३ असार, काठमाडौं । बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।
टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको, नेपाली समेत बोल्न नआउने भन्दै अंग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै १५ लाख १० हजार ५ सय रुपैयाँ एक युवतीबाट ठगी भएको थियो । प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएर विश्वास दिलाउने गरेका थिए ।
तर प्रहरी अनुसन्धानका क्रममा यसरी दाजु बहिनी बनेर कुराकानी गर्ने व्यक्ति अहिले पक्राउ परेका श्रीमान–श्रीमती रहेको खुलेको छ । श्रीमान–श्रीमती नै मिली योजनाबद्ध रूपमा ठगी गरेको पाइएको ब्युरोले बताएको छ ।
पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4