News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको मलंगवास्थित एक सप्लायर्सबाट संयुक्त सुरक्षा टोलीले अवैध रूपमा भण्डारण गरिएको ७५ बोरा फर्सीको बीउ बरामद गरेको छ ।
- बीउ बरामद गर्ने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक सेल ग्यास फायर गरेको थियो ।
- बरामद गरिएको बीउ आवश्यक कारबाहीका लागि मलंगवास्थित सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
४ असार, काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका-२, कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले फर्सीको बीउ बरामद गरेको छ ।
स्थानीय नवीनकुमार यादवको दिनकर सेल्स सप्लायर्समा अवैधरुपमा भण्डारण गरी राखिएको ७५ बोरा फर्सीका बीउ सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले जेठ ३ गते रातिनै सप्लायर्समा छापा हानेको सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।
बीउ बरामद गर्ने क्रममा केही स्थानीय भेला भई ढुंगामुढा गरेका थिए। सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एउटा ग्यास सेल फायरसमेत गरेको उनले जानकारी दिए।
ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति पुगेको छ। बरामद बीउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4