News Summary
Generated by OK AI. Editorially reviewed.- इटालीको लोनाटो डेल गार्दमा नेपाली फोटोग्राफर किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीको तस्बिर प्रदर्शनी सुरु भएको छ।
३१ जेठ, काठमाडौं । इटालीको लोनाटो डेल गार्दमा ‘नेपाल टुडे : इन द फरेस्ट, इन द भिलेज’ शीर्षकको फोटो प्रदर्शनी आयोजना भइरहेको छ । जुन ११ मा प्रदर्शनी सुरु भएको प्रदर्शनी ३० अगस्टसम्म रहनेछ । यसमा तीन नेपाली फोटोग्राफरहरू:- किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीका फोटोहरू राखिएको छ ।
इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा फोटो प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा रहेको किशोर शर्माको फोटो श्रृंखला ‘लिभिङ इन द मिस्ट’ ले घुमन्ते राउटे समुदाय र उनीहरूको जीवनशैलीको बारेमा ६ वर्षको अवधिमा खिचिएका फोटोको दस्तावेजीकरण प्रस्तुत गरेको छ । फोटो पुस्तकको रूपमा पनि प्रकाशित यो श्रृंखलाले ‘आधुनिक’ संसारमा समाहित नहुनका लागि राउटेहरूले गरिरहेको प्रतिरोधको दुर्लभ झलक देखाइएको छ । यसका साथै वैकल्पिक र स्वायत्त जीवन शैलीको सम्भावना पनि प्रतिबिम्बित गर्दछ ।

उमा विष्टको फोटो श्रृंखला ‘वनका हाम्रा गीत’ ले नेपालको अछाम जिल्लाका किशोरीहरूलाई पछ्याउँछ । उनीहरू छाउपडी प्रथाले गर्दा महिनावारीको समयमा गोठमा बस्न बाध्य छन् । यस प्रथालाई २००५ मा गैरकानूनी र २०१८ मा दण्डनीय अपराध भनेर घोषणा गरिए तापनि, बहिष्कार र दैवीय दण्डको डरले यो परम्परा कायमै छ ।

सागर क्षेत्रीको फोटो श्रृंखला ‘एक्लिप्स’ ले नेपालको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेका मधेसका जनताको राज्यसँगको जटिल सम्बन्ध र प्रायः विवादित बनाइने पहिचानको चर्चा गर्दछ ।

प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले हालको पश्चिमा फोटोग्राफीको अवस्था र दक्षिणी गोलार्धमा यसको भूमिका बीचको तीव्र भिन्नताका बारेमा चर्चा गरेका छन् ।
साथै, नेपालको समकालीन फोटो कलाकारहरूको उदीयमान पुस्तामाथि थप प्रकाश पार्दै उनी भन्छन, ‘केवल फोटोग्राफीमा केन्द्रित हुँदै, नेपालले आफूलाई लैंगिक मुद्दा, स्मृति र पहिचान, उत्तर-उपनिवेशिक सम्पदा, राजनीति, समाज, धर्म र संस्कृति जस्ता विषयवस्तुहरूको अन्वेषण गर्ने युवा कलाकारहरूले भरिपूर्ण देशको रूपमा प्रस्तुत गरेको छ ।
समकालीन कलाकारहरूको वर्तमान पुस्ता सम्भवतः नेपालमा अवस्थित पहिलो पुस्ता हो जसले सार्वजनिक र निजी सुविधाहरूको अभावका बाबजुद पनि आफ्नो काममार्फत दृढ कलात्मक पृष्ठभूमि, सक्रिय ऊर्जा, शक्तिशाली सामग्री र निडर अभिव्यक्तिको स्वरूपहरू प्रस्तुत गरेका छन् ।’
प्रदर्शनीको क्याटलग प्रसिद्ध इटालियन प्रकाशन गृह सिल्भाना एडिटोरियलले प्रकाशित गरेको छ । यस परियोजनालाई इटालियन संस्कृति मन्त्रालयको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भएको छ।

प्रतिक्रिया 4