News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक’ आगामी २६ अगस्ट २०२६ मा विश्वभर प्रदर्शन हुने भएको छ ।
- सार्वजनिक नयाँ पोस्टरमा अभिनेता यशको ‘राया’ र ‘टिकट’ गरी दुईवटा फरक रूप प्रस्तुत गरिएको छ ।
- गीतु मोहनदासद्वारा निर्देशित यस फिल्ममा कियारा आडवाणी, नयनतारा र हुमा कुरैशी लगायतका कलाकारको अभिनय रहनेछ ।
भारतीय अभिनेता यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन अप्स’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता पक्षले फिल्म आगामी २६ अगस्ट २०२६ (१० भदौ) मा विश्वभर रिलिज हुने जनाएको छ ।
रिलिज मितिसँगै यशको डबल अवतार झल्किने नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा उनको दुई फरक पात्र ‘राया’ र ‘टिकट’ को लुक देखाइएको छ, जसले प्रशंसकमाझ थप उत्साह पैदा गरेको छ ।
यशले फादर्स डे (२१ जुन) को अवसरमा पोस्टर सार्वजनिक गर्दै ‘आफ्ना पिताको सम्मान गर’ भन्ने सन्देश लेखेका छन् । पोस्टर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसकको उत्साह उल्लेखनीय रूपमा बढेको छ ।
प्रदर्शन मिति यसअघि पटक-पटक परिवर्तन गरिएको थियो । सुरुमा यो फिल्म १० अप्रिल २०२५ मा रिलिज हुने तय भएको थियो । त्यसपछि मिति सारेर १९ मार्च २०२६ बनाइयो भने पछि फेरि ४ जुन २०२६ मा प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण फिल्म उद्योगको काम प्रभावित भएकाले प्रदर्शन स्थगित गरिएको निर्माता पक्षले जनाएको थियो । यद्यपि, केही रिपोर्टअनुसार मार्चमा प्रदर्शन हुने भनिएको अर्को ठूलो फिल्म ‘धुरन्धर २’ सँग बक्स अफिस भिडन्त टार्न पनि रिलिज मिति सारिएको बताइएको थियो ।
करिब ८०० देखि ८५० करोड भारतीय रुपैयाँ बजेटमा निर्माण भएको ‘टक्सिक’ मा यशसँगै कियारा आडवाणी, हुमा कुरैशी, अक्षय ओबेरोय, तारा सुतारिया, टोभिनो थोमस, नयनतारा, रुक्मिणी वसन्त र सुदेव नायर को अभिनय रहेको छ ।
फिल्मको निर्देशन गीतु मोहनदासले गरेकी हुन् । कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । ‘टक्सिक’ लाई एकैसाथ कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको छ भने हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा डब गरेर प्रदर्शन गरिनेछ ।
यश स्वयं पनि फिल्मका निर्माता हुन् । उनले वेंकट के. नारायण सँग मिलेर फिल्म निर्माण गरेका छन् ।
प्रतिक्रिया 4