+
+
Shares
रंगमञ्च :

‘सर, यो नाटकको लत छुटाउने कुनै औषधि छैन ?’

सही समयमा आफ्नो करियरलाई ध्यान दिन सकिनँ, छिट्टै पारिवारिक बन्धनमा बाँधिएछु

सापेक्ष सापेक्ष
२०८३ असार ५ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङका ३६ वर्षीय बुद्धिराम चौधरी पारिवारिक र आर्थिक कठिनाइका बाबजुद रंगमञ्चप्रतिको तीव्र चाहनाका कारण पुनः काठमाडौँ आएर अभिनयमा सक्रिय भएका छन् ।
  • पारिवारिक जिम्मेवारी र अभिनयप्रतिको रूचिलाई अघि बढाउन कठिन भए पनि उनले आफ्नो नाट्य यात्रालाई निरन्तरता दिइरहेका छन् ।

लाजिम्पाटबाट करिब डेढ घण्टा हिँडेर उनी थापागाउँमा भर्खरै खुलेको एक थिएटर नेपालमा पुग्छन् । नाटक सकिएपछि साँझ फेरि त्यही बाटो पैदलै फर्किन्छन् । यो बुद्धिराम चौधरीको विगत दुई महिना यताको दैनिकी हो ।

नाटक खेल्नकै लागि उनी दाङको तुल्सीपुर, गोलौरीबाट काठमाडौँ आएका हुन् ।

३६ वर्षीय बुद्धिरामलाई नजिकबाट नियाल्दा उनमा धेरै विरोधाभाषहरू भेटिन्छन् । उनको भित्री रहर अभिनय छ । तर, परिस्थितिले उनलाई त्यसबाट टाढा पुर्‍याउन खोज्छ । अनि, उनको जीवन एउटा नाटकझैं लाग्छ । किनकि पर्दा पछाडिको संघर्ष र मञ्चको अभिनयबीच एउटा नमिठो द्वन्द्व उनको जीवनमा चलिरहेको हुन्छ ।

रंगमञ्च उनले चाहेको, खोजेको कुरा हो । भूमिका सानो होस् वा ठूलो सशक्त प्रस्तुति गर्न उनी सदा प्रयासमा हुन्छन् । नियति उनले नचाहेको कुरा हो । जसले सधैं उनलाई अभिनयबाट दूर बनाउन खोजिरहन्छ ।

अहिले मञ्चन भइरहेको उक्त नाटकमा उनको कुनै संवाद छैन । बिनासंवाद दर्शकलाई मन्त्रमुग्ध पार्न सफल छन् उनी । तर, जब मञ्चको उज्यालो निभ्छ र कोठातर्फ लाग्छन्, त्यहाँ आर्थिक अभाव र पारिवारिक अपेक्षाको एउटा अर्को ट्र्याजेडी उनलाई कुरिरहेको हुन्छ ।

काठमाडौं इन्ट्री

२०६५ सालदेखि विद्यालयका कार्यक्रमहरूबाट सुरु भएको थियो उनको अभिनय यात्रा । साथीभाइको ताली र प्रशंसाले उनलाई एउटा यस्तो नसामा डुबायो, जसबाट उनी आजसम्म मुक्त हुन सकेका छैनन् । किनकि उनी नाटकलाई नसा नै मान्छन् ।

‘अरू जाँड, रक्सी चुरोटको नसामा परे होलान् । तर, म चैँ नाटकको नसामा परेँ’ उनी सुनाउँछन् ।

तर, ती वर्षहरूमा उनलाई थाहै थिएन- नाटक के हो ? नाटक कसरी गरिन्छ ? बस् उनलाई कुनै पात्र निभाउनु मात्र थियो । उनले २०६७ सालमा एसएलसी सके । त्यही वर्ष उनले बागबजारमा नाटक सिकाइन्छ भन्ने विज्ञापन ‘साप्ताहिक’ पत्रिकामा देखे । उनलाई रंगमञ्चको दुनियाँमा छिर्नु थियो । र, त्यही जोशमा काठमाडौं आए ।

तर, त्यसबेला नाटक सिक्न पाएनन् । परिस्थिति त्यस्तै बन्यो । अनि फेरि चाँडै काठमाडौं आउने सोचेर गाउँ नै फर्के । प्लस टूमा भर्ना भए ।

काठमाडौं इन्ट्री २

उनले १२ कक्षाको परीक्षा दिए । तर उत्तीर्ण हुन सकेनन् । थप अध्ययनको बाटो पनि रोकियो । यता काठमाडौं गएर जसरी पनि नाटक सिक्ने भोक थियो । त्यसपछि २०७० सालमा उनी पुनः काठमाडौँ फर्किए ।

गाउँमा हुँदादेखि नै मण्डला थिएटरमा बारम्बार फोन गरेर नाटक सिकाउने समयबारे बुझिरहन्थे । काठमाडौंमा आएपछि उनी सोझैं मण्डला थिएटर गए ।

बुद्धिराम मण्डला थिएटरको पहिलो ब्याचका विद्यार्थी हुन् । त्यतिबेला नाटक सिक्नका लागि शुल्क थियो २० हजार । उनका लागि त्यो ठूलो रकम थियो । उनको आर्थिक अवस्था बुझेर थिएटरले १० हजार रुपैयाँ छुट दियो ।

त्यो १० हजार जुटाउन पनि उनले निकै पापड पेल्नुपर्‍यो । बिहान नाटकको क्लास हुन्थ्यो । अरू समय उनी अनामनगरको एक रेष्टुराँमा भाडा माझ्ने काम गर्थे । त्यसबेला मण्डला पनि अनामनगरमै थियो ।

अर्कोतिर बुद्धिरामले विवाह पनि गरिसकेका थिए । छोरो जन्मिसकेको थियो । जिम्मेवारीले थिचिसकेको थियो । तैपनि उनी आफ्नो सपना पछ्याइरहेका थिए ।

एउटा बिन्दुमा पुगेपछि त्यो जिम्मेवारीले यति धेरै थिच्यो कि उनी नाटक सिकिरहन सकेनन् । ६ महिनाको कक्षामा केही महिना मात्रै नियमित गर्न पाए । अनि फेरि गाउँ फर्किए । दयाहाङ राईको निर्देशनमा मण्डलाको पहिलो ब्याचले मञ्चन गरेको नाटक ‘सिरुमा रानी’ मा अभिनय गर्ने अवसर समेत उनले गुमाए ।

त्यो कुरामा अहिले पनि उनलाई थकथक लागिरहन्छ । आफूसँगै ब्याचका साथीहरूले राम्रो प्रगति गरिरहेको देख्दा आफू पनि त्यस्तै हुन्थें होला भन्ने लागिरहन्छ बुद्धिरामलाई ।

काठमाडौं इन्ट्री ३

मण्डला थिएटरको कक्षा पूरा गर्न नसकेको थकथकी उनमा छँदै थियो । दाङमै रहेर उनी घर सम्हाल्ने कोसिसमा थिए । उनले राष्ट्रिय नाचघरमा ६ महिनाको नाट्य कार्यशाला हुने खबर पाए ।

त्यसपछि फेरि उनी काठमाडौं आए । त्यसबेला २०७२ सालको बिनासकारी भूकम्पले भत्केको धरहराको जग बन्दै थियो । बुद्धिरामले त्यहीँ ज्यामीको काम पाए । उनी रातभर त्यहाँ काम गर्थे अनि बिहान आँखा मिच्दै नाचघरमा अभिनय सिक्न पुग्थे । त्यो त्यागले उनलाई प्रतिफल पनि दियो ।

कार्यशालापछि उनले तीन वटा नाटकमा अभिनय गरे । नासो, एक चिहान र नेपाल गाथा । नेपाल गाथा नाटक हेर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समेत आएको उनले सुनाए ।

तर, त्यसपछि उनलाई परिवारको बोझले थिच्दै गयो । उनी फेरि गाउँ फर्किए ।

सपना र जिम्मेवारीको द्वन्द्व

बुद्धिराम आफ्नो जीवनको सबैभन्दा ठूलो द्वन्द्व आफ्नो सपना र परिवारको अपेक्षा बीचको खाडल भएको सुनाउँछन् । किनकि, उनले जे गरिरहेका छन्; त्यसबाट उनले परिवारलाई कहिल्यै पनि खुसी दिन सक्दैनन् । यो उनलाई राम्ररी थाहा छ । अर्कोतिर यदि उनी परिवारको आवश्यकताकै पछि लाग्नुपर्दा छटपटिन्छन् ।

यो कुराले उनलाई कताकता ग्लानी पनि हुन्छ । पश्चाताप हुन्छ ।

‘कहिलेकाहीँ त मलाई विवाह गरेकोमा पश्चाताप पनि लाग्छ’ उनी सुनाउँछन्, ‘परिवार आफ्नो कुरामा सही छ । म पनि आफ्नो ठाउँमा सही छु । सही समयमा आफ्नो करियरलाई ध्यान दिनुपर्नेमा छिट्टै पारिवारिक बन्धनमा बाँधिएछु ।’

घरको आर्थिक अभाव सुधार्न उनले कुनै समय अभिनय पूरै छाड्ने प्रयास पनि गरेका थिए । विदेश जान पासपोर्ट बनाएका थिए । उनलाई भिसा पनि लागेको थियो । तर, समय प्रतिकूल बन्दा विदेश जान पाएनन् । चुनाव ताका उनी दुईपटक निर्वाचन प्रहरी पनि बने ।

एक पटक त निर्वाचन प्रहरी बन्न जाँदा उनले नाटकमा ठूलो अवसर गुमाएका थिए । उनलाई अभिनेत्री दिया मास्केले निर्देशन गरेको ‘कथा कस्तुरी’ मा अभिनयको प्रस्ताव आयो । जुन भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा मञ्चनका लागि जाने कुरा पनि थियो । तर, केही पैसा आउँछ कि भनेर उनी निर्वाचन प्रहरी बन्न गए । त्यो बेला न उनी निर्वाचन प्रहरी बने न त नाटक नै गर्न पाए ।

यस्ता कुराहरूले पनि उनलाई हिर्काइरहन्छ ।

काठमाडौं इन्ट्री म्याक्स

एक पटक उनले वरिष्ठ रंगकर्मी सुनिल पोखरेललाई सोधेका थिए, ‘सर, यो नाटकको नसा छुटाउने कुनै औषधि छैन ? जस्तै जाँडरक्सी छुटाउने औषधि हुन्छ नि, त्यस्तै ।’

त्यसबेला उनले गुरुकुल थिएटरमा पोखरेलसँग प्रशिक्षण लिइरहेका थिए । पोखरेलले हाँस्दै जवाफ दिएका थिए, ‘बाबु, यसको कुनै औषधि छैन । कि त गर्नुपर्छ कि त छोड्नुपर्छ, विकल्पै छैन ।’

त्यो कुराकानी बडो मार्मिक भएता पनि उनले नाटक छाडेनन् । घरकाले जे भने पनि त्यताको व्यवहारिक पाटोलाई मिलाउँदै नाटक गरिरहे । काठमाडौंमा खुल्ने नाट्य प्रशिक्षणहरूमा सक्दो भाग लिइरहे ।

त्यही सिलसिलामा अहिले मञ्चन भइरहेको नाट्य समूहका मान्छेसँग उनको चिनजान भएको थियो । र, बुद्धिराम दाङमै हुँदा उनलाई अभिनयको प्रस्ताव आएको थियो । र, अहिले उनी यहाँ छन् ।

आशाको त्यान्द्रो

नाटकबाहेक उनले केही फिल्महरूमा स-साना रोलहरूमा अभिनय गरिरहेका छन् । यसअघि क्राइम प्याट्रोल सिरिजमा उनले प्रहरी हल्वदारको अभिनय गरेका थिए । तर, फिल्ममा गरिने यस्ता मौकाहरू कुनबेला पाइन्छ कुनै ठेगान हुँदैन।

दाङमा हुँदा भने उनी सडक नाटक गरिरहन्छन् । केही साथीहरूसँग मिलेर । छुवाछुत, लैङ्गिक विभेद जस्ता विषयमा नाटक बनाउने र तिनको प्रदर्शनी छिमेकी जिल्लाहरूमा समेत गर्ने गरेका छन् । यसरी अहिलेसम्म डेढ दर्जनभन्दा बढी सडक नाटक गरिसकेको उनी सुनाउँछन् ।

अब दाङको घोराहीमा ‘पहल थिएटर’ बन्दैछ । त्यहाँ मिलेर काम गर्न आफूलाई बोलाएको उनी सुनाउँछन् । यसरी एउटा नजरबाट उनी अभिनयको आफ्नो भविष्य देखिरहेका छन् ।

तर, उनलाई थाहा छैन – नाटकको परिभाषा के हो ? यसमा त्यस्तो के छ – जसले सदा सम्मोहन गर्छ ? यसले किन परिवारको अपेक्षाहरू पूरा गर्न सक्दैन ? नाटक किन नसा झैं हुन्छ ? यसले दिने खुसी किन अर्थोक गर्दा मिल्दैन ?

बस्, मञ्चमा छिरेपछि झुटलाई पनि सत्य लाग्ने गरी बोल्नुपर्छ भन्ने मात्र उनलाई थाह छ ।

त्यसरी उनले कतिञ्जेलसम्म पो बोल्ने हुन् !

तस्बीरहरू: उमेश सापकोटा/बुद्धिराम चौधरी

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?