विश्वकप सुरु भएदेखि एउटा खेलको प्रतीक्षा सबैभन्दा धेरै भइरहेको थियो । सञ्जालमा त्यसकै चर्चा थियो ।
समर्थकहरू दिन गन्दै थिए । टिकटकहरू धेरै अघि बिक्री भइसकेका थिए ।
टेलिभिजन कम्पनीहरूले दर्शक सङ्ख्या बढ्ने अनुमान गरिरहेका थिए । कारण एउटै देखिन्छ, लियोनल मेस्सी ।
जुन १७ को रात । अर्जेन्टिना पहिलोपटक मैदानमा उत्रँदा त्यो केवल समूह चरणको अर्को खेल थिएन ।
त्यो विश्वकपको सबैभन्दा ठूलो आकर्षण थियो । लाखौं आँखाहरू एउटै खेलाडीमाथि केन्द्रित थिए ।
३८ वर्षको उमेर । करियरको उत्तरार्ध । तर अपेक्षा भने अझै पुरानै ।
सबैलाई थाहा थियो, मेस्सी मैदानमा छन् भने केही असाधारण हुनसक्छ । र, फेरि त्यही भयो ।
अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले ३-० को जित निकाल्यो । तीन गोल मेस्सीले गरे । विश्वकपमा उनको यो पहिलो ह्याट्रिक समेत थियो ।
स्टेडियम ‘मेस्सी, मेस्सी’ को नाराले गुञ्जियो ।

सोसल मिडिया केही मिनेटमै विस्फोट भयो । एक्स ट्रेन्डमा मेस्सी शीर्षमा ।
फेसबुक र इन्स्टाग्राम उनका तस्बीरले भरिए । टिकटकमा उनको ह्याट्रिकको भिडियो लाखौँ पटक शेयर हुन थाल्यो ।
कतिपयले उनलाई फुटबलको जादुगर भने । कतिपयले इतिहासकै महान् खेलाडी । संसारभरका स्क्रिनहरूमा एउटै नाम दोहोरिरह्यो, लियोनल मेस्सी ।
ह्यासटयागमा मेसी इज गोट । जी ओ ए टी गोट अर्थात् ‘ग्रेटेस्ट अफ अल टाइम’ भनिन्छ । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।
नहोस् पनि मेस्सीको काम नै त्यस्तै थियो । असाधारण जस्तो लाग्ने । सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सी लगातार ६ विश्वकप खेल्ने पहिलो खेलाडी बने ।
अल्जेरिया विरुद्ध ह्याट्रिक पछि उनले विश्वकपमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानी बराबरी गरे । विश्वकपको सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ । उनले विश्वकपमा २७ खेल खेलिसके ।
चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले विश्वकपमा दुई गोल्डेन बल अवार्ड जितेका छन् । दुई गोल्डेन बल जित्ने पनि मेस्सी एक मात्र खेलाडी हुन् ।

एउटा बहस, जसले युग बनायो
फुटबल इतिहासमा केही नामहरू केवल खेलाडी मात्र हुँदैनन्, युग हुन्छन् ।
पेले । डिएगो म्याराडोना । क्रिस्टियानो रोनाल्डो । लियोनल मेस्सी ।
पेले र डिएगो म्याराडोना आज स्मरणमा मात्र बाँचेका छन् ।
अहिले संसार दुई भागमा बाँडियो,
को महान् ? मेस्सी कि रोनाल्डो ?
दुवैले क्लब फुटबलमा सबै जिते । गोल, ट्रफी, कीर्तिमान सबै तोडे ।
तर एक प्रश्न सधैं बाँकी रह्यो, विश्वकप कसले जित्छ ?
किनकि, फुटबलको अन्तिम परीक्षा अझै पनि त्यही मानिन्छ ।
र, यही प्रश्नले मेस्सीको यात्रालाई अझ अर्थपूर्ण बनायो । मेस्सीले चार वर्षअघि विश्वकप ट्रफी उचाल्ने सपना पूरा गरिसके ।
तर एक समय यस्तो पनि थियो, जब उनलाई व्यावसायिक फुटबल खेल्न सक्लान् कि सक्दैनन् भन्नेमा नै शंका थियो ।
रोसारियो : जहाँ कथा सुरु भयो
२४ जुन १९८७ । अर्जेन्टिनाको रोसारियो सहरमा एउटा सामान्य परिवारमा जन्मिएका थिए, लियोनल आन्द्रेस मेस्सी ।
उनका बुबा जर्ज मेस्सी स्टिल कारखानामा काम गर्थे । आमा सेलिया मारिया घर सम्हाल्थिन् ।
घरमा धनसम्पत्तिको थुप्रो थिएन । तर सपनाको कमी पनि थिएन । मेस्सीलाई सानैदेखि फुटबल असाध्यै मन पर्थ्यो । उनी खेलौनाभन्दा बलसँग बढी रमाउँथे ।
परिवारका सदस्यहरूका अनुसार उनले हिँड्न सिक्नासाथ बल पछ्याउन थालेका थिए । उनी घण्टौंसम्म फुटबल खेल्न सक्थे।
भोक लागेको बिर्सिन्थे । समय बितेको थाहा पाउँदैनथे । उनका लागि संसार नै फुटबल थियो ।

हजुरआमाले देखेकी प्रतिभा
मेस्सीको जीवनमा एउटा व्यक्तिको प्रभाव अत्यन्त ठूलो छ । उनकी हजुरआमा सेसिलिया । परिवारका धेरै सदस्यहरूले सानो मेस्सीलाई फुटबल खेलिरहेको देखेका थिए । उनको प्रतिभामाथि सबैभन्दा पहिले विश्वास गर्ने व्यक्ति सेसिलिया थिइन् ।
उनैले मेस्सीलाई स्थानीय क्लबमा खेल्न प्रोत्साहन गरेकी थिइन् । उनी बारम्बार भनिरहन्थिन्, ‘यो केटा अरूजस्तो छैन ।’
मेस्सी किशोर अवस्थामा पुग्नुअघि नै हजुरआमाको निधन भयो । तर मेस्सीले धेरै अन्तरवार्तामा हजुरआमाको नाम स्मरण गर्छन् ।
आज पनि गोल गरेपछि मेस्सीले आकाशतर्फ हेरेर औंला उठाउँछन् । त्यो उत्सव कुनै शैली होइन । त्यो आफ्नी हजुरआमालाई सम्झने उनको तरिका हो ।
जब एउटा रिपोर्टले परिवारको निद्रा हरायो
सानैदेखि फुटबलमा डुबेका मेस्सी चार वर्षको उमेरमै स्थानीय क्लब ग्रान्डोलीबाट खेल्न थालेका थिए । पछि उनले नेवेल्स ओल्ड ब्वाजको युवा टोलीमा स्थान बनाए । मैदानमा उनको प्रतिभा चम्किन थालेको थियो । तर ठीक त्यही समयमा जीवनले एउटा अप्रत्याशित मोड ल्यायो ।
मेस्सी १० वर्षका हुँदा परिवारले एउटा कुरा महसुस गर्न थाल्यो । उनको शरीर अरू बालबालिकाजस्तो बढिरहेको थिएन । परीक्षण गरियो । रिपोर्ट आयो ।
ग्रोथ हर्मोन डिफिसियन्सी । अर्थात्, शरीरको वृद्धि सामान्य रूपमा भइरहेको थिएन ।
फुटबलमा चम्किरहेको बालकका लागि त्यो केवल स्वास्थ्य समस्या थिएन, सपनामाथिको ठूलो चुनौती थियो ।
उपचार सम्भव थियो । तर उपचारको खर्च परिवारको सामर्थ्यभन्दा धेरै माथि थियो । मेस्सीको सपना त्यहीँ रोकिन सक्थ्यो ।
धेरै प्रतिभाशाली बालबालिकाका सपनाहरू जस्तै । तर भाग्यले उनको लागि अर्को योजना बनाएको थियो ।
नेप्किनमा लेखिएको सम्झौता
अर्जेन्टिनामा धेरै क्लबले उनको प्रतिभा देखे । तर उपचारको जिम्मा लिन कोही तयार भएन ।
किनकि, समस्या केवल प्रतिभा थिएन, उपचारको खर्च पनि थियो ।
त्यही बेला स्पेनबाट प्रस्ताव आयो, बार्सिलोनामा जाने ।
बार्सिलोनाले उनलाई मात्र होइन, उनको उपचार र भविष्यलाई पनि अपनाउने निर्णय ग¥यो ।
प्रारम्भिक सम्झौता कुनै औपचारिक कागजमा होइन, एउटा नेप्किनमा लेखिएको थियो ।
त्यो क्षण केवल सम्झौता थिएन । त्यो एउटा जीवन परिवर्तन थियो ।
१३ वर्षको उमेरमा मेस्सी आफ्नो परिवारसँग स्पेन पुगे । यो केवल देश परिवर्तन थिएन, यो बाल्यकालको अन्त्य थियो । र, नयाँ जीवनको सुरुवात ।
ला मासिया : जहाँ असम्भव सम्भव भयो
बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ । त्यो ठाउँ जहाँ प्रतिभा मात्र पर्याप्त हुँदैन, मेहनत चाहिन्छ । मेस्सी सुरुका दिनमा शारीरिक रूपमा कमजोर देखिन्थे । तर बल खुट्टामा पुग्दा सबै कुरा बदलिन्थ्यो ।
रक्षकहरू हराउँथे । प्रशिक्षकहरू अचम्मित हुन्थे । साथीहरू मौन हुन्थे ।
किनकि उनीहरूले बुझिसकेका थिए, यो केटा फरक छ ।
बार्सिलोनाको युगमा राज
सन् २००४ । मेस्सीले बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरे । त्यसपछि सुरु भयो एउटा युग । गोल, ट्रफी र कीर्तिमानहरूको वर्षा ।
जाभी, इनिएस्टा, सुआरेज र नेमारसँग मिलेर उनले आधुनिक फुटबलको सबैभन्दा खतरनाक आक्रमण बनाइदिए ।
उनको खेल केवल प्रदर्शन थिएन, त्यो कला थियो ।
रोनाल्डोसँगको प्रतिस्पर्धा
फुटबल इतिहासमा केही प्रतिस्पर्धा यस्ता हुन्छन्, जसले केवल खेललाई होइन, पूरा एउटा युगलाई परिभाषित गर्छन् । मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिस्पर्धा त्यस्तै थियो ।
लगभग दुई दशकसम्म उनीहरूले विश्व फुटबलमा राज गरे । एकले कीर्तिमान बनाउँदा अर्कोले तोड्थ्यो । एकले बालोन डी’ओर जित्दा अर्कोले जवाफ फर्काउँथ्यो । दुवैले असम्भवजस्ता उपलब्धि हासिल गरे र करोडौँ समर्थक कमाए । संसार दुई भागमा बाँडियो, मेस्सी कि रोनाल्डो?
तर एउटा प्रश्न सधैं बाँकी रह्यो, फुटबलको सबैभन्दा ठूलो ट्रफी अर्थात् विश्वकप कसले जित्छ ? यही प्रश्नले उनीहरूको प्रतिस्पर्धालाई अझ ऐतिहासिक बनायो।र, दुवैले संसारलाई दुई भागमा बाँडे । को, उत्कृष्ट ? विश्वकप कसले जित्छ ?
राष्ट्रिय टोलीमा पीडा : जब सपना बारम्बार टुट्यो
बार्सिलोनाको जर्सीमा मेस्सीले लगभग सबै जितिसकेका थिए । च्याम्पियन्स लिग, ला लिगा र बालोन डी’ओरका अवार्डहरुले उनलाई विश्व फुटबलको शिखरमा पुर्याइरहेको थियो । तर अर्जेन्टिनाको जर्सीमा भने उनको यात्रा पीडाले भरिएको थियो ।
सन् २०१४ को विश्वकपमा उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए । पूरा देश उपाधिको प्रतीक्षामा थियो ।
तर, जर्मनीसँगको फाइनल हारले त्यो सपना अधुरै रह्यो । खेल सकिएपछि विश्वकप ट्रफीतर्फ हेर्दै मैदान छाडिरहेका मेस्सीको तस्बिर लाखौं समर्थकको मनमा बस्यो ।
त्यसपछि कोपा अमेरिकामा पनि निराशा दोहोरियो । सन् २०१५ र २०१६ मा लगातार दुई फाइनलमा चिलीसँग पराजित भएपछि आलोचना झन् चर्कियो ।
कतिपयले उनलाई डिएगो म्याराडोनासँग तुलना गर्दै राष्ट्रिय टोलीका लागि पर्याप्त सफल नभएको टिप्पणी गर्न थाले ।
अन्ततः २०१६ को हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरे । त्यो खबरले अर्जेन्टिनालाई स्तब्ध बनायो । समर्थकहरू निराश भए ।
तर कथा त्यहीँ रोकिएन । देशभरिबाट उनलाई फर्किन आग्रह भयो । अन्तत: उनी सन्यास फिर्ता लिएर फेरि राष्ट्रिय टिममा फर्किए । किनकी मेस्सीले आकाशे जर्सीमा अझै धेरे गर्न बाँकी थियो ।
मेस्सीको ‘शताब्दीको विवाह’
सन्यास लिइएको त्यो उतारचढावबीच उनको व्यक्तिगत जीवनमा भने खुसीको अध्याय सुरु भयो । वर्षौंदेखि साथ दिँदै आएकी एन्टोनेला रोकुज्जोसँग उनले ३० जुन २०१७ मा विवाह गरे ।
अर्जेन्टिनामा सम्पन्न त्यो विवाह समारोहलाई धेरै सञ्चारमाध्यमले ‘शताब्दीको विवाह’ भनेर वर्णन गरेका थिए ।
दुवैको चिनजान बाल्यकालमै अर्जेन्टिनाको रोसारियो सहरमा भएको थियो । एन्टोनेला मेस्सीका बाल्यकालका साथी लुकास स्काग्लियाकी बहिनी हुन् ।
सानैदेखि सुरु भएको मित्रता समयसँगै गहिरो सम्बन्धमा बदलियो । मेस्सी फुटबलका लागि स्पेन पुगे, संसारकै ठूलो खेलाडी बने, तर उनको मन भने बाल्यकालको प्रेमसँगै जोडिरह्यो ।
मैदान बाहिरका मेस्सी
फुटबल मैदानमा लाखौं समर्थकका नायक बनेका लियोनल मेस्सीको संसार मैदानबाहिर भने आश्चर्यजनक रूपमा सरल छ ।
विश्वकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक भए पनि उनी आफ्नो निजी जीवनलाई सधैं चर्चाको केन्द्रभन्दा टाढा राख्न रुचाउँछन् ।
आज उनीहरूका तीन छोरा छन् । थियागो, मातेओ र सिरो । व्यस्त खेल जीवनका बीच पनि मेस्सीको अधिकांश समय परिवारकै वरिपरि घुम्छ ।
सामाजिक सञ्जालमा उनले साझा गर्ने धेरैजसो तस्बिरहरू पत्नी र छोराहरूसँगका हुन्छन् ।
मेस्सीले धेरैपटक स्वीकार गरेका छन्, बुबा बनेपछि उनको जीवनप्रतिको दृष्टिकोण नै बदलिएको छ । मैदानमा विश्व जित्ने सपना देख्ने मेस्सी घर फर्किएपछि भने आफ्ना छोराहरूसँग खेल्ने एक सामान्य बुबा हुन् ।
सायद यही कारण करोडौं समर्थकका लागि उनी केवल महान् फुटबलर मात्र होइनन्, परिवारलाई पहिलो प्राथमिकता दिने प्रेरणादायी व्यक्तित्व पनि हुन् ।
ट्याटुमा कोरिएको जीवन
लियोनल मेस्सीका ट्याटुहरू पनि उनीजत्तिकै चर्चित छन् । उनका लागि ट्याटु केवल शरीर सजाउने कला होइन, जीवनका महत्वपूर्ण अध्यायहरूको दस्ताबेज हो ।

उनको ढाडमा आमाको तस्बीर छ, जसले परिवारप्रतिको सम्मान झल्काउँछ । हात र खुट्टामा छोराहरू थियागो, मातेओ र सिरोसँग सम्बन्धित प्रतीकहरू कुँदिएका छन् ।
केही ट्याटु धार्मिक विश्वाससँग जोडिएका छन् भने केहीले उनको व्यक्तिगत यात्रा र जीवनका विशेष क्षणहरू सम्झाउँछन्। मेस्सीको शरीरमा बनेका यी चित्रहरू हेर्दा एउटा महान् फुटबलर मात्र होइन, परिवार, प्रेम र सम्झनालाई सँगालेर बाँच्ने संवेदनशील मानिसको कथा पनि पढ्न सकिन्छ ।
कतार २०२२ : सुरुवाती खेलमा झेल्नु परेको हार
कतार विश्वकप सुरु हुँदा धेरैले यसलाई मेस्सीको अन्तिम विश्वकप भनेका थिए । ३५ वर्षको उमेरमा उनीसँग अब अर्को अवसर नआउन पनि सक्थ्यो ।
तर सुरुवात भने सपनाजस्तो भएन । पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरेपछि अर्जेन्टिनामाथि प्रश्न उठ्न थाले ।
आलोचकहरू सक्रिय भए । तर मेस्सीले समर्थकलाई विश्वास नगुमाउन आग्रह गरे । त्यसपछि अर्जेन्टिना बदलियो । टोली थप एकजुट बन्यो । र, बदलियो मेस्सी पनि ।
उनले प्रत्येक खेलमा नेतृत्व, आत्मविश्वास र जादुमय प्रदर्शन देखाए । अर्जेन्टिनाको विश्वकप यात्रा अब केवल प्रतियोगिता थिएन, एउटा अधुरो सपनाको खोज बनेको थियो ।
१८ डिसेम्बर २०२२ : सपना पूरा भएको त्यो अविस्मरणीय रात
१८ डिसेम्बर २०२२ । कतारको लुसेल स्टेडियममा विश्व फुटबलका लाखौं समर्थकको नजर एउटै खेलमा केन्द्रित थियो । साविक विजेता फ्रान्स अर्जेन्टिनाको प्रतिद्वन्द्वी बनेर उभिएको थियो ।
एकातिर करियरको अन्तिम विश्वकप खेलिरहेका लियोनल मेस्सी थिए, अर्कोतिर नयाँ पुस्ताका सुपरस्टार किलियन एम्बाप्पे ।
खेल सुरु हुँदा अर्जेन्टिनाले नियन्त्रण जमायो र अग्रता बनायो ।
तर, फ्रान्सले हार मानेन । एम्बाप्पेको दुई तीव्र गोलले खेलको चित्र नै बदलियो । अतिरिक्त समयमा मेस्सीले फेरि अर्जेन्टिनालाई अगाडि बढाए, तर एम्बाप्पेले पुनः जवाफ फर्काए ।
३–३ को बराबरीपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । त्यो रात फुटबल केवल खेल थिएन, इतिहास लेखिँदै थियो ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजेता बन्यो । अन्तिम पेनाल्टी सफल भएसँगै अर्जेन्टिनाका खेलाडीहरू मैदानभरि दौडिए । त्यस भीडको केन्द्रमा मेस्सी थिए ।
जब उनले विश्वकप ट्रफी दुवै हातले माथि उठाए, त्यो केवल एउटा उपाधि जित्नु थिएन । त्यो तीन दशकभन्दा लामो सपनाको अन्त्य थियो । फुटबल इतिहासको एउटा अधुरो अध्याय अन्ततः पूरा भएको थियो ।

कीर्तिमानभन्दा ठूलो विरासत
कतार विश्वकप केवल उपाधिको कथा थिएन, कीर्तिमानहरूको कथा पनि थियो । मेस्सी विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी बने । उनले सर्वाधिक कप्तानी गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।
लगातार पाँच संस्करण विश्वकप खेल्ने दुर्लभ खेलाडीको सूचीमा उनी समावेश भए । तर मेस्सीको वास्तविक विरासत तथ्यांकभन्दा धेरै ठूलो छ ।
उनले संसारलाई प्रतिभाभन्दा पनि धैर्य र निरन्तरताको शक्ति देखाएका छन् । सानो कदका कारण एक समय अस्वीकार गरिएका बालकले फुटबल इतिहासकै महान् कथामध्ये एक लेख्न सक्छ भन्ने उदाहरण बनेका छन् ।
त्यसैले, आज मेस्सीलाई केवल गोल र ट्रफीले होइन, उनले लाखौं मानिसलाई दिएको प्रेरणाले सम्झिने गरिन्छ ।
प्रतिक्रिया 4