News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले शुक्रबार खुलामञ्चमा एक विशेष कार्यक्रम आयोजना गरी 'टोल टोलमा फिल्म महोत्सव'को औपचारिक शुभारम्भ गरेको छ ।
- असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरूमा यो महोत्सव सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
- महानगरले कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो ।
महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो ।
महानगरपालिकाका अनुसार महोत्सव असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा प्राप्त लघु चलचित्रहरू प्रदर्शन गरिनेछन् ।
कार्यक्रम व्यवस्थापनका लागि स्थानीय संघसंस्था छनोट गरिएको छ । पहिलो दिनको कार्यक्रम इकोज इन द भ्यालीले व्यवस्थापन गरेको छ भने शनिबार असन क्षेत्रमा नीलः सांस्कृतिक क्लबले महोत्सव सञ्चालन गर्नेछ । यसैगरी, बालाजु, बागबजार, यट्खा बहाल, लगनटोल र मैतीदेवी क्षेत्रमा पनि महोत्सवका कार्यक्रम आयोजना गरिनेछन् ।

महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने, रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने तथा स्थानीय स्तरमा सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्र, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक कार्यक्रम तथा मौलिक खानाका परिकारसमेत प्रस्तुत गरिनेछन् ।
यसै अवसरमा फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ र ‘बेस्ट साउन्ड क्रियसन अवार्ड’ जितेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।
निर्देशक अविनाशविक्रम शाहको उक्त चलचित्रले कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।
महानगरपालिकाले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएका लेखक, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित सम्पूर्ण सर्जकको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको जनाएको छ। काठमाडौं र फ्रान्सको कान्स दुवै सहर युनेस्को क्रियटिभ सिटिज नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन् ।


प्रतिक्रिया 4