७ असार, काठमाडौं । मण्डला थिएटरको आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ पालिकामा सञ्चालित स्थानीय थिएटर क्लब गठन तथा कचहरी नाटक अभियान सम्पन्न भएको छ ।
जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा जीआईजेडको ‘सपोर्ट टु जेण्डर इक्वालिटी एण्ड सोसल इन्क्लुजन इन द हेल्थ सेक्टर’ कार्यक्रमसँगको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।
अभियान अन्तर्गत सुदूरपश्चिम र लुम्बिनीका ६ वटा पालिकामा नयाँ स्थानीय थिएटर क्लबहरू गठन गरिएका छन् । डडेलधुराको आलिताल गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, प्युठानको झिमरुक गाउँपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिकामा क्लब गठन गरिएका हुन् ।

क्लबमा स्कुल तथा कलेजका विद्यार्थी, युवा कलाकार, स्थानीय अभियन्ता, स्वास्थ्यकर्मी तथा समुदायका सदस्यहरूको सहभागितामा रहेको छ ।
गठित क्लबहरूले १५ दिने कचहरी नाटक कार्यशाला सम्पन्न गरी स्थानीय स्वास्थ्य तथा सामाजिक समावेशिताका मुद्दामा नाटक तयार पारिएको मण्डलाका कार्यकारी निर्देशक सोमनाथ खनालले जानकारी दिए । उनका अनुसार तयार भएका नाटकहरू प्रत्येक पालिकाका ८–८ वटा विभिन्न स्थानमा प्रदर्शन समेत गरिएको छ ।
त्यस्तै नाट्य प्रदर्शनका क्रममा स्थानीय नागरिकहरूले नाटकमार्फत उठाइएका विषयमा खुला छलफल र अन्तरक्रिया समेत गरेका थिए ।
कार्यक्रमको अनुगमन तथा सहजीकरणका क्रममा स्थानीय सरकार र जनप्रतिनिधिहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको मण्डलाले जनाएको छ । विभिन्न पालिकाका प्रतिनिधिहरूले नवगठित स्थानीय थिएटर क्लबहरूको स्थायित्वका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो अभियान नाटक निर्माण र प्रदर्शनमा मात्र सीमित नभई स्थानीय स्तरमा युवा नेतृत्व विकास, सामाजिक संवाद प्रवर्द्धन तथा समुदायलाई आफ्नै मुद्दामाथि छलफल गर्ने साझा मञ्च निर्माण गर्ने प्रयास भएको मण्डला थिएटरको भनाइ छ ।
यसका साथै मण्डला थिएटरले यस अभियानबाट संकलित अनुभव, कथावस्तु र स्थानीय मुद्दाहरूलाई आधार बनाएर आगामी दिनमा काठमाडौँमा नयाँ नाट्य प्रस्तुति विकास गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया 4