केही दिनअघि मात्र धनगढी, शिवपुरी धाम मन्दिरनजिक बोराभित्र हालेर फालिएको अवस्थामा एउटा कुकुर भेटियो । सो कुकुरलाई भित्र हालेर बोराको मुख टनटनी बाँधिएको थियो । मर्नु न बाँच्नुको अवस्थामा प्रहरीले उक्त कुकुरको उद्वार गरी कुकुरधनीलाई बुझाए ।
सो कुकुरले कुनै बिगार गरेको, मान्छे टोकेको थिएन । बरु डिस्टेम्पर नामक रोग लागेको थियो । आफैं रोगले थलिएको यो कुकुरलाई बोरामा राखेर एकान्तमा फालिएको रहेछ । स्थानीयका अनुसार कुकुरधनीले कुकुर जिम्मा लिए पनि थप उपचार गरेनन् । पशु कल्याणको काम गरिरहेकी ऋतिका गुरुङले औषधि उपचार गरिदिँदै थिइन् । तर, कुकुरलाई बचाउन सकिएन ।
यसरी कुकुरमाथि क्रुरता गर्नेविरुद्ध प्रहरीमा उजुरी दिने तयारी भइरहेको ऋतिकाले बताइन् । ‘हिजो र आज बिदा भएकाले उजुरी लिएका छैनन् । भोलि उजुरी गरेर कारबाही अगाडि बढाउने छौं ।’
धनगढीमा कुकुरमाथि क्रूरता गरेको एक दिन बित्न नपाउँदै दमक–८ मा निर्माणधीन भवनमा कुकुरलाई झुन्ड्याएर मारियो । स्थानीयका अनुसार कुकुरले एक बच्चालाई टोकेको निहुँमा यसरी मारिएको हो ।
कुकुरले बच्चालाई टोकेपछि उनीहरूले दमक नगरपालिकामा व्यवस्थापनका लागि सहयोग मागेका थिए । तर नगरपालिकाले ‘आफैँ व्यवस्थापन गर्नू’ भनेपछि झुण्ड्याएर मारिदिएको पशु कल्याणका क्षेत्रमा काम गरिरेका इरफान खानले बताएका छन् । ‘यस विषयमा हामीले प्रहरीसँग कारबाहीका लागि आग्रह गरेका छौं’ इरफान भन्छन्, ‘प्रहरीले आवश्यक कानुनी कारबाही गर्ने बताएका छन् ।’
पछिल्लो समय सामुदायिक कुकुरमाथि यस किसिमको ज्यादती बढ्दो छ । तर, कुकुर मारेको घटनामा प्रहरीले हत्तपत्ती उजुरी नलिने, लिएपनि कारबाही नगर्ने प्रवृत्ति रहेको एलिना प्रसाईं गुनासो गर्छिन् ।
उनी विराटनगरस्थित एलिनाज एनिमल प्रिजरभेन्सन नेपालकी अध्यक्ष हुन् । बिराटनगरमा घाइते, रोगी कुकुरको उपचार गर्दै र आश्रय दिदै आएकी एलिना भन्छिन्, ‘सडक कुकुरले टोक्छ र टोक्नसाथ रेबिज लाग्छ भन्ने आम धारणा छ । त्यसैले सडकका कुकुरहरुलाई मार्ने, लखेट्ने कुरा सामान्य बन्दै आएको छ ।’ उनको क्षेत्रमा दिनहुँजसो कुनै न कुनै कुकुरमाथि हिंसा हुने गरेको छ ।
प्रतिक्रिया 4