News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।
- उनले देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको भन्दै पार्टीभित्र निरङ्कुशताको सङ्केत देखिएको आरोप लगाएका छन् ।
- पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गगन थापासँग छलफल गरी ल्याएको ५ बुँदे प्रस्ताव कार्यान्वयनमा ढिलासुस्ती भएको उनले बताएका छन् ।
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।
भेलालाई सम्बोधन गर्दै कोइरालाले पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको बताए ।
‘नेपाली कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो,’ कोइरालाले भने, ‘तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ ।’
सभापतिलाई ५ वटा प्रस्ताव
डा. कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव पेस गरेको बताएका छन् ।
सभापति गगन थापासँग छलफल गरी ५ बुँदे प्रस्ताव अघि सारेको बताएका हुन् ।
उनका उक्त प्रस्तावमा नेतृत्व सकारात्मक देखिए पनि कार्यान्वयनमा ढिलासुस्ती भएको छ । भेलालाई उनले प्रस्ताव पढेर सुनाए ।
१. १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने ।
२. १४औं महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यकै आधारमा १५औं महाधिवेशन गर्ने ।
३. १४औं महाधिवेशनको केन्द्रीय समिति, कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने ।
४. कार्य सम्पादन समिति गठन गर्दा सभापतिको बहुमत हुने गरी व्यवस्था गर्ने ।
५. निर्वाचन, क्रियाशील सदस्यता, छानबिन, अनुशासन र विधान लगायतका महत्त्वपूर्ण समितिहरू आपसी सहमति र समझदारीका आधारमा मात्र गठन गर्ने ।
प्रस्ताव पेस गरेको डेढ महिना बिते पनि प्रगति भने नभएको उनको भनाइ छ ।
‘यी प्रस्तावमा सहमति भएको डेढ महिना भइसक्यो, तर आखिर केले रोकिराखेको छ ? उनले भने,‘ किन बारम्बार कुरा फेरिरहनु भएको छ ?’
कोइरालाले कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र अखण्डता समेत कमजोर हुने बताए ।
‘कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न सक्दैन । हामीले सबै शक्तिलाई एकताबद्ध गर्नुपर्छ । सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो,’ उनले भने, ‘ कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर हुन्छ ।’
सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीलाई मजबुत बनाउन तल्लो तहदेखि नै एकताको सन्देश लैजानु पर्ने बताए ।
‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, पार्टी फुट्दैन र म फुट्न दिने पनि छैन । ढुक्क भएर संगठन निर्माणमा लाग्नुहोस्,’ उनले भने ।
प्रतिक्रिया 4