+
+
Shares

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:१५

२ असार, मान्म (कालीकोट) । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो ।

कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट । लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।

सदरमुकामको सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक अभियन्ता बाले विश्वकर्माले बताए । ‘लुहार समुदायका अनुसार यसस्थलको वास्तविक नाम ‘लुहारेकोट’ हो । यसको ऐतिहासिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिनुपर्छ’, उनले भने ।

स्थानीयको मौखिक इतिहास, वंशावली र जनविश्वासका आधारमा लुहारेकोटले खाँडाचक्र क्षेत्रको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको ठाउँ भएको खाँडाचक्र नगरपालिका–२ स्थित पञ्चदेव माध्यमिक विद्यालयका शिक्षक लक्षिराम विश्वकर्माले बताए ।

‘यस स्थलको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गर्नु भावी पुस्ताका लागि आवश्यक देखिन्छ’, उनले भने, ‘स्थानीय जनश्रुति, मौखिक इतिहास तथा लुहार समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको वंशावलीका आधारमा लुहारेकोट केवल एउटा भौगोलिक स्थानमात्र नभई लुहार समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित रहेको छ ।’

यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग जोडिएको र स्थानीय विश्वासअनुसार शान्ति लुवार नै लुहारेकोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक भएको लक्षिरामले जानकारी दिए ।

‘त्यस समयमा लुहारेकोटको तल हालको मान्म बजार क्षेत्रमा लुहार समुदायको ठूलो बस्ती रहेको थियो । वर्तमान प्रतिमा चोकबाट पूर्वतर्फ लुहारेकोटसम्मको सम्पूर्ण भूभाग लुहार समुदायको अधिनमा रहेको जनविश्वास छ’, उनले भने ।

हाल जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो बस्ती रहेको मानिन्छ । उक्त बस्तीभन्दा माथि रहेको विशाल तथा अग्लो ढुङ्गालाई नै ‘लुहारेकोट’ भनिएको हो ।

स्थानीयको भनाइअनुसार यही ढुङ्गामा बसेर राज्य सञ्चालन, न्यायिक फैसला, प्रशासनिक बैठक तथा जनसरोकारका विषयमा छलफल हुने गर्दथ्यो ।

यसैकारण उक्त स्थानलाई तत्कालीन शासन केन्द्रका रूपमा लिइन्छ । हाल कालीकोटको खाडाँचक्र नगरपालिकाले लुहारेकोटको इतिहासको झल्को दिनेगरी वीरताको प्रतीकसहित प्रतिमाको निर्माण गरेको नगरउपप्रमुख गणेशबहादुर शाहीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?