News Summary
Generated by OK AI. Editorially reviewed.- सोनी पिक्चर्सले अभिनेता टम हल्यान्ड स्टारर चलचित्र ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ को नयाँ ट्रेलर बिहीबार सार्वजनिक गरेको छ ।
- डेस्टिन ड्यानियल क्रेटन निर्देशित यो चलचित्र आगामी ३१ जुलाईमा विश्वभर र भारतमा ३० जुलाईमा प्रदर्शन हुने भएको छ ।
- ‘नो वे होम’ को चार वर्षपछिको कथामा आधारित यस चलचित्रको ट्रेलरमा स्पाइडर-म्यान र हल्कबीचको शक्तिशाली संघर्ष देखाइएको छ ।
मार्भल स्टुडियोको बहुप्रतीक्षित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सोनी पिक्चर्सले बिहीबार बिहान ट्रेलर सार्वजनिक गरेको हो, जसमा अभिनेता टम हल्यान्ड पुनः पिटर पार्कर अर्थात् स्पाइडर-म्यानको भूमिकामा देखिएका छन् ।
विश्वभर जुलाई ३१ मा रिलिज हुने यो फिल्म भारतमा भने एक दिन अगावै अर्थात् जुलाई ३० मा प्रदर्शनमा आउँदैछ । ट्रेलरले सन् २०२१ मा आएको ‘स्पाइडर–म्यानः नो वे होम’ पछिका घटनाक्रमलाई प्रस्तुत गरेको छ ।
ट्रेलरको सबैभन्दा चासोको विषय स्पाइडर-म्यान र ब्रुस ब्यानर अर्थात् हल्कबीचको भिडन्त बनेको छ । ट्रेलरमा यी दुई पात्रबीचको शक्तिशाली संघर्ष देखाइएको भए पनि त्यसको कारण भने खुलाइएको छैन ।
डेस्टिन ड्यानियल क्रेटनले निर्देशन गरेको यो फिल्मको कथा ‘नो वे होम’ को अन्त्य भएको चार वर्षपछिको घटनामा आधारित छ । नयाँ ट्रेलरले पिटर पार्करले जिम्मेवारीको ठूलो मूल्य चुकाइरहेको संकेत दिन्छ । कठिन परिस्थिति बढ्दै जाँदा उसका शक्ति अनपेक्षित रूपमा परिवर्तन हुन थाल्छन्, जसले खतरनाक मोड लिने सम्भावना देखाएको छ ।
ट्रेलरमा एउटा दृश्य यस्तो पनि छ, जहाँ स्पाइडर–म्यान आफ्नै शक्तिमाथि पूर्ण नियन्त्रण राख्न असफल देखिन्छ । अझ रोचक कुरा, ट्रेलरको सुरुआतमा पिटर पार्कर आफ्ना बढ्दो समस्याको समाधान खोज्न ब्रुस ब्यानरकहाँ पुगेको देखिन्छ, तर अन्ततः उनीहरूबीच संघर्ष हुने संकेत दिइएको छ ।
फिल्ममा पिटर पार्कर एक्लोपन र भावनात्मक दूरीसँग संघर्ष गरिरहेको देखाइएको छ । ‘नो वे होम’ को अन्त्यमा आफ्ना व्यक्तिगत सम्बन्धको बलिदान दिएपछि उसले आफूले माया गरेका मानिसलाई आफ्नो जीवनबिना अघि बढिरहेको देख्न बाध्य भएको छ ।
यसअघि सिनेमाकन मा प्रदर्शन गरिएको फुटेजअनुसार जेन्डायाले निर्वाह गरेको एमजे पात्र अहिले नयाँ सम्बन्धमा रहेको खुलासा भएको थियो ।
निर्माताका अनुसार आफ्ना वरपरका मानिसको स्मृति र जीवनबाट आफूलाई मेटाइसकेपछि पिटर पार्कर पूर्ण रूपमा एक्लिएको छ । अहिले ऊ न्यूयोर्कमा अपराधविरुद्ध लडिरहेको छ, जहाँ धेरैलाई उसको वास्तविक पहिचानसमेत थाहा छैन । उसले आफूलाई पूर्णकालीन स्पाइडर-म्यानको रूपमा समर्पित गरिसकेको छ ।
तर दबाब बढ्दै जाँदा उसको शरीरमा अनौठो परिवर्तन सुरु हुन्छ, जसले उसको अस्तित्वमै खतरा निम्त्याउने संकेत ट्रेलरले दिएको छ । ट्रेलरका अन्तिम दृश्यमा भने स्पाइडर-म्यानको परिचित हास्य शैली पनि देख्न सकिन्छ । एक ट्याक्टिकल टोलीले घेरिएको अवस्थामा पनि उसले आरामसँग आफूलाई स्ट्रेचिङका लागि केही समय चाहिएको बताउँछ र मजाक गर्दै भन्छ, ‘म अब हाई स्कूलमा छैन ।’
फिल्ममा टम हल्यान्ड र जेन्डायासँगै जेकब ब्याटलन, मार्क रफालो, जोन बर्नथल र माइकल मान्डोको अभिनय छ । साथै स्याडी सिन्क, ट्रामेल टिलम्यान, लिजा कोलोन-जायस र मार्भिन जोन्सजस्ता नयाँ कलाकार पनि यस फिल्ममार्फत स्पाइडर-म्यान ब्रह्माण्डमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4