+
+
Shares

भिरबाट टेम्पो खसालेको घटना : वन अधिकृतसहित दुई जनाविरुद्ध जाहेरी दर्ता, १० जना छुटे

भिरबाट टेम्पो खसालिएको घटनामा संलग्न दुई जना वन कर्मचारीविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ असार १ गते २०:०८

१ असार, धनगढी । भिरबाट टेम्पो खसालिएको घटनामा संलग्न दुई जना वन कर्मचारीविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

घटनामा संलग्न डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फुलारामाथि प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रबहादुर तिमिल्सिनाले दुवै जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए ।

उनका अनुसार टेम्पो धनी धनादेवी धामीले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । दुवै जना वन कर्मचारीविरुद्ध सोमबार कैलाली जिल्ला अदालतबाट ७ दिन म्याद पनि लिइसकिएको डीएसपी तिमिल्सिनाले बताए ।

यस्तै, सोधपुछका लागि नियन्त्रणमा लिइएका वन रक्षकसहितका अन्य १० जना कर्मचारीलाई भने बोलाएका बखत उपस्थित हुनेगरी हाजिरी जमानीमा छाडिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

वन अतिक्रमण हटाउने क्रममा भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा शनिबार वनका कर्मचारीले खुद्रा सामान बिक्रि गर्न प्रयोग गरिएको टेम्पो भिरबाट खसालेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वन कर्मचारीको चर्को आलोचना भइरहेको छ ।

यसैबीच आइतबार वरिष्ठ वन अधिकृत बोहरासहित १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको छानबिनका लागि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?