+
+
Shares
सिनेमा :

सेप अफ मोमो : आकारभित्रको स्वतन्त्रता र बन्धनको द्वन्द्व

सेप अफ मोमो साधारण कथामार्फत ठूला प्रश्नहरू उठाउने सिनेमा हो । हामीलाई आफ्नो जीवनको आकारबारे प्रश्न गर्न बाध्य पार्ने सिनेमा हो ।

सापेक्ष सापेक्ष
२०८३ असार १ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिक्किमको पृष्ठभूमिमा भारत र दक्षिण कोरियाको सह-निर्माणमा तयार भएको सेप अफ मोमो निर्देशक त्रिवेणी राईको पहिलो नेपाली कथानक चलचित्र हो ।
  • यस चलचित्रले दिल्लीबाट गाउँ फर्किएकी ३२ वर्षीया युवती विष्णुको संघर्षमार्फत महिलामाथि हुने आन्तरिकीकृत पितृसत्ता र व्यक्तिगत स्वतन्त्रताको द्वन्द्वलाई देखाएको छ ।

भनिन्छ – सिनेमा दृश्य र आवाजको संयोजन हो । दुईमध्ये कुनै एकमा चुक्यो भने कथानक जति बलियो भए पनि सिनेमा कमजोर हुन जान्छ । यो मानेमा त्रिवेणी राई निर्देशित सेप अफ मोमो धेरै हदसम्म अब्बल ठहरिन पुगेको छ ।

यो नेपाली भाषामा बनेको, सिक्किमको हिमाली पृष्ठभूमिमा आधारित, भारत र दक्षिण कोरियाको सह-निर्माणमा तयार पारिएको निर्देशकको पहिलो कथानक सिनेमा हो । यसले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत आफ्नो उपस्थिति प्रशंसासहित जनाइसकेको छ ।

प्राविधिक पक्षमा प्रवेश गर्नुअघि सिनेमाको कथानक, पटकथा र दार्शनिक पक्षको कुरा गरौं:

सिनेमामा बिष्णु (गौमाया गुरुङ) को दृष्टिबाट कथा भनिएको छ । उनी दिल्लीको जीवन छोडेर भर्खरै आफ्नो हिमाली गाउँ फर्किने ३२ वर्षीया युवती हुन् । घरमा बिरामी हजुरआमा, आमा र गर्भवती बहिनी छन् ।

घरमा पुरुष छैनन् । पुरुष नभए पनि उनीहरूको घरमा पितृसत्ता कायम नै छ । यो संरचनागत त्रुटिका कारण पुरुष नहुँदा पनि महिलाहरूमा पितृसत्ता जीवित रहन्छ भनेर सन्देश दिन यो सिनेमा सफल छ । त्यसको कारण दैनिक जीवनका साना-साना क्षणहरूबाट देखाइएको छ ।

यो कुरा सिनेमाको बिम्बात्मक शीर्षकबाट पनि थोरबहुत बुझिन्छ । मोमो बनाउँदा यसलाई निश्चित आकारमा ढाल्नुपर्छ भन्ने अघोषित नियम छ । यो कुरा सिनेमामा स्पष्ट रूपमा आउँछ । त्यसबाट हामी अस्तित्ववादी विचारसँग ठोक्किन पुग्छौं।

समाजले सधैं महिलालाई पूर्वनिर्धारित आकार दिन खोज्छ । तर मुख्य पात्र बिष्णु आकार फरक–फरक भए पनि मोमोको स्वाद एउटै हुने तर्क गर्दै अरूले ढालिदिएको नभई आफैंले बनाएको जीवन जिउने कुरा गर्छिन् । सिनेमामा समाजले दिएको भूमिकालाई स्वाभाविक ठानेर आफ्नो स्वतन्त्रता स्वीकार गर्ने महिला पात्रहरू पनि छन् । जसले फेरि पनि पितृसत्ता बोलिरहन्छन् ।  यो मानेमा अझ; नेपाली नाम अझ प्रत्यक्ष छ । छोरा जस्तैयसरी सिनेमा नामदेखि नै बिम्बात्मकसँगै प्रत्यक्ष बन्न खोजेको छ ।

सिनेमाको कथानकको संरचना सरल तर प्रभाव छाड्न सफल छ । यो कुनै ठूलो घटना वा आश्चर्यजनक मोडमा आधारित छैन । बिष्णु घर फर्किएकी छिन् । यसपछि परिवारसँगको द्वन्द्व, गाउँको सामाजिक अपेक्षा र उनको आन्तरिक संघर्ष केन्द्रमा हुँदै सिनेमा अघि बढ्छ ।

दिल्लीको आधुनिक र स्वतन्त्र जीवनबाट आएकी उनी गाउँ फर्किएपछि आफूलाई ‘बाहिरी’ महसुस गर्छिन् । उनी शिक्षित, विशेषाधिकार प्राप्त र प्रगतिशील सोचकी छिन् । घर/गाउँमा उनी महिलाहरूको दैनिक संघर्ष, सहनशीलता र आन्तरिकीकृत पितृसत्तासँग ठोक्किन्छिन् । यो घर फर्किने यात्राको विरोधाभासलाई निर्देशकले राम्रोसँग उजागर गर्न सकेकी छिन् । घर फर्किनुले आराम दिएता पनि स्वतन्त्रतालाई चुनौती दिन्छ । बिष्णुको कथाले भन्ने एउटा सन्देश यो पनि हो । यो नतिजा पटकथा (त्रिवेणी राई र किस्ले) को संयमित शैलीबाट आएको देखिन्छ ।

सिनेमामा संवादहरू यथार्थपरक छन् । नेपाली, केही हिन्दी र अंग्रेजीको मिश्रणमा सिक्किमी/नेपाली समाजको सांस्कृतिक लवज आएकाले संवाद जीवन्त देखिन्छ । तर, पटकथाले ठूलो उपदेश पनि दिँदैन । दर्शकलाई एउटा निरीक्षक बनाउँछ ।

दैनिक जीवनका साना दृश्यहरू, जस्तै; भान्सामा मोमो बनाउने, चिया पिउने, आँगनमा बस्ने, पहाड हेर्ने आदि मार्फत दार्शनिक प्रश्नहरू भने उठाइएका छन् । यसले जिया झाङ्के वा सत्यजित रेको सम्झना पनि गराउँछ । भन्नुको अर्थ दार्शनिक रूपमा पनि यो फिल्म निकै गहन छ ।

जाँ पोल सार्त्रको ‘अस्तित्व, सारभन्दा पहिले आउँछ’ को भावना सिनेमाभित्र देख्न सकिन्छ । समाजले महिलालाई दिएको दायरा बिष्णुलाई स्वीकार्य हुँदैन । तर उनी आफूले सोचे जति पूरै मुक्त छैनन् । उनको प्रगतिशील नारीवादी सोच विशेषाधिकारले प्रभावित छ । उनी गरिब महिलाहरूको पीडाप्रति कहिलेकाहीं संवेदनहीन देखिन्छिन् । यो सूक्ष्मताले सिनेमाले सतही नारीवादी कथा बन्न दिँदैन ।

मिसेल फुकोको शक्ति सिद्धान्तअनुसार पितृसत्ता फैलिएको छ- पुरुष नभए पनि महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन् । फिल्मले यो आन्तरिक संरचनालाई सुन्दर तरिकाले देखाउँछ । यी सबलाई अमूर्त, स्वैरकल्पनामा नभनेर सिधा र बिम्बमा भन्नु र त्यसमा दृश्य र आवाजलाई चतुर्‍याईं तरिकाले प्रयोग गर्नुमा निर्देशकीय खुबी देखिन्छ । यसर्थ प्राविधिक पक्षमा सिनेमा सफल छ।

आर्चना घाङ्ग्रेकरले चौडा ढाँचामा खिचेका दृश्यहरू कतैकतै त सुन्दर पेन्टिङभन्दा कम छैनन् । फ्रेम विथ इन अ फ्रेम, लो एङ्गल, बर्ड भ्यू जस्ता भिन्न शटहरू सहित सिनेमामा पहाडका, कोठा भित्र र बाहिरका दृश्यहरू आइरहन्छन् । पात्रहरूको भाव देखाउन एक्ट्रिम क्लोजअपदेखि मिड वाइटसम्ममा शट राखिएका छन् ।

तर, शट लामो भएता पनि प्रकाश संयोजनले दृश्यहरूलाई जीवन्त बनाएको छ । जस्तो; एउटा दृश्यमा साँझको समयमा घरको सबैभन्दा तल्लो तलादेखि सबैभन्दा माथिल्लो तल्लासम्म पात्रहरू चढेको/प्रत्येक तलामा बत्ती बाल्दै जान्छन् । एक्ट्रिम यो वाइड शट सुन्दा पट्यार लाग्ला तर सिनेमामा बिल्कुल त्यस्तो छैन ।

त्यसमा सेट डिजाइन अर्को राम्रो प्राविधिक काम हो । घरको हरेक कोठा, भान्सा र वस्तुहरूलाई उद्देश्यका साथ राखिएका छन् । बिष्णुको कोठमा पारिजातदेखि भर्जिनिया उल्फसम्मका फोटो, पुस्तकले ठाउँ पाएका छन् ।

त्यसैगरी पोसाकलाई पनि पुस्ता र वर्गीय भिन्नता देखाउन प्रयोग गरिएको छ । सिनेमाको मुल रङभन्दा बाहिर गएर पात्रहरूले पोशाक लगाएका छैनन् । परिस्थिति, भाव अनुसार उनीहरूले पोशाक लगाएका छन् । अन्तिम अन्तिमतिर बगैंचामा आमा (पशुपति राई) र बिष्णु गफ गरिरहेका हुन्छन् । आमाको लुगा फिक्काफिक्का छ भने बिष्णुको केही नयाँ/गाढा छ । यो खास दृश्यले उनीहरूको मनोवैज्ञानिक, दार्शनिक र सामाजिक फरकलाई धेरै तरिकाले बोल्छ । यसरी यो सिनेमामा पोशाक आफैं पनि कथावाचक बनेको छ।

तर, सम्पादनले फिल्मको गतिलाई जानाजानी सुस्त राखेको छ । यो पात्रकेन्द्रित सिनेमा हो । त्यसैले दर्शकलाई गाउँको शान्त तर तनावपूर्ण वातावरणमा अड्काउनु आवश्यक थियो । द्रुत गतिकाभन्दा पनि टिकिरहने क्षणहरू बढी छन् । जसले पक्कै पनि पात्रमा डुब्न सहयोग नै गर्छ ।

साउन्ड डिजाइन सिनेमाको उस्तै अब्बल पक्ष बनेको छ । कतै पनि लाउड साउन्ड छैन । वातावरणीय आवाजहरू, जस्तै; हावाको आवाज, पहाडको प्रतिध्वनि, भान्साको कल्याङमल्याङले दर्शकलाई अड्काइरहन्छन् । न्यूनतम संगीत छ सिनेमा । तर, त्यति नै पर्याप्त छ । केही केही दृश्यमा आवाज नै पात्र बनेका छन् ।

अभिनयको कुरा गर्दा गौमाया गुरुङ र पशुपति राई अधिकांश समय दृश्यमा आउँछन् । यो सिनेमा उनीहरूको पहिलो जोडी हुँदै होइन । पहिलेका तुलनामा उनीहरूको जोडी परिपक्क देखिएको छ । दुवैको अभिनय बहुपक्षीय छ । अन्य पात्रहरूसँग उनीहरूको उपस्थिति पनि त्यति कमजोर छैन । उनीहरूबाहेक सहयोगी अन्य कलाकारहरूले पनि उसैगरी पटकथा र कथानकलाई न्याय गर्न सकेका छन् । यस्तो लाग्दैन – यो पात्र नभए पनि सिनेमा हुन्थ्यो ।

यद्यपि पुरुष पात्रहरू अत्यन्तै कम छन् । तर जति छन्, उनीहरूले समाजको संरचनालाई प्रतिनिधित्व गर्छन् । सिनेमाको सबैभन्दा ठूलो उपलब्धि यसको वास्तविकता नै हो । निर्देशक राईले आफ्नै व्यक्तिगत अनुभवलाई आधार बनाएर यो कथा बुनेकी हुन् । यहाँसम्म कि मुख्य पात्रको नाम समेत उनका स्वर्गीय बुबाबाट राखिएको हो ।

सिनेमामा कथाका धेरै तह छन् । सकेसम्म आफ्नो समाजको यथार्थलाई देखाउन खोजिएको छ । गरिबी, लैङ्गिक भूमिका, बसाइँसराइ, सांस्कृतिक परिवर्तन र महिलाको सूक्ष्म प्रतिरोध-मुलत यी विषय सतहमा आएका छन् ।

यद्यपि सिनेमामा कमजोरीहरू पक्कै छन् । केही दर्शकलाई गति अलि सुस्त लाग्न सक्छ । उत्कर्षको अभावले व्यावसायिक दर्शकलाई असन्तुष्ट बनाउँछ । मुख्य पात्र बिष्णु कहिलेकाहीं अरूलाई मन नपर्ने र स्वार्थी देखिन्छिन् । उनीसँग जोडिन गाह्रो हुन सक्छ ।

यो सिनेमाले विशेषाधिकार र बहुआयामिक नारीवादको विषयलाई छुन्छ । तर, पूरै गहिराइमा जान सक्दैन । यी कमजोरीहरू फिल्म निर्माणको इन्टेस्नल छनोट हुन सक्छन् । किनकि यी कुरा नै सिनेमाको कलात्मक आधार पनि हो ।

समग्रमा, सेप अफ मोमो साधारण कथामार्फत ठूला प्रश्नहरू उठाउने सिनेमा हो । हामीलाई आफ्नो जीवनको आकारबारे प्रश्न गर्न बाध्य पार्ने सिनेमा हो ।

यो सिनेमालाई एउटा भारतीय अथवा पराइ मान्नु पक्षपात सिवाय केही हुँदैन । इतिहासलाई थाहा छ- उत्तरपूर्वी भारत (सिक्किम/दार्जीलिङ)ले कला, साहित्य, संगीतमार्फत नेपाली भाषालाई कति ठूलो योगदान दिएको छ । यो सिनेमालाई दुईमत नराखेर सिक्किमकोतर्फबाट नेपाली भाषालाई सुन्दर उपहार भन्न सकिन्छ ।

अन्त्यमा, स्वतन्त्रता के हो ? परिवार छोड्नु नै मुक्ति हो? परम्परा बन्धन मात्र हो कि आराम पनि ? के अपूर्ण आकारमा पनि जीवनको स्वाद हुन्छ ? आंशिक नै सही, तपाईंले सायद उत्तर डेढ घण्टा लामो यो सिनेमामा पाउनुहुनेछ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?