News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन र साउदी अरेबियाबिचको दोस्रो खेल आज राति पौने १० बजे एटलान्टा रङ्गशालामा शुरू हुँदैछ ।
- पहिलो खेलमा केप भर्डेसँग बराबरीमा रोकिएको स्पेन साउदी अरेबियाविरुद्ध स्पष्ट जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
- यी दुई टोलीबिच यसअघि भएका ३ वटै भेटमा स्पेनले साउदी अरेबियालाई पराजित गरेको थियो ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा स्पेन साउदी अरेबियासँग खेल्दैछ । एटलान्टा स्टेडियममा हुने उक्त खेल राति पौने १० बजेबाट सुरु हुनेछ ।
स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग ०–० को बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबाबमा छ । यो खेलमा अब सुधारिएको प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यमा स्पेन हुनेछ । यो खेलमा हार बेहोरेको अवस्थामा स्पेनलाई दोस्रो चरणमा पुग्न कठिन हुनेछ । यता पूर्व विश्वविजेता उरुग्वेसँग बराबरी खेलेको साउदी मनोबल उच्च बनाउँदै मैदानमा उत्रिनेछ ।

स्पेन पहिलो खेलपछि निराश भए पनि साउदी अरेबियाको माहोल निकै सकारात्मक छ । उरुग्वेसँग १–१ को बराबरी खेलेपछि मुख्य प्रशिक्षक जर्जियोस डोनिसले त्यसलाई मनोबल बढाउने नतिजा भएको बताएका थिए । विश्वकप सुरु हुनुभन्दा दुई महिना अगाडि मात्र टोली सम्हालेका डोनिसले छोटो समयमै टोलीलाई प्रतिस्पर्धी बनाएका छन् ।
साउदीले २०२२ विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिनालाई समूह चरणमा हराएर ठूलो सनसनी मच्चाएको थियो । उत्तरी अमेरिकामा सातौँ पटक विश्वकप खेलिरहेको साउदी अरेबियाको उत्कृष्ट उपलब्धि १९९४ मा अन्तिम १६ सम्म पुग्नु हो ।
सन् २०१० विश्व विजेता स्पेन पछिल्ला दुई विश्वकपमा राउन्ड अफ १६ बाटै बाहिरिएको थियो । २०१४ मा समूह चरणबाटै घर फर्किन पुग्यो । त्यसैले विश्वकपमा स्पेनका लागि यो समय निराशाजनक रहँदै आएको छ । यसपटक पनि पहिलो खेलमै केप भर्डेसँग बराबरी खेल्दै स्पेनले त्यति नियति दोहोर्यायो । दोस्रो खेलमा साउदीसँग जित निकाल्दै स्पेन ती नतिजा बिर्सन चाहन्छ ।
केप भर्डेविरुद्धको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक डे ला फुएन्तेले आक्रमण पंक्तिमा परिवर्तन गर्ने अपेक्षा गरिएको छ । ह्यामस्ट्रिङ चोटबाट निको भएर केप भर्डेविरुद्ध अन्तिम १९ मिनेट मैदान छिरेका लामिन यामाल यस पटक सुरुवाती ११ मा पर्नका लागि प्रयासरत छन् । पहिलो खेलमा ढिलो गरी मैदान प्रवेश गरेका निको विलियम्स पनि सुरुवाती टोलीको दौडमा छन् । फुएन्तेले यी दुवै खेलाडी फेरान टोरेस र गाभीको स्थानमा सुरुवाती ११ मा ल्याउन सक्नेछन् ।
१८ वर्षीय सुपरस्टार स्पेनको फितलो देखिएको आक्रमणमा गति थप्न सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् । स्पेनको देव्रे विंगरबाट खेल्ने विलियम्स आफ्नो गति र वानटुवान क्षमताका लागि चिनिन्छन् । साउदी अरेबियाको रक्षापंक्तिलाई व्यस्त राख्न र ओयार्जाबालका लागि अवसर सिर्जना गर्न उनी नायक बन्न सक्छन् ।

साउदीका कप्तान तथा अनुभवी विंगर सलिम अल–दावसारी साउदी अरेबियाका सबैभन्दा खतरनाक खेलाडी हुन् । राष्ट्रिय टोलीका लागि २७ गोल गरिसकेका उनीसँग ठूला खेलहरूमा उत्कृष्ट गोल गर्ने अनुभव छ । स्पेनले आक्रामक खेल खेल्दा काउन्टर–अट्याकमा उनी चम्कन सक्छन् ।
उरुग्वे विरुद्धको खेलमा गोल गरेर टोलीलाई बलियो स्थितिमा पुर्याएका डिफेन्डर अब्दुल्लाह अल अम्रीको काँधमा यस पटक स्पेनका खतरनाक फरवार्डहरूलाई रोक्ने ठूलो जिम्मेवारी हुनेछ । डिफेन्ससँगै सेट–पिसमा उनी हेडिङमार्फत पुनः चम्कन सक्छन् ।
यी दुई टोलीबिच यसअघि ३ पटक भेट भएको छ । जसमा ३ वटै खेल स्पनेले जितेको छ । सन् २००६ को विश्वमा १–० ले हराएको स्पेनले सन् २०१० मा ३–२ र सन् २०१२ मा ५–० ले जित निकालेको थियो । त्यसपछि भने यी दुई टोलीको भेट भएको थिएन ।

प्रतिक्रिया 4