News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आफ्ना नेतालाई भगवान नबनाई गलत कार्यमा प्रश्न उठाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
- चितवनको ऐतिहासिक भरतपुर घटना स्मरण गर्दै उहाँले सहिदहरूको बलिदानका कारण नै मुलुकमा लोकतन्त्र र राजनीतिक अधिकार स्थापना भएको बताउनुभयो ।
- नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको शत्रु नभई प्रतिस्पर्धी भएको उल्लेख गर्दै उहाँले अरूलाई कमजोर बनाएर नभई आफैं अग्लो बन्न चाहेको बताउनुभयो ।
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले २०१८ सालको एउटा ऐतिहासिक घटनाको स्मरण गरे ।
‘तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तिमा ५० जनाको शव गाडिएका छन् । उनीहरूलाई २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको थियो । उनीहरूले चार तारे झण्डा उठाउँदै जय नेपाल भनेका थिए तर आफ्ना लागि होइन लोकतन्त्र, तपाईं र हाम्रा लागि’ थापाले भने, ‘त्यहि कारणले तपाईंले निलो झण्डा फहराउन पाउनु भएको छ । एक पटक झण्डा फहराउँदै गर्दा निलो झण्डा मुनि अलिकति रातो छ । चितवनको जमिनमा पनि त्यो रातो छ । त्यो रातो ती सहिदहरूले लगाएको रातो हो ।’
थापाले उल्लेख गरेको साढे छ दशक पुरानो चितवन, भरतपुरको घटनामा जगतप्रकाशजङ्ग शाह, हरिप्रसाद गुरुङ, बुद्धिसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, पन्चे गुरुङ लगायतको निर्मम हत्या भएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।
२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाडौंबाट सेना पठाइएको थियो ।
रास्वपाका नेताहरूको ‘विगतका सबै खराब’ भन्ने भाष्यतर्फ लक्षित गर्दै थापाले भने, ‘३५ वर्षमा केही भएन नभन्नु होला । पञ्चायतको ३० वर्षका संघर्षका कथालाई अन्डरमाईन पनि नगर्नुहोला ।’
रास्वपाले विधि मिच्यो वा विजय उन्मादले अहंकारी बन्यो भने आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह र ठेकेदारको खुट्टा भाँच्छु भन्ने पूर्वाधार विकास मन्त्री सुनील लम्सालको भनाइको थापाले खण्डन गरे, शाह र लम्सालको नाम उच्चारण नगरी ।
यद्यपि करिब साढे १२ मिनेट भाषण गरेका थापाले अधिकांश समय रास्वपाको आलोचनामा भन्दा आत्मस्विकारोक्तिमा खर्चिए । विगतमा दलहरूले गरेका गल्तीबाट पाठ सिकेर रास्वपा सफल हुनु पर्ने उनको भनाइको सार थियो ।
पार्टी संस्थापन ‘नसुध्रिएको’ भन्दै विशेष महाधिवेशन आयोजना गरेर पार्टीको नेतृत्वमा पुगेका थापाले पार्टीभित्रको कमीकमजोरी सुधार्न सबैभन्दा चुनौतीपूर्ण रहेको बताए । गल्ती गर्दा आफ्नै पार्टीका नेतालाई समेत प्रश्न गर्न छाड्न नहुने उनको सुझाव छ ।

‘बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं । बाहिर लड्न सजिलो हुने रहेछ आफ्नो घरभित्र लड्न गाह्रो हुने रहेछ । किनकी त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ । यही अनुभवको आधारमा म रास्वपाका तमाम साथीहरूलाई भन्न चाहन्छु भर्खर यात्रा सुरु गर्नु भएको छ, सुशासन तपाईंहरूको मन्त्र छ, तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ ।
यसका निम्ति तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन । हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं । बा बनाएर गल्ती गरिसक्यौं । तपाईंले नगर्नु होला । गल्ती गरेका बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौं ।’
थापाको अभिव्यक्ति रास्वपा सभापति रवि लामिछानेलाई ‘भगवान’ मान्ने समर्थक लक्षित भएको बुझ्न गाह्रो छैन । गल्ती गर्ने नेतृत्वलाई समयमै सचेत नगराउँदा सजायको भागीदार हुनु परेको उनको आत्मस्विकारोक्ति थियो ।
‘हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौं । हामीले ढिला गर्यौं । त्यसैले सजाय पनि पायौं,’ थापाले भने, ‘तपाईंहरूले त्यसबाट पनि सिक्नु होला । रास्वपाका प्रत्येक सदस्यहरूलाई म भन्न चाहन्छु आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला ।’
रास्वपाले २१ फागुनको निर्वाचनमा प्राप्त गरेको असाधारण जनमत सदुपयोग गर्न नेताहरू बीच अहंकारको टकराव हुन नहुने र जनमतबाट प्राप्त शक्तिको सीमा बुझ्नु पर्ने थापाको सुझाव थियो ।
रास्वपा असफल भयो भने त्यसले बहुआयामिक असर पार्ने थापाको दाबी छ । ‘इतिहासले हामीलाई यो पनि बताएको छ, जुन–जुन बेला जनमत प्राप्त गरेको दल दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन् । त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो । त्यो पार्टी मात्र होइन सँगै रहेका अन्य पार्टी, प्रणाली, लोकतन्त्र र सबैभन्दा बढी नेपाली नागरिक प्रभावित भए । हाम्रो पुस्ता खेर गयो’ सभापति थापाले भने, ‘त्यसकारणले गर्दा रास्वपाले प्राप्त गरेको यो सफलता सही ढंगले अगाडि बढ्नु पर्दछ ।’
गत भदौको जेनजी आन्दोलनका बेलासम्म कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल थियो । गत फागुनको निर्वाचनपछि रास्वपा सबैभन्दा ठूलो दल बन्दा कांग्रेस प्रमुख प्रतिपक्षी दलमा सीमित भयो । सांसद संख्याको हिसाबले कांग्रेस भन्दा रास्वपा पाँच गुणा ठूलो दल बन्यो ।
तर आफ्नो पार्टीले रास्वपासँग अस्वस्थ प्रतिस्पर्धा नगर्ने थापाले बताए । ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन । तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर होइन ।’
पछिल्ला १०–१२ वर्षमा कांग्रेस सहितका दलका नेताहरू आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थका लागि सत्तामा टिकिरहन भागबन्डा र गठबन्धनको राजनीति गर्दा निरास भएर जनताले सजाय दिएको थापाले उल्लेख गरे ।
नीलो झण्डा फहराउँदै गरेका रास्वपाका नेता कार्यकर्तालाई सभापति थापाले सफलताको शुभेच्छासँगै सजग गराए । उनले भने, ‘नीलो झण्डा मुनिको रातो रगतलाई तपाईंले विर्सन पाउनुहुन्न । हामीले पनि विर्सन पाउँदैनौं ।’
प्रतिक्रिया 4