६ असार, तेह्रथुम । उमेर बढ्दैजाँदा शरीर कमजोर बन्दैजान्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा स्वास्थ्य समस्या पनि आउन थाल्छन् ।
यसर्थ, पाको उमेर प्राय: व्यक्तिलाई स्वास्थ्य सेवा अनिवार्य बन्छ ।
तर, त्यो उमेरमा सहजै अस्पताल तथा स्वास्थ्य संस्था आउजाउ गरिरहन पनि सहज हुन्न । झन् त्यसमा दुर्गम पहाडी बस्तीका ज्येष्ठ नागरिकलाई अझ कठिन हुन्छ ।
नेपालका पहाडी बस्तीमा आर्थिक अभाव, भौगोलिक विकटता, यातायात सुविधाको कमी त विद्यमान छ नै, त्यो सँगै अहिले गाउँबस्तीमा युवाहरूको उपस्थिति पनि पातलो छ । त्यसले आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल लैजाने जनशक्ति पनि गाउँमा छैन ।

यस्तो अवस्थामा ज्येष्ठ नागरिकका लागि राज्यको भूमिका अझ बढेको छ ।
तेह्रथुमको छथर गाउँपालिकाले त्यो संवेदनशिलतालाई मध्येनजर गर्दै घरदैलोमा स्वास्थ्य उपचार सेवालाई प्राथमिकता दिन थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि ‘जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपहार कार्यक्रम’ कार्यक्रम चलाउँदै आएको छ । त्यसलाई विस्तार गर्दै लगेको छ ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्वयंसेवकसहितका टोली गाउँघरसम्म पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण गर्दैआएको छ । सँगै हरेक वर्ष सम्मानको कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ ।

यसले जेष्ठ नागरिकलाई राहत मिलेको गाउँपालिकाको दाबी छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले ज्येष्ठ नागरिकले भोग्नुपरेको समस्यालाई थोरै भएपनि राहत पुगोस् र सम्मानित महशुस होस् भनेर गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिइरहेको बताए ।
यस्तै, जेष्ठ नागरिकहरूलाई आवश्यक पर्दा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको उनले जानकारी दिए । सँगै छथर अस्पतालमा ज्येष्ठ नागरिकको उपचार सेवा पनि नि:शुल्क रहेको उनले बताए ।

प्रतिक्रिया 4