News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले योजना छनोट प्रक्रियालाई पारदर्शी बनाउन आगामी आर्थिक वर्षदेखि ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने भएको छ ।
- उपमहानगरपालिकाले मातहतका सबै निकायलाई असार ६ गतेभित्र आयोजना बैंकमा योजनाहरू प्रविष्ट गर्न निर्देशन दिँदै असार ७ गते बजेट ल्याउने तयारी गरेको छ ।
- नगर प्रमुख राजन पौडेलका अनुसार नयाँ कानूनबमोजिम आयोजना बैंकमार्फत छनोट भएका योजनाहरूमा मात्र बजेट विनियोजन गर्न पाइनेछ ।
५ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८/०८४ का लागि वार्षिक बजेट तर्जुमा गर्ने तयारीस्वरूप मातहतका सबै निकायलाई असार ६ गतेभित्र आयोजना बैंकमा योजनाहरू प्रविष्ट गरिसक्न निर्देशन दिएको नगर प्रमुख राजन पौडेलले बताए ।
‘जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२ मा व्यवस्था भएबमोजिम, अबदेखि आयोजना बैंकमार्फत छनोट भएका योजनाहरूमा मात्र बजेट विनियोजन गर्न पाइनेछ’ नगर प्रमुख पौडेलले भने ।
पौडेलका अनुसार योजना छनौट प्रक्रियालाई पारदर्शी आवश्यकतामा आधारित र प्रणालीबद्ध बनाउन उपमहानगरपालिकाले यो कानुनी प्रबन्धलाई लागू गर्न लागेको हो ।
आयोजना बैंकलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित कर्मचारी र जनप्रतिनिधीलाई विभिन्न चरणमा प्रशिक्षण समेत दिइसकिएको छ ।
‘नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू र सबै वडा सचिवहरूलाई प्रशिक्षणमुलक कार्यशालामा सहभागी गराइसकिएको छ’ नगर प्रमुख पौडेले भने ।
नीति तथा कार्यक्रम यसअघि नै ल्याइसकेको उपमहानगरपालिकाले असार ७ गते बजेट ल्याउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4