भनें भने
पत्र पत्र भई हामी टाढिए पनि
अर्को चोला लिने छु म तिम्रै बनी…
भिन्न बाटो : पाइन क्यानोपी
यदि तपाईं हार्ड कोर रक शैली मन पराउनुहुन्छ भने यो तपाईंको प्लेलिस्टमा थपिन सक्छ । यो गीतमा एउटा रक विधामा हुनुपर्ने पूरा भाइब्स छ । गीत अलि मनोवाद शैलीबाट सुरु हुन्छ । सम्भवत: पहिचान, संघर्ष र दुविधाबारे गीत भएकाले पनि त्यसो गर्नु ब्यान्डले स्वभाविक ठानेको हुन सक्छ । काठमाडौंमा आधारित रहेर संगीतकर्म गरिरहेको यो गीतमा गितारका हेभि रिफहरू सुन्न सकिन्छ ।
म हेपिएको नाम हुँ
म बिर्सिएको कहानी हुँ
म कमजोर भनेर छोडिए पनि
म अझै बाँचिरहेको मानव हुँ
म नकारिएको बीउ हुँ
जुन धरतीमा कहिल्यै रोपिएन
म अँगालेको अँध्यारो हुँ
जुन कसैले देख्न चाहेन
कसैले देख्न चाहेन…
यी गीतबाहेक तपाईंले शतिस घलानको मन्त्रमुग्ध (लाइभ भर्सन), नरेन्द्र प्यासीको मनलाई सजाइराखेँ, उजन शाक्यको के थाहा छ, एसडी योगीको माया छ मनमा छ, प्रशान्त पौडेलको सान्नानी २ लगायतका गीत सुन्न सक्नुहुन्छ।
प्रतिक्रिया 4