माया : शिव परियार
गजल सुन्न मन पराउनेहरूका लागि ‘माया’ नयाँ प्लेलिस्टमा थपिन सक्छ । नृपेश उप्रेतीको शब्द, केशव पौडेलको संगीत र शिव परियारको स्वर रहेको यो गजल प्रेम, श्रद्धा र सम्मानबारे लेखिएको छ । ‘मुतकारिब मुसम्मन सालिम’शास्त्रीय बहरमा लेखिएको यो गजलले श्रोतालाई पक्कै नयाँ स्वाद दिने छ ।
नसोच्नू म हारेर हार्नेछ माया
कसैले न कसैले
सिँगार्ने छ माया
नसोच्नू म हारेर हार्नेछ माया
खेरै जाने माया : केहर एन्ड द लुङ्गा
तिमीलाई सम्झेर, बैगुनी, सरर जस्ता गीतहरू दिएर आफ्नो प्रकारको छवि बनाउन सफल केहर सिंह लिम्बु नयाँ गीत लिएर आएका छन् । यो उनको ब्यान्ड केहर एन्ड द लुङ्गाको प्रस्तुति हो । गीतमा न्यारेसनको पनि प्रयोग गरिएको छ । अनि गीतको मात्र कुरा गर्दा विछोड पछाडिको एउटा प्रेमीको कथा गाइएको छ । यस्तो प्रेमी जसले कुनै समय मायालुलाई सब थोक ठानेको थियो । तर, जब त्यो मायालु साथमा छैन । त्यही भावना यो गीतमा गाइएको छ ।
मेरा सुख तिमीलाई दिएँ
मैले दु:ख आफैं राखेँ
मेरा कथाहरूमा सुरुआत तिमी नै तिमी नै त हौ नि
खेरै जाने माया लाएँ…
भुलि गयौं
अन्त्यमा रुनै पर्ने
म नै रहेछु
तिमी त टाढी गयौं
सकेँ : ओसिस थापा
जुनी भरिलाई, भिखारी, अपरिचित भावना जस्ता गीत निकालेर लाखौं श्रोताको मन जितिसकेका ओसिस थापा यस पटक नयाँ गीत – सकेँ– सहित आएका छन् । यो गीतमा पनि उनको सिङ्नेचर शैलीहरू सुन्न सकिन्छ । प्रेममा पाएको धोका, विवशता र आत्मसमर्पण गाइएको यो गीतमा विछोडको पीडा, मानसिक द्वन्द्व र निराशा सुनिन्छ । एउटा प्रेमीको मार्मिकता र विलाप गाइएको यो गीतको म्युजिक भिडियो पनि उस्तै जबरजस्त रहेको छ ।
सके त म दिने थिएँ
बँचेकुचेका सारा
मेरो माया तिमीलाई
मेरो माया तिमीलाई
सोचिन कहिल्यै तिम्रैबारे
तिम्रै आँखा कै परेलीले झुक्याउँला
तोडेर जोडिँदै
ढाकेर रोकिँदै
तड्पेर जोगिँदै
सम्हाँलुला
दोभान : निशान मगर
यदि तपाईं ९० को दशकको नेपाली संगीतको प्रशंसक हुनुहुन्छ भने यो गी तपाईंको प्लेलिस्टमा थपिन सक्छ । किनकि निशानले त्यो समयको झल्को दिने गरी दोभान लिएर आएका छन् । उनले यो गीतमा त्यो समयको संगीतप्रतिको आफ्नो लगाब झल्काएको बताएका छन् । निशान नेपाली संगीतको हकमा नयाँ छन् । यो उनको पहिलो आधिकारी गीत हो । गीतको कुरा गर्दा यसमा एउटा प्रेमीको सामिप्यता र निश्चल प्रेम सुन्न सकिन्छ।
बग्दै आउनु खोला तीरैतीर
भेटौंला एकै दोभान
माया तिमी बुकी फूल
टिपी लाउन लाग्यो रहर
तिमी सुन्दर जून झैं
ती आँखामा डुब्छु मै
खुसी हुनु फूलिरहनू
तिमी सदा
सदा बहार…
जोवन छोटो छ : दिबेन एन्ड द सन
लोक भाकामा आधारित यो गीतमा आधुनिक शैली मिसाइँदा बडो सुन्दर सुनिन पुगेको छ । यसमा आलाप मात्र पनि मिठो सुनिएको छ । यसैगरी गीतारको काम पनि सुन्दर तरिकाले गरिएको छ । यो ब्यान्ड भर्खरै भर्खरै खोलिएको हो । ब्यान्डको रूपमा दिबेन एन्ड द सनको यो पहिलो गीत हो । गीतको मात्र कुरा गर्दा स्थानिय र रैथाने बिम्बहरूको प्रयोग गरिएर एउटा प्रेमीको रहरहरू गाइएको छ ।
उकालीको वर पीपल, चौतरी
छौ कि कोही
मन मिल्ने दौतारी
जोवन छोटो छ
माछी बस्ने खोलीको लेउमा
माया बस्ने कलेजी छेउमा
जीवन छोटो छ
माया चोखो छ
परी : यात्रा
चितवनमा रहेर सफ्ट रक म्युजिकमा काम गर्दै आइरहेको ब्यान्ड यात्राको नयाँ गीत परी इन्डी शैली, सफ्ट रक विधा मन पराउनेका लागि नयाँ प्लेलिस्टमा थपिन सक्छ । यो गीतको शब्दहरू पनि कन्फेस्नल शैलीमा लेखिएको छ । जहाँ एक जनाले कसैलाई सुरुदेखि कसरी प्रेम गर्दै गइरह्यो भनेर वर्णन गरिएको छ। यो गीतमा केही पनि लाउड सुनिएको छैन ।
जब म
आफूमा हराएको थिएँ
त्यो पल एउटा परी देखेँ
त्यो परी मेरो सामु आइ
मेरो हात समाउन थाली
अनि भन्छिन् – तिमी मलाई साथ
म खुसी तिम्लाई दिनेछु….
मनैबाट : रोशन श्रेष्ठ
यो गीतमा प्रेमको निष्कपट स्वीकारोक्ति, समर्पण र मिलनको उत्कट चाहना सुनिन्छ । सफ्ट रक शैलीमा आधारित यो गीतमा प्रेमीले आफ्नो मनको कुरा सुनिदिन र बुझिदिन मायालुलाई अनुरोध गरिरहेको छ । यसमा प्रेमसँगै आफ्नो कमजोरी र गल्ती स्वीकार्ने शालिनता पनि सुनिएको छ । यदि तपाईंलाई शान्त हुँदाहुँदै पनि गह्रौं सुनिने गीतहरू मन पर्छ भने यो तपाईंको नयाँ प्लेलिस्ट बन्न सक्छ ।
बुझि देऊन मलाई तिमी
यो मनैबाट माया गर्छु तिमीलाई
भन्न खोज्छु म तिमीलाई यो मनको कुरा
तिमी सुनी देउन
यो मनैबाट माया गर्छु
यो मनैबाट सम्झन्छु…
मेरो फूल तिमी : ओसिन चाम्लिङ राई
यो गीतमा प्रशंसा, सादगी र वर्तमान पललाई सँगाल्ने कुरा सुन्न सकिन्छ । भविष्यको चिन्ता छाडेर वर्तमानमै आफ्नो मायालुलाई सर्वस्व मान्ने र उनको सुन्दरताको उत्सव मनाउने यो गीतमा निस्वार्थ, सरल र गहिरो प्रेम सुन्न सकिन्छ । गीतको केही भागमा साउन्डमा खेल्ने प्रयास पनि गरिएको छ । त्यसले केही फरक झिल्को दिन्छ ।
बगैंचा भरीको फूल तिमी
अँध्यारो रातको जून तिमी
ऋतुहरूमा वसन्त तिमी
रङ्गैरङ्गले भरिएको इन्द्रेणी तिमी
थाहा छैन भविष्यमा के हुन्छौं हामी
तर तिमीलाई मेरो फूल तिमी
द माउन्टेन टिकलड माइ फिट : क्याडेन्जा कलेक्टिभ
ज्याजको फ्यान हुनुहुन्छ भने क्याडेन्जा कलेक्टिभका गीतहरू तपाईंको प्लेलिस्टमा हुनै पर्छ । उनीहरूले लामो समयपछि नयाँ सिर्जना लिएका छन् । यो गीत बढी इन्ट्रुमेन्टल छ । तर, तपाईंले हरेक बाजाहरूको नोट्सको मज्जा लिन पाउनुहुन्छ। चाहे ब्यास गीतार होस्, ड्रम होस्, स्याक्सोसफन।
यी बाहेक एस्टर ब्यान्डको बिहानी (रअ भर्सन), तुन्ना बेल थापाको म मौनतामा (रेन्डिसन भर्सन), हृत्तल निरौलाको खुसी, दिपेश लामाको लम्जुङको गावैमा, अमिश बुढाथोकीको मेरी माया, प्रतीक चापागाईंको जहाँ पनि लगायतका गीतहरू सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4