+
फिफा विश्वकप २०२६ :

मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम

२०८३ असार  ५ गते ८:४१ २०८३ असार ५ गते ८:४१

मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहआयोजक मेक्सिको दक्षिण कोरियालाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
  • मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जित दर्ता गर्दै टोली एक खेलअगावै नकआउट चरणमा पुगेको हो ।

५ असार, काठमाडौं । लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिकाे समूह ए काे विजेताकाे रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ ।

रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि पर्याप्त भयो ।

खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि मेक्सिकोले फाइदा उठायो । मिडफिल्डर रोमोले सही समयमा बललाई खाली पोस्टको दिशा दिए ।

दक्षिण कोरियाले खेलको ८७औँ मिनेटमा बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, चो ग्यु–सुङको नजिकैको हेडरलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले बचाए ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्याे ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो । २ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जिवितै छ ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

समूहको शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको मेक्सिकोले जुलाई १ मा मेक्सिको सिटीमा हुने राउन्ड अफ ३२ को खेलमा समूह सी, ई एफ एच वा आई मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

खेलपछि मेक्सिकोका प्रशिक्षक जोभियर एगिरेले एउटा गल्तीले नै जित–हारको निर्णय भएको बताए ।

‘खेल कठिन थियो । हामी उनीहरूलाई राम्रोसँग चिन्छौं । उनीहरूले हामीमाथि धेरै दबाब सिर्जना गरे । उनीहरूले हामीलाई कुनै पनि खाली ठाउँ दिएनन्, र हामीले पनि उनीहरूलाई दिएनौं । अन्ततः खेल यस्तो बन्यो कि एउटा गल्तीले नै जित–हारको निर्णय गर्ने जस्तो महसुस भयो,’ उनले भने ।

दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले आफ्नो योजना अनुसार नै खेलेपनि गोल खानु निराशाजनक भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले ठ्याक्कै आफ्नो योजना अनुसार नै खेल्यौँ। जुन तरिकाले हामीले गोल खायौँ, त्यो निराशाजनक थियो। हामी समूह चरणको अन्तिम खेलमा आफ्नो सम्पूर्ण शक्तिका साथ प्रस्तुत हुनेछौँ ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय