+
+
Shares

झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक

आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि झापा र इलामका ८० भन्दा बढी चिया उद्योग तथा बगानहरू बन्द भएका छन् ।
  • चिया उद्योग बन्द भएपछि यस क्षेत्रमा प्रत्यक्ष आश्रित करिब ६० हजार श्रमिक र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले नेपाली चिया निर्यातमा देखिएको अवरोध खुलाउन सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो ।

४ असार काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् ।

१ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

संघ अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन् ।

‘हामीले माथिल्लो तहबाटै कूटनीतिक पहल गरिदिन सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्‍यौं, तर त्यहाँ हाम्रो कुरा सुन्ने व्यक्ति भेट्न समेत मुस्किल पर्‍यो,’ अध्यक्ष पराजुलीले भने, ‘विगतमा यस्ता समस्या आउँदा सरकारले केही चासो देखाउँथ्यो, तर यसपालि चरम बेवास्ता गरिएका कारण बाध्यताले उद्योगहरू बन्द गरेका हौं ।’

निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ ।

उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन् ।

भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम फिर्ता नहुने संघले चेतावनी दिएको छ ।

झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो । यहाँ सीटीसी र अर्थोडक्स गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्दछ ।

व्यवसायीहरूको तथ्यांक अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ ।

यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ ।

हिजो बुधबारको प्रतिनिधिसभा बैठकमा इलाम र झापामा उत्पादित नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध खुलाउन सरकारले कूटनीतिक पहल गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बताएकी थिइन् ।

विनियोजन विधेयक २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले चिया, अलैँची लगायत स्वदेशी कृषि उपजको उचित भण्डारण र प्रभावकारी बजारीकरणका लागि सरकारले विशेष योजना अघि बढाएको समेत बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?