News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ घोषणा गरेको सन्दर्भमा होटल एसोसिएसन नेपालले तारे होटलहरूमा आरोग्य खाना अभियान सरु गरेको छ ।
- आरोग्य पर्यटनका लागि आउने पर्यटक आकर्षित गर्न तारे होटलका मेनुमा पौष्टिक र मौलिक आरोग्य खाना समावेश गर्ने अभियानको लक्ष्य छ ।
- हानले आरोग्य खाना प्रवर्द्धनका लागि तालिम र सहकार्यलाई निरन्तरता दिँदै नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य पर्यटन गन्तव्य बनाउन विज्ञ कार्यदल गठन गरेको छ ।
२९ जेठ, काठमाडौं । तारे होटलहरूमा आरोग्य पर्यटन प्रवर्द्धन तथा ‘आरोग्य खाना अभियान’ संस्थागत गर्ने उद्देश्यले अभियान थालिएको छ ।
राष्ट्रिय पर्यटन रणनीति २०२६–२०३५ तथा कार्ययोजना २०२६–२०३० स्वीकृत भई नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ घोषणा गरेको छ । सोही सन्दर्भमा होटल एसोसिएसन नेपाल (हान) ले नेपाल इन बिजनेससँगको सहकार्यमा तारे होटलहरूमा आरोग्य पर्यटन प्रवर्द्धन तथा आरोग्य खाना अभियान संस्थागत गर्ने उद्देश्यले नेपाल आरोग्य खाना अभिमुखीकरण तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपालमा आरोग्य पर्यटन सम्भावना अत्यन्त व्यापक रहेको उल्लेख गरे । उनले तारे होटलहरूले यस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले आरोग्य पर्यटनका लागि आउने पर्यटकको आवश्यकता सम्बोधन गर्न होटलहरूको मेनुमा आरोग्य खाना समावेश गर्नु समयको आवश्यकता भएको धारणा राखे ।
अध्यक्ष शाहले तारे होटलहरूमा कार्यरत सेफहरूलाई आरोग्य खानाको महत्त्व, तयारी प्रक्रिया, पोषणपक्ष तथा होटलको नियमित मेनुमा यसको समावेशीकरण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रमले आरोग्य पर्यटन प्रवर्द्धन अभियान थप प्रभावकारी बनाउन प्रेरणादायी तथा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हानले लिएको उनको भनाइ छ ।
उनका अनुसार आहार र विहारमा आधारित भई समय, ऋतु, नेपाली संस्कृति, जीवनशैली तथा पौष्टिकतत्त्व विश्लेषण गरी आयुर्वेद र आधुनिक शरीर विज्ञानको समन्वयमा आगामी दिनहरूमा थप परिस्कृत, विशिष्टिकृत तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी आरोग्य खाना विकास र विस्तार गरिने लक्ष्य लिइएको छ ।
यसबाट आरोग्य पर्यटनका लागि नेपाल आउने पर्यटक संख्या, बसाइ अवधि तथा खर्चमा गुणात्मक वृद्धि भई समग्र पर्यटन उद्योगलाई सकारात्मक योगदान पुग्ने अपेक्षा छ ।
कार्यक्रममा नेपाल पर्यटन, होटल तथा पर्वतारोहण प्रतिष्ठानका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले आरोग्य पर्यटन विकासका लागि दक्ष जनशक्ति, अनुसन्धान र नवप्रवर्तनको आवश्यकता औँल्याउँदै होटल उद्योगले यस क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नेपाल सरकारले आरोग्य पर्यटनलाई पर्यटन विकासको प्राथमिक क्षेत्रका रूपमा अघि बढाएको उल्लेख गर्दै सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यले यस अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा जीवन विज्ञानका गुरु एलपी भानु शर्माले मानव स्वास्थ्य, जीवनशैली र भोजनबीचको सम्बन्धबारे प्रकाश पार्दै आरोग्य खानाले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनले नेपालको मौलिक खाद्य संस्कृति र आयुर्वेदिक ज्ञानलाई आधुनिक पर्यटनसँग जोडेर विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए ।
कार्यक्रमलाई थप प्रभावकारी तथा अनुभवमूलक बनाउने उद्देश्यले अभिमुखीकरण कार्यशालापछि सहभागी सेफहरू तथा प्रशिक्षकहरूद्वारा तयार गरिएका विभिन्न आरोग्य खानाका परिकार प्रदर्शनी गरिएको थियो ।
हानलेले आगामी दिनमा आरोग्य पर्यटन तथा आरोग्य खाना प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम, तालिम, अनुसन्धान तथा सहकार्यलाई निरन्तरता दिँदै नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै एक विज्ञ कार्यदल पनि गठन गरेको छ ।
प्रतिक्रिया 4