+
+
Shares
फ्राइडे प्लेलिस्ट :

‘बेलाबेला’देखि ‘सहारा’सम्म, ‘मलाई सोचिरहने’ देखि ‘झ्याल’सम्म

समस्याभन्दा माथि उठेर बृहत् दृष्टिकोणबाट जीवनलाई हेर्न र दुःखमा कोही न कोही ‘सहारा’ हुन्छ भन्ने कुरा यो गीतको शब्दमा पाइन्छ ।

सापेक्ष सापेक्ष
२०८३ जेठ १ गते १२:१०

गीत संगीतको हकमा सीमाना हुन्छ कि हुँदैन ? यो बडो निजात्मक उत्तर आउने प्रश्न हो । सायद हुँदैन भन्ने उदाहरण इन्स्टाग्रामको ट्रेन्डिङ म्युजिक हो । त्यहाँ अधिकांश बलिउड गीतहरू छन् । तर, नेपालमा हरेक दिन कलाकारहरूले नयाँ-नयाँ गीत निकालिरहेका हुन्छन् । नयाँ गीतको हकमा झट्ट श्रोता समात्न गाह्रै हुन्छ । नसा जस्तै बिस्तारै नयाँ गीत लाग्दै जान्छ । सुन्ने होइन त नयाँ गीतहरू, जसले हाम्रा आफ्नै कथा र माटोको सुगन्ध बोकेका छन् ।

सहारा : इलिमेन्ट्स (फिचर अंकित श्रेष्ठ)

इलिमेन्ट्स ब्यान्ड र अङ्कित श्रेष्ठबीचको सहकार्य हो, यो गीत । इलिमेन्ट्स आफ्नो दमदार गीतहरूका कारण चर्चित ब्यान्ड हो भने अंकित इन्डी फोल्क, इन्डी रक, अल्टरनेटिभका लागि युवापुस्तामाँझ चर्चित छन् । उनीहरू यो गीतमार्फत एकै ठाउँमा आएका छन् ।

रक साउन्ड भएको यो गीतमा उनीहरू दुवैको आ-आफ्नो शैली सुन्न सकिन्छ । गीतमा सर्जकहरूले दिन खोजेको शक्ति महसुस हुन्छ । माधुर्यता पनि छ गीतमा । रफ्तार पनि छ । यो गीत एक्लोपन र मानसिक संघर्षमा रहेका व्यक्तिलाई दिइएको एउटा साहनुभूति र आशा जस्तो लाग्छ । गीतको शीर्षकले पनि यो कुरा बोल्छ ।

समस्याभन्दा माथि उठेर बृहत् दृष्टिकोणबाट जीवनलाई हेर्न र दुःखमा कोही न कोही ‘सहारा’ हुन्छ भन्ने कुरा गीतको शब्दमा पाइन्छ । यो सुन्दर सहकार्य बनेको छ ।

घर परिवार, साथीभाइ
कसैले बुझ्दैनन्, बुझ्दैनन् !
मन भारी छ
भरे भोलि भन्दै
टार्या छौ, तर नबिर्स
धेरै बाँकी छ
संसार हेर्न
तिमी एक्लै छौ
म देख्दै छु
समय उधारो लिए छौ
फर्काउने बेला भो

बेला–बेला : सुशान्त केसी

प्रेम कहिल्यै पूर्णहुँदैन । प्रेम सधैं सहज हुँदैन । तर ती स-साना गल्तीहरू, मौनता, आपसी समझदारी, सम्झौता र यात्राका क्रममा हामीले सिक्ने कुराहरूले नै प्रेमलाई वास्तविक बनाउँछन् ।

यही सन्देश बोकेर सुशान्त ‘बेला–बेला’ लिएर आएका छन् । जहाँ उनी भन्छन्, बेला–बेलामा त भूल भइहाल्छ नि ! सुशान्तले आजको दिनसम्ममा धेरै प्रेमिल गीतहरू गाएका छन् । उनले प्रेमको विशेष क्षण, भोगाइ र दृष्टिकोणलाई गीत बनाउँदै आइरहेका छन् । यस पटक उनले बेलाबेला हुने तिनै भूलहरूलाई समेटेका छन् ।

तिम्रै छेउमा न्यायो लागेर
बनाएँ मैले मेरो घर
एकैक्षणमा बितिजाँदैछ यो समय
के साँच्चै बेखबर
कुराकानीमा भुल्ने बानी भाछ
एक्लो हुँदा खल्लो खल्लो केही
तिम्रो बासनाले मेरो घर मगमगाउँछ…

यो पनि पढ्नुहोस्

 

झ्याल : आर्टघर

आर्टघरको प्रोडक्सनमा बनेको झ्यालले हामीलाई विगतमा फर्काउँछ । कोभिड कालको एकान्तको भावनालाई यो गीतले देखाउन खोजेको छ । एउटै विषय ‘झ्याल’लाई फरक-फरक कोणबाट कसरी हेरिएको छ ? त्यहाँ के हुन्छ ? आखिरमा झ्याल के हो ? भन्ने जस्तो दार्शनिक र बहुआयामिक कुरालाई गीतमा देखाउन खोजिएको छ । समीक्षा दाहाल र प्रताप दासको स्वर रहेको यो गीत सुबिन सेन्चुरीले तयार पारेका हुन् । यसअघि यो प्रोडक्सन हाउसले ‘कोठा’ भन्ने गीत तयार पारेको थियो । यसपटक पनि गीतसँगै यसको म्युजिक भिडियो पनि निकै दमदार रहेको छ ।

झ्यालनेर उभिएर
पर्खिरहन्छ उदास मन
पर्खाउनेलाई के थाहा ?
पर्खिनेको एक्लोपन

उदाउँछ मेरो बिहान,
घामको चिसो स्पर्श बोकेर
निदाउँछ मेरो साँझ ,
जूनको तातो, उत्कर्ष बोकेर

स्लिप अन त ग्रास : फोस्फिन्स

अलि पृथक साउन्ड गर्ने ब्यान्ड ‘फोस्फिन्स’ इन्डी जन्‍राका लागि फ्यानहरूमाँझ चर्चित छ । ब्यान्डको पर्फेक्ट गीत नआएको पनि एक वर्ष जति भइसकेको थियो । तर, अब एल्बम नै लञ्च गरेर ब्यान्डले त्यो भोक मेटेको छ । ब्यान्डले ‘स्लिप अन त ग्रास’ नामक एल्बम लञ्च गरेको छ । ब्यान्डका अनुसार यो एल्बममा तीन वर्ष बढी काम भएको छ । यो एल्बममा १४ गीत छन् ।

ती मध्ये धेरै अङ्ग्रेजी टाइटलका छन् । केही मात्र नेपाली टाइटलका छन् । तर, हरेक गीतमा फोस्फिन्सको सिग्नेचर फ्लेवर सुन्न सकिन्छ । इलेक्ट्रोनिक्स साउन्डको भाइब्स निकै गज्जब छन्, एल्बमका सबै गीतहरूमा । सिंगल–सिंगल सुनेर साउन्ड चेन्ज गर्न खोजिरहनु भएको अवस्थामा फोस्फिन्सको यो एल्बम तपाईंका लागि राम्रो विकल्प हुन सक्छ ।

हराउन कि खोज्न : मोनिका थापा

जेनजी आन्दोलनको पृष्ठभूमिमा तयार भएको ‘कलिला छाती’को सर्जक हुन्, मोनिका थापा । उनले नयाँ गीत लिएर आएकी छिन्, हराउन कि खोज्न । मोनिका शब्द र संगीत आफैं गर्छिन् । उनका शब्दहरू निकै बलिया हुन्छन् । यो गीतमा पनि शब्द र संगीत दुवै अब्बल छ । शीर्षकझैं गीत संशय, अन्योल र दोधारको छ । बारम्बार उही प्रश्नमा रुमलिरहँदा त्यहाँ अपेक्षा पनि छ । दार्शनिक र अस्तित्ववादी प्रश्नहरू छन् । भनौं, यो गीतले आधुनिक जीवनको भागदौडमा हराइरहेको एउटा मान्छेको मनको आवाज बोल्छ।

किन ? कहाँ छु ? यही प्रश्न माँझमा
आकाश कि समुद्रमा
बिहानी कि साँझमा
छु यहीं कि सोचमा हराउँदै छु कुन खोजमा
छु यहाँ के सोच्न हराउन कि खोज्न….

हजारौं पाइला : सबिन बस्नेत

नेपाली संगीत क्षेत्रमा सबिन नयाँ हुन् । उनी यो क्षेत्रमा ‘हजारौं पाइला’मार्फत आएका छन् । उनको यो गीत प्रेमको हो । एउटा प्रेमीको मनोभाव यो गीतमा पाइन्छ । प्रेमका लागि आफूले जे पनि गर्न सक्ने भन्ने भाव यो गीतमा छ । अर्थात् प्रेमका लागि हजारौं पाइला पनि हिँड्न सक्ने भन्ने कुरा गीतको मुख्य कुरो हो । तर, अहिले आइरहेका धेरै इन्डिरक जस्तै छ यो गीत । सिन्थेसाइजरको प्रयोग अधिक भएको कि लाग्छ ।

बिर्से झैं, नगर
कोरेछु तिम्रो चित्र
मनका कुनामा
सम्हाल हाम्रा भावना

तिमी हिँड्न सक्दैनौ भने
हजारौं पाइला चालिदिन्छु
तिमी चढ्न सक्दैनौ भने
तिम्रै साहारा हात दिन्छु

नाम : डिमित्री

नेपालमा र्‍याप सिन थाहा नपाउँदो गरी फैलिएको छ । तर, त्यहाँ पुरुष कलाकार हाबी छन् । यो परिदृश्यमा डिमित्री फरक पहिचानसहित उभिएकी छिन् । उनले यो गीत ‘शक्ति’ फिल्मका लागि गाएकी थिइन् । यस हप्ता उनले यो गीत रिलिज गरेकी छिन् ।

आफ्नो छोरीलाई भष्ट्र सामाजिक संरचनाबाट बचाउने प्रयास गरिएको कथा फिल्मको मूख्य विषयवस्तु हो । त्यो भाव यो गीतमा पनि सुन्न सकिन्छ । गीतमा रिदम र र्‍याप दुवै प्रयोग गरिएको छ । गीतमा पृतिसत्तामक समाजलाई प्रश्न गरिएको छ । जुन कुरुप सामाजिक संरचना छ, त्यो विरुद्धको विद्रोह यहाँ गाइएको छ ।

हराएको यात्री हुँ म
मेरो घर ठेगाना छैन
जिन्दगीको मोह हराएर
जिउँदो लास भएँ म….

मलाई सोचिरहने : शुभम गुरुङ

नेपाली लोक गीतको ठूलो नाम हो, खेमराज गुरुङ । वारी जमुना पारी जमुना, आलु तामा, मेरो ढंगै पुगेन जस्ता दर्जनौं लोक गीत उनले दिएका छन् । तर, आज उनी हामीबीच छैनन् । उनको सम्झनामा छोरा सुभम गुरुङले ‘मलाई सोचिरहने’ गीत निकालेका छन् । यो गीतका शब्द र कम्पोजिसन खेमराज गुरुङको हो । त्यसमा केही नयाँपन लिएर सुभमले निकालेका हुन् । यो गीत सफ्ट छ । नोस्टाल्जिक बनाउँछ ।

माया मलाई मारेर
एक्लो बनाइ गयौ
किन मलाई मायालु….

हालबेहाल पारेर
बेहोसीमै छोड्यौ
किन मलाई मायालु…

यी बाहेक मितेश ताम्राकारको माया हो मतिना, लोमस गुरुङको जुनकिरी, चन्द्र ज्यापल राईको बाबियो दोरी, प्रजिना गुरुङको सुनिदेउन लगायतका गीतहरू तपाईंले सुन्न सक्नुहुन्छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?