News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्जोग कोइरालाद्वारा स्थापित वित्तीय साक्षरतासम्बन्धी युट्युब च्यानल ‘आइडियाप्रेनर नेपाल’ को सब्सक्राइबर सङ्ख्या ६ लाख पुगेको छ।
- वित्तीय विषयवस्तुमा आधारित नेपाली प्लेटफर्ममध्ये ६ लाख सब्सक्राइबर पुर्याउने यो पहिलो युट्युब च्यानल बनेको छ।
- यो च्यानलले युवा वर्गलाई लक्षित गरी सेयर बजार, लगानी र वित्तीय योजना जस्ता जटिल विषयलाई सरल भाषामा प्रस्तुत गर्दै आएको छ।
५ असार, काठमाडौं । चम्किरहेको हरियो रङको बिजुलीको बल्ब (चिम) । त्यही बल्बभित्र नेपालको नक्सा अनि चिमले फालिरहेको उज्यालो ।
लगत्तै मुनितिर लेखिएको छ– ‘आइडियाप्रेनर नेपाल’ ।
र, त्यो भन्दा पनि मुनि ठूलो अक्षरमा ‘मेकिङ नेपाल फाइनान्सियल्ली लिटरेट’ अर्थात् ‘नेपाललाई वित्तिय साक्षर बनाउँदै’ लेखिएको छ ।
आजभन्दा करिब ६ वर्षअघि सन् २०२० मा युट्युबमा खुलेको च्यानलको सरसर्ती व्याख्या हो, यी माथिका लाइन । यसको परिकल्पनाकार थिए, सञ्जोग कोइराला ।
उनै कोइराला आज ६ वर्षपछि विशेषत: युवा वर्गका लागि आइडियाप्रेनर मात्रै होइन व्यवसाय, पैसा व्यवस्थापन, लगानी, अर्थतन्त्र तथा सार्वजनिक चासोलाई जनस्तरमा सहजै बुझाउने व्यक्ति बनेका छन् ।
यतिमात्रै होइन, उनले यो ६ वर्षको अवधिमा ६ लाख सब्सक्राइबर युट्युब च्यानलमै कमाएका छन् । यो उपलब्धि वित्तिय विषयवस्तुमै केन्द्रित भएको प्लेटफममध्ये नेपालको पहिलो पनि हो ।
विशेषत: यो च्यानमा भेटिने सामग्री (कन्टेन्ट)हरू सरल र सहज भाषामा प्रस्तुत भएका हुन्छन् ।

शिक्षा, लगानी, बजेटिङ र वित्तीय योजना जस्ता जटिल विषयहरूलाई सरल, व्यवहारिक र सबैका लागि पहुँचयोग्य बनाउने अभियानमा उनले लामो समयदेखि काम गर्दै गर्दै आएका छन् ।
उनका भिडियो र विभिन्न कोर्सहरूले युवा वर्गलाई आत्मविश्वासका साथ आर्थिक निर्णय लिन प्रेरित समेत गर्ने गरेको छ ।
आम सर्वसाधरणले सुनेका तर जटिल लाग्ने विषयलाई कोइरालाले सहजै व्याख्या गर्छन् । अझै उनले भिडियो सामग्रीमा त्यसलाई प्रष्ट हुनेगरी, सबटाइटल र तस्वीरहरू पनि प्रयोग गर्छन् ।
यसले नेपाली समाजमा वित्तिय शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञानको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कोइरालाको बुझाइ छ ।
सेयर बजारमा कसरी लगानी विस्तार गर्ने ?, आफ्नो वित्तिय विकासका लागि कस्ता किताब पढ्ने ?, घर जग्गा कारोबार कसरी गर्ने ?, क्रेडिट कार्ड, डेबिट कार्ड कसरी चलाउने ? लगायतका थुप्रै दैनिक जीवनमा आवश्यक पर्ने भिडियोहरू यो पेजले बनाउँदै आएको छ ।
जसले दर्शकलाई पैसा, बजार, लगानी तथा आधुनिक अर्थतन्त्रका अवसरहरूबारे बुझ्न झनै मद्दत गरेको छ ।
प्रतिक्रिया 4